रोनाल्डो छैनन् पोर्चुगलको टिममा

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पोर्चुगलका दुई खेलमा आराम लिने भएका छन् । उनकै आग्रहमा क्रोएसियासँगको मैत्रीपूर्ण खेल तथा युइएफए नेशन्स लिगको इटालीसँगको पहिलो खेलमा रोनाल्डोलाई आराम दिइएको छ ।

३३ वर्षका रोनाल्डो यो सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् । उनले पोर्चुगलका पछिल्ला २० मैत्रीपूर्ण खेलमध्ये ८ वटामा मात्रै खेलेका छन् ।

क्रोएसियासँगको खेलमा मैत्रीपूर्ण भए पनि इटालीसँगको खेल नयाँ प्रतिस्पर्धाको महत्वपूर्ण खेल हो। रोनाल्डोले पोर्चुगलका लागि १५४ खेलमा ८५ गोल गरेका छन् ।

गएको जुलाईमा सम्पन्न भएको रुस विश्वकपमा उनले चार गोल गरे । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो ।

रोनाल्डो अहिले इटालीमा सेटल हुने प्रयासमा रहेकाले दुई खेलका लागि टिममा नराखिएको प्रशिक्षक फर्नान्डो सान्तोसले बताए ।

भदौ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्