हातमा छ, आधा सल्किएको चुरोटको ठुटो। सुर्तीहरु खरानी हुन हतारिएका छन्। सायद फेरि सल्किन मन छैन यिनीहरुलाई। चुरोटको फिल्टरलाई ओठमा च्यापुन्जेल के मैले महशुस गर्दो हुँ, कोही सल्किनुको पीडा । केहि जल्नुको पीडा।

धागो झैँ बनेर हावामा हराईरहेको धुँवा देखेपछि लाग्यो, यसैगरि धुँवा भएरै उड्ने त हो कुनै दिन। यो शरिर पनि चुरोटकै ठुटो जस्तो। अनायासै सल्किरहेको चुरोट निभाएँ। जब आफुलाई सल्किरहेको चुरोटको कित्तामा पाएँ, तब उकुसमुकुस भो। आफै‌ सल्किरहेझैं।

पर कुनामा एक जोडी टेवुल कुर्सी साउती मार्दै छन्। कोही मायालु जोडी भर्खरै मात्तिएका ओठहरु सम्हाल्दै त्यँहिबाट उठेको थियो। टेवुलको छातीमै कुर्सी टाँसिएकी छे। उसको ओठ नजिकै पुर्‍याएकी छे आफ्ना कान। लाग्छ, इर्ष्याले जलेका यिनीहरु पिरती साट्न हतारिएका छन्।

अर्को कुनामा अलि ठुलै होहल्ला छ। पोखिएको चियामा लत्पतिको छ टेवुल। कुर्सी टेवुलको विपरित फर्किएकी छे। केहि बेर अघि यहिँबाट एउटा जोडी एक अर्कालाई आँखा तर्दै उठेको थियो। यी सब कुराको साक्षी चुरोटका ठुटाहरुसँगै म पनि छु।

पर्खाइ दुवैको हो। उनको पनि र चियाको पनि। तर उनले भन्दा पहिले कालो चियाले दर्शन दियो।

सात वर्ष अघि यहि ठाउँ हो, जहाँ मैले अन्तिम पटक उनलाई भेटेको। यहि टेवुल हो मैले अन्तिम पटक उनका औंलाहरुको स्पर्श पाएको। र पहिलो पटक उनको कारण आफ्ना परेलीहरु भिजाएको।

आज पनि त्यहि ठाउँमा छु। थाहा छैन मैले कुरीरहेको मान्छेसँग यो अन्तिम भेट हुनेछ अथवा अरु दर्जनौं भेटहरुको फेरि सुरुवात हुनेछ।

केहि थान मान्छेहरु आए। थरिथरीका खाजा मगाए। खाए र बाहिरिए। म उसैगरी अगाडी स्ट्रेमा भएको चुरोटका ठुटा गन्दै बस्दै। घरीघरी स्ट्रेमा भित्रबाट खरानीले गिज्याउँथे। त्यसवेला म आफुले आफैंलाई देख्थें, शरिरभरी भष्म लेपिएको फकिर। र सम्झन्थें सन्यासी। ठान्थेँ कोहि नभएको। केहि नभएको, रित्तो। लाग्थ्यो त्यहि खरानी जस्तै फुस्रो जीन्दगी।

पट्यारिलो पर्खाइ बढ्दै जाँदा मन भुलाउने मेसो मोवाइल पनि बन्यो। डल्लाद्धारा डल्लालाई प्रहार गरी डल्ला फुटाउने खेल चुरोटको सर्कोसँगै चलिरह्यो । मान्छेहरु यो खेललाई क्यान्डीक्रस भन्छन्। डल्लाडुल्लीको गेम खेल्न मिल्ने मोवाइल उसैले पठाएकी थिई। मेरो पछिल्लो बर्थ डेमा। गिफ्ट नाम दिएर। बनाउनेहरुले यसको नाम आइफोन सिक्स राखिदिएका छन्।

मैले पूरापूर सात वर्ष उनी बिनाको जीवन बिताएँ। आज पौने घण्टा कुर्नु पर्दा पीडा, छटपटी र उकुसमुकुस भएको छ। र भएको छ दिलमै दर्द।

