युएस ओपन टेनिस

एण्डी मुरे दोस्रो चरणमै पराजित, वावरिन्का र डेल पोत्रो अन्तिम १६ मा

बेलायती एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरणमै पराजित भएका छन् । उनलाई ३१ औँ बरियताका स्पेनिस फेर्नान्दो वेर्दास्कोले चार सेटको खेलमा पराजित गरेका हुन् ।

पछिल्लो १४ महिनामा पहिलो ग्राण्ड सलाम टेनिसमा प्रतिस्पर्धा गरेका पूर्व विश्व नम्बर एक मुरे न्युयोर्कमा भएको खेलमा वेर्दास्कोसँग ७–५, २–६, ६–४ र ६–४ को सेटमा पराजित भए ।

मुरेले खेलमा फर्किने प्रयास गरे तर उनको प्रयासले ३४ वर्षका वेर्दास्कोलाई रोक्न सकेन । गएको जनवरीमा हिपको सर्जरी गरेपछि कोर्ट फर्किएका मुरेको यो त्यसयताको पाँचौँ खेल थियो । उनी गएको जुनदेखि टेनिसमा फर्किएका हुन् । पराजित भएपनि कोर्ट फर्किएपछिको मुरेको उत्कृष्ट खेल रहेको विश्लेषण गरिएको छ ।

यस्तै तेस्रो बरियताका आन मार्तिन डेल पोत्रो युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनी डेल पोत्रोले अमेरिकी डेनिस कुड्लालाई ६–३, ६–१ र ७–६ (७–४) को सेटमा हराएका हुन् । सन् २००९ का च्याम्पियन डेल पोत्रो लगातारको चोटपछि आफ्नो लयमा फर्किएका छन् । उनले अन्तिम १६ मा स्पेनका फेर्नान्दो वेर्दास्कोसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै युएस ओपनका अर्का पूर्व विजेता स्टानिसलास वावरिन्काले फ्रान्सका उगो हमबर्टलाई हराएका छन् । वावरिन्काले हमबर्टलाई ७–६(७–५), ४–६, ६–३ र ७–५ को सेटमा हराएर अघिल्लो चरणमा स्थान बनाएका हुन् । यसैगरी नवौँ बरियताका डोमिनिक थिएमले अमेरिकी स्टिभ जोनसनलाई ६–७(५–७), ६–३, ५–७, ६–४ र ६–१ को सेटमा हराएका छन् ।

भदौ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्