म्याङलुङ सडक हिलाम्मे, यात्रुको विजोग

तेह्रथुम- अबिरल बर्षाका कारण तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ–बसन्तपुर सडक हिलाम्मे भएपछि यात्रुको विजोग भएको छ।

बसन्तपुरदेखि म्याङलुङ्गसम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्षभएपनि मर्मतमा ध्यान नदिँदा बर्षायाममा सडकको अवस्था दयनीय बन्ने गरेको छ। जसका कारण यात्रुवहाक सवारी साधन, यात्रु, तथा जिल्लाबासीक सास्ती भोग्न बाध्य छन्।

कोशी पहाडी राजमार्ग अन्र्तगत धरान, धनकुटा, बसन्तपुर हुदै म्याङलुङसम्म चल्ने अधिकांश सवारी साधन सडक बिग्रिएका कारण बिचमै अलपत्र पर्ने गरेकाछन्।

पाँच वर्षअघि मर्मत गरिएको भएपनि पानी र हिलोका कारण सडक खराब भएको छ।

सडकको अवस्था नाजुक भएकाले सवारी साधनलाई समस्या भएको सानो सवारी साधनका चालकहरुको गुनासो रहेको छ। निर्माण ब्यवसायीले गुणस्तरीय काम नगर्दा सडक बर्षे पिच्छे बिग्रने गरेको स्थानीयको भनाई छ।

सडक हिलाम्मे भएपछि छथर र लालीगुराँस नगरपालिकाबासीलाई जिल्ला अस्पतालसम्म आवत-जावत गर्न समस्या परेको छ।

भदौ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्