उद्यमी दृष्टिविहीन दाजु-बहिनी

मनको आँखाले बनाएको ‘पेपर कप’

काठमाडौंको त्रिपुरेश्‍वरस्थित वल्ड ट्रेड सेन्टरमा लागेको तीज मेलामा ग्राहकलाई कुर्दै दोलखाका मोहन बहादुर बि.क र मेनुका विश्वकर्मा। उद्यमी दृष्टिविहीन दाजुबहिनी आफ्‍नै हातले बनाएको कप बेच्‍दै आएका छन्। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौँ– सय थरीको स्टलको माझमा एउटा स्टल। डिजाइन डिजाइनका गरगहना, कपडा, जुत्ता अनि खानेकुराको बिचमा एउटा टेबल छुट्टै देखियो। मेलाको रौनक छ। मानिस मेला हेर्न हरेक टेबल चिहार्दै के छ, कस्तो छ भन्दै हिड्नेहरु छन्। एउटा टेबलमा आँखा लगाउन छुट्यो भने ठूलै कुरा छुट्छ। कोही हेर्नमा व्यस्त छन् भने कोही देखाउनमा नै।

युनाइटेड वल्ड ट्रेड सेन्टरको चौथो तलामा डिईसिसीकाे अायोजनामा अहिले ११ औँ तीज मेला भईरहेको छ। भिडको बिचमा भएको एउटा स्टलमा दुई दाजु बहिनी शान्त बसिरहेका छन्। उनीहरुको वरपर भने त्यति शान्ति छैन। कालो चश्मा लगाएका यी दुई ग्राकलाई कुरी रहेका छन्। मानिस आउँछन्, केही सामान चलाउछन्, सोध्छन् अनि जान्छन्। कोही समान उठाउछन्, हातले तौलिन्छन् पनि। उनीहरु सोध्नेसँग बोल्छन् बुझाउँछन्।

विज्ञापन

यी दाजुबहिनी हुन् दोलखाका मोहन बहादुर बि.क र मेनुका विश्वकर्मा। १९ वर्षकी मेनुका २६ वर्षका दाई मोहनलाई सघाउन आएकी छिन्। उनीहरु दुवै दृष्ट्रिविहीन हुन्। अहिले १ वर्षदेखि ललितपुरको लुबुमा बस्छन्।

उनी बसेको टेबल अगाडि ३० ओटा जति कागजका कप छन्। उचाल्दा हलुंगो, देख्दा सारै राम्रो। बाहिर पट्टी विभिन्‍न रङ्ग लतपताइएको छ। मोहनले भने, ‘हामी कप बनाउछौँ, बाहिर पेन्टिङ्ग अकैले गरिदिन्छन्।’

मोहन पढाइको सिलसिलामा काठमाडौँ आएको १५ वर्षजति भइसक्यो। उनले भर्खरै स्नातक तेस्रो वर्षको परिक्षा सक्काएका छन्। मोहनलाई एक दुई ओटा कुराको आकृति थाहा छ, ‘चार वर्षको उमेरमा मलाई सञ्चो भएन रे, त्यसपछि मैले आँखा देखिन।’

बहिनीको कथा पनि फरक छैन, ‘यसले चाँहि तीन वर्षको उमेरबाट आँखा देखिन।’ अहिले मोहन विवाहित भइसके। आमा, भाई बहिनी र दृष्ट्रिबिहिन श्रीमतिसँगै बस्दै आएका छन्। ‘नेपाल नेत्रहिन संघ’ ले दिएको कम्प्युटर तालिममा उनीहरुको भेट भएको थियो।

मेलामा आउनुको सन्दर्भ


लेलेमा ब्लाइण्ड क्रियसन प्राइभेट लिमिटेड खोलिएको छ। मोहनले तीन महिना अगाडिमात्र सुरु गरेको व्यवसाय। के गर्नुहुन्छ दाई भन्दा उनले फरर बोले ‘हामी प्रयोगमा आइसकेका कागजलाई प्रयोग गरेर पेपर कप बनाउँछौँ।’

टेबलमा भएका कपलाई हरेर सजिलै अड्कल लगाउन सकिन्थ्यो, त्यसमा कति मेहेनत परेको छ भनेर। बहिनी मेनुकाले भनिन्, ‘कागजलाई काटेर बेरेर एउटै साइजको बनाउनु पर्छ। कागज जुन भएपनि हुन्छ’ तर उनीहरुलाई प्रयोग गर्न सजिलो हुने कागज पनि छन्, ‘चार्ट पेपर भयो भने धेरै सजिलो हुन्छ, लामो पनि पट्याउन सजिलो पनि।’

पेपर कप कागजलाई बेरदै बेर्दै एउटा आकारमा ल्याइन्छ, फेबिकोल लगाइन्छ, ताकि जोडिएको कागज नफुत्कियोस्, बाहिर एक्रोलिक रंग लगाएर कुनै वस्तुको आकृति बनाइएको छ।

सारै बलियो हुन्छ हो ?

अहिले प्लस टु सक्काएर बसेकी मेनुका भन्छिन्, ‘कागजमा भर पर्छ अनि कसरी प्रयोग गरिएको छ त्यो हेर्नु पर्छ। कागजलाई पानीमा राख्यो भने त १ घण्टा पनि मुश्किलले टिक्ला।’

पेपर कपलाई कस्तो बनाउने भन्ने जिम्मा चाँहि मोहनको नै छ, उनी कम्प्युटरको सहयोगमा डिजाइन र पेन्टिको कल्पना गर्छन्।
मोहन पहिला देखि नै हस्तकलाको काममा थिए रे, ‘मलाई बाँसबाट किराती बाजा एलम्बर बनाउँन आउँछ। यस्तै काठको किरिङ् पनि बनाउन सक्छु।’

अनि यो क्षेत्रमा किन लाग्नु भएको त? भन्ने प्रश्नमा उनले भने, हतियार चलाउने काम अलि जोखिम हुन्छ हाम्रो लागि।’

उनले ठूलो सपना देखेका छन्, उनी जस्तै धेरै दृष्ट्रिबिहिनलाई काम दिन चाहन्छन्। ‘तीन महिना भयो सुरु गरेको सामानको लागि बजार खोजिरहेका छौँ’ मोहनले भने, ‘भृकुटिमण्डपमा भएको मेलामा २२ ओटा बेचेका थियौँ, प्रति ओटा ३०० रुपैयाँ पर्छ।’

कागजको काम, त्यो पनि हातको मेहेनत अलि लाग्छ नै, कागज काटेर राखिदिने मान्छे भयो भने दिनमा जम्मा तीनओटा सम्म बनाउन सकिने उनले बताए। ११ औँ तीज मेलामा उनले आफ्नो सामानले पहिचान पाउने आशा गरेका छन्।

बहिनी मेनुकालाई पनि यो पेपर कप, मेकअपको सामान राख्न र फूल सजाउन राम्रो हुन्छ भन्ने कण्ठै छ। उनीहरु ग्राहक कुरेर बसिरहेका छन्।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

भदौ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्