बिदा भए हरिप्रसाद रिमाल

फगत एक नजरमा…

काठमाडाैँ – जमाना फेरियो, समयको फेरले लामो यात्रा तय गरिसक्यो । तर विगतको सम्झना र त्यससँग जोडिएका मसिना स्मृतिहरुको ठाउँ पछिसम्म पनि फराकिलो भइरहन्छ ।

प्रविधि र त्यससँगै मनोरञ्जनका साधन तथा माध्यमहरु फेरिँदै गएका छन् । पहुँच सहज बन्दै गएको छ । यो समय भन्दा केही दशकअघि यस्तो थियो, रेडियोमा बज्ने नाटक सुन्नकालागि भ्याएसम्मकाहरु जम्मा हुन्थे । प्रायःशनिबार दिउँसो साढे १ बजे बज्ने रेडियो नाटकसँगै सुन्नेहरुले अनेक चित्रहरु बनाउँथे, अवस्थाहरु आआफ्नै हुन्थे ।

यो सपनाको संसारमा लैजाने रेडियो नाटकलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्, हरिप्रसाद रिमाल । नाट्यकर्मी तथा संगीतकर्मी रिमालले सक्रिय जीवनबाट पर बसेको केहीवर्ष भएको थियो । अबभने उनको भौतिक शरीर वाभौतिक सामिप्यता रहने छैन ।

रेडियो नेपालका प्रथम गायक तथा कलाकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा शुक्रबार बिहानै निधन भएको छ । रेडियो नेपालका प्रथम गायक सञ्चार र मनोरञ्जका धेरै नयाँ र सुविधा सम्पन्न माध्यम तथा साधनहरु बनेका छन् अहिले र यो क्रम जारी छ ।

तर नेपालीहरुका लागि सञ्चार र मनोरञ्जनको पहिलो स्वाद दिएको भनेको रेडियो नेपालले हो । यहि रेडियो नेपालमा पहिलो पटक गीत गाउने भाग्य जुरेका गायक हुन्, हरिप्रसाद रिमाल । जहानिया राणाशासन अन्त्य भएर देशमा प्रजातन्त्र आएको थियो २००७ सालमा । प्रजातन्त्रको उपज बनेर चैतमा स्थापना भएको थियो रेडियो नेपाल ।

चैतको उराठ लाग्दो महिना भन्छन्, तर नेपालीहरुकालागि भने रहर लाग्दो बनेर आयो त्यो वर्षको चैत । त्यहि रहर लाग्दो चैतमा हरिप्रसाद रिमालले रेडियो नेपालबाट पहिलो पटक गीत गाए । अनि नाम लेखाए कहिले नमेटिने गरेर, रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमाल । उनले वरिष्ठ निबन्धकार शंकर लामिछानेले रचना गरेको, मेरो दिल टुक्रा बनेर एक दिन… बोलको गीत आफ्नै संगीतमा रिमालले गाए । यो गीत नै रेडियो नेपालमा गाइएको र प्रशारण भएको पहिलो गीतबन्यो ।

फगत एक नजरमा…


हरिप्रसाद रिमालले गीत गाएका छन् अरु पनि । तर उनको नाम लिने बित्तीकै प्रायः ले सम्झने र उनलाई नचिन्नेहरु वा उनका बारेमा थाहा नपाएकाहरुले पनि मन पराएको गीत हो, फतग एक नजरमा ।

केशवराज पिडालीको रचनामा रहेको यो गीतमा रिमालआफैले संगीत भरे अनि स्वर पनि । उनले गाएको यो गीतले अहिले पनि धेरैको मन रोमाञ्चित बनाउँछ, कल्पनाको अर्कै संसारमा लगिदिन्छ । फगत एक नजर त्यस्तो गीतबन्यो जसले केशवराज पिडाली र हरिप्रसाद रिमाललाई एक साथ सदाका लागि जीवित बनायो ।

रिमालले बिनाबादल…सहितका गीत गाए । उनका गीतहरु अहिले पनि रुचाइएका छन् र अनन्त कालसम्म पक्कै रुचाइने छ ।