केहिवेर क्याफेमा चकमन्नता छायो। काउन्टरमा बसेकी दिदीले टिभीतिर फर्काएर रिमोटको बटन दबाईन्। भोल्युम बढ्यो। उनका आँखा तेजिला बन्दै गए। मैले नसुन्न खोज्दा खोज्दै पनि कानको जालीमै पुगेर ठोकियो कुमकुम भाग्य…। यो थियो हिन्दी सिरियल। विज्ञापन आउँदा बिचबिचमा भोल्युम घट्थ्यो। नत्र कानलाई सास्ती।

ग्राहक नहुँदा वेटरहरु उपुरखुट्टी लाउँथे। तिनका फोहोरी खुट्टामा भन्किरहेका झिंगाले गिज्याइरहेको दृश्य कम रोमाञ्चक थिएन।

उसलाई कुरीरहेको दुई घण्टा बित्यो। उ अझै आइन। भनेकी थिई, केहि ढिलो हुनसक्छ। तर यो भनिन कति समय ढिलो हुन्छ ? म कुरौं, कति समय कुरौ या नकुरौं ? बडो दोधारमा भयो। तर निधो गरें, अझै केहिबेर उसलाई कुर्ने। दुईचार खिल्ली चुरोटको कुरा न हो। समय बिताउन प्रयोग मैले प्रयोग गरेको अस्त्र। जसले मेरो आयु छोट्याईरहेछ। प्रत्येक पटकको सर्कोमा।

क्याफेको दक्षिण तिरको ढोका कसैले पुस गर्‍यो। कुनै आकृती भन्दा पहिले भित्रियो अत्तरको हरहरी बासना। सिधै आईपुग्यो मेरो नाकलाई स्पर्श गर्न। अत्तरलाई पछ्याउँदै छाँया भित्रियो। नारी आकृतीको छाँया। मैले आँखा बिछ्याएँ, ढोकाको बाटोमा। छाँया कस्को थियो ? म यहि जान्न हतारिएको थिएँ।

आकृती स्वरुपमा बद्लियो। स्वरुप सन्ध्यामा।

सिधैं आँखामा आँखा ठोकिए। उसका पाइला रोकिए। मेरो चाँही श्वास रोकिए झैं भयो। लाग्यो धड्कन नै बन्द भए जस्तो। शरिर फतक्कै गलेर आयो। पसिना निस्कियो चिट्चिट्। वाक्य बस्यो। सँगै आँसु खस्यो ।

सन्ध्या उभिइरही। एकोहोरो हेरीरही, बोलिन। सायद उस्लाई पनि मलाई जस्तै भएको हुँदो हो। उ पनि फतक्क गलेकी होली। उसलाई पनि बिसाउन मन होला मनको भारी, मलाई झैं ।

उ पहिल्यै देखि दह्रो मन भएकी मान्छे, जे भएपनि नरुने। अनि म पिन्चे। मनमा छुस्स बादल लाग्यो कि बर्सिहाल्ने। मेरा बैमानी आँखा।
म रुन थालें। टेबुलमा टाउको अढ्याएर। साँक्क सुँक्क विस्तारै घाँक्क घुँक्कमा बदलियो। सन्ध्या बोली प्रभात…  फुच्चु…। हेर बच्चा जस्तो । अब पनि रोईरहनु पर्छ त ?  म आईहालेँ नि। उसले सम्झाई।

फुच्चु शब्दले छोयो। कहाँ छोयो थाहा भएन। तर मन पगाल्यो। हिउँ पग्लिए पानी बन्छ। तर अचम्म, मन पग्लियो। आँसु रोकियो।

सन्ध्या म भन्दा केहि महिना जेठी। तर अलि होची। उस्लाई डल्ली भन्थें म। उ मलाई भन्थी फुच्चु..। मेरो टाउकोमा सन्ध्याको औंला सल्बलाउन थाले। लाग्थ्यो उ मेरा कपाल गन्दै छे।

झट्ट सम्झिएँ। हामी क्याफेमा छौँ, वेटरहरु छन्। काउन्टरमा दिदी छन्। टेवुल, कुर्सी, फ्यान साराले हामीलाई हेरीरहेछन्। के सोंचिरहेका होलान् यी चुरोटका ठुटाले भरिएका स