पोखराका दुई रेष्टुरेण्टमा प्रशासनको शीलबन्दी

पोखरा- पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले शीलबन्दी गरेको छ। अव्‍यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा अनुगमन टोलिले ताला लगाएको हो ।

प्रशासनले सिल गरेका रेष्टुरेण्टमा न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो रेष्टुरेण्ट रहेका छन्।‘बाहिरबाट हेर्दा सुब्यवस्थित र झकिझाउ देखिने रेष्टुरेण्टको किचन अस्तब्यस्त फोहोर र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने देखिए पछि शिल लगाईएको अनुगमन टोलिका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत अनिल शाहीले जानकारी दिए।

उनले भने –‘भाँडा धुने ठाउँ र किचन एकैठाउँमा राखेका कारण अत्याधिक फोहोर छ, खानेकुराहरुमा ध्यान दिएको देखिएन । तरकारीहरु पनि कुहिएका थिए भने किचन निकै फोहोर थियो ।’

त्यसैगरी लेकसाईडको रेन्बो रेष्टुरेण्टमा कुहिएका मासु र तरकारीहरु भेटिएका थिए उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने– ‘लामो समयदेखि सफा नगरेको किचन नजिकै भाँडा धुने ठाउँ । दुर्गन्ध फैलिएको थियो । किचनमा नाक थुन्नु पर्ने अवस्थाले नै त्यहाँको अवस्थालाई उजागर गर्छ, जोकोही किचन भित्र छिर्नै सक्दैन ।’

मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भन्दै जिन्जर गार्डेनलाई दुई दिनभित्र किचन ब्यवस्थित गर्न निर्देशन दिईएको छ भने रेन्बोलाई कागजपत्र सहित प्रशासनमा बोलाईएको छ ।

कास्कीकी खाद्य निरीक्षक भुमिका प्रधानले रेष्टुरेण्टहरुमा म्याद गुज्रिसकेका सामान समेत भेटिएको बताईन् । ‘एकबर्ष अघि नै म्याद सकिएका सामान पनि रेष्टुरेण्टको स्टोरमा भेटिएका छन् , उनले भनिन् –यो सरासर उपभोक्ताको हित विपरीत छ ।’

अनुगमन टोलिले विहिबार नै न्यूरोडमा रहेको इनर्जी फुडमा पनि अनुगमन गरेको छ । अनुगमनमा क्रममा केही सामानमा म्याद र रकम उल्लेख नभएको र केही चाहीँ म्याद नै गुज्रिसकेको अनुगमन टोलिले भेटाएपछि पसललाई पनि चार दिनभित्र पूरा विवरण सहित प्रशासनमा हाजिर हुन निर्देशन गरिएको छ ।
टोलिमा महानगरको प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति थियो।

भदौ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्