नाटक र चलचित्र


हरिप्रसाद रिमालले संगीतमाभन्दा बढी नाटकमा सक्रिय रहे । उनले तीन दशक भन्दाबढी साँस्कृतिक संस्थानमा रहेर नाटकको क्षेत्रमा काम गरे । बालकृष्ण समको प्रेरणामा नाटकमा लागेका रिमालले समकै नाटक मुकुन्द इन्दिराले उनलाई तत्कालीन राज दरबारमा चिनायो । त्यसपछि उनले नाटकमा धेरै काम गरे ।  रेडियो नाटकमा उनको योगदान कहिल्यै भुल्न नसकिने छ । उनी रेडियो नाटक सुरु गर्ने पहिलो निर्देशक हुन् । उनकै रेडियो नाटकबाट सुशीला केसी, जितेन्द्र अभिलाशी सहितका धेरै कलाकर्मी स्थापितभए ।

रिमालले आफ्नो नाट्य जीवनमा झण्डै ५० वटा नाटकमा अभिनय गरेका छन् । उनले दाजु गोपालप्रसाद रिमालको नाटक मसान तथा महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदन सहित के सक्कली के नक्कली, भोजन भट्ट, सर्पका पाइलाहरु, यता कि उता जस्ता झण्डै पाँच सय नाटक तथा रेडियो नाटक निर्देशन गरे ।

उनी नाटकमा मात्रै सीमित रहेनन् । रिमालले चलचित्रमा पनि अभिनय गरे । नेपालको पहिलो चलचित्र आमाबाट उनलको चलचित्रयात्रा सुरु भएको हो । उनले परिवर्तन, मनको बाँध, सिन्दुर, के घर के डेरा, परिती सहितका चलचित्रमा अभिनय गरेका छन् ।

उनले गरेका नाटकहरु मध्ये मनबहादुर मुखियाले लेखेको क्रसमा टाँगिएको जिन्दगी महत्वपूर्ण मानिन्छ । अत्याधिक सफल भएको यहि नाटकबाट उठेको पैसाले साँस्कृतिक संस्थानका लागि गाडी किनिएको थियो । त्यहि गाडी साँस्कृतिक संस्थानका तत्कालीन महाप्रबन्धक स्वरसम्राट नायराण गोपालले चढेका थिए ।

हरिप्रसाद रिमालले नेपाली संगीत, नाटक, रेडियो नाटक तथाचलचित्रमा स्वादिलो गुनलगाएका छन् । उनले छोडेर गएपनि उनका सिर्जनाहरुमा बाँचिरहने छन् । तर उनका धेरै गीत र नाटकहरुको संग्रह छैन वा हराएका छन्, उनको सच्चा सम्मानकालागि ती सिर्जनाहरु खोजेर संग्रहित गर्नु अत्यावश्यक छ ।

रिमालमा अरु केही


रिमाल विसं १९८२ सालको अशोज ५ गते काठमाडौँको लगनटोलमा जन्मिएका हुन् । उनका बुवा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमाल हुन् ।

उनका चार दाजुभाइ र दुई दिदीबहिनी छन् । रिमालका बुवा घनश्याम राणा प्रधानमन्त्री देशवशमशेरको पालामा दरबारमा हाकिम थिए ।

रिमालले विसं २०११ सालमा रेडियो नेपालकी गायिका किशोरीदेवी अधिकारीसँग विवाह गरेका थिए । तर त्यहिवर्ष किशोरीदेवीको दुर्घटनामा निधन भयो ।

केहीवर्ष विरक्तिएका रिमालले विसं २०१४ मा रेडियो नेपालकी समाचारवाचिका कल्याणी पौडेलसँग विवाह गरे । उनीहरुका दुई छोरा र दुई छोरी छन् । पछिल्लो समय रिमाल नयाँबानेश्वरमा रहेको घरमा बस्दै आएका थिए ।

भदौ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्