कर वृद्धि फिर्ता गर्न माग गर्दै वडा कार्यालयहरुमा काँग्रेसको धर्ना

जनकपुरधाम- कर वृद्धिविरुद्ध आन्दोलनमा नेपाली कांग्रेस जकनपुरले त्‍यहाँको वडा कार्यालयहरुमा धर्ना दिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले अत्याधिक कर बृद्धि गरेको भन्दै आन्दोलित भएका नेपाली काँग्रेसले आज जनकपुरको २५ वटै वडा कार्यालयमा धर्ना दिएको हो।

उपमहानगरले विभिन्न शिर्षकमा ३०० देखि ४०० प्रतिशतसम्म कर बृद्धि गरेको भन्दै काँग्रेसका नेता कार्यकर्ताहरु कर बृद्धि फिर्ता लिन र अन्य मागहरु पुरा गर्न नगर प्रमुख लाल किशोर साहलाई ७ दिने अल्टिमेटम समेत दिएको थियो।

तर,उक्त मागहरु सम्बोधनकालागि नगर प्रमुखले कुनै तत्परता नदेखाएपछि बाध्य भई धर्नामा बस्नु परेको नेपाली काँग्रेसका नगरसभापति मनोज साहले बताएका छन्।

आज १२ बजेसम्म र भोलि ४ बजेसम्म धर्नामा बस्ने कार्यक्रम रहेको जनाउँदै कांग्रेसले विभिन्‍न माग सहित विगत १८ दिनदेखि आन्दोलनमा रहेका समाजिक परिचालकहरुलाई समर्थन गरेको बताएको छ। समाजिक परिचालकहरुको मागलाई सम्बोधन गर्न काँग्रेस नगर कार्यसमितीले माग समेत गरेको छ।

भदौ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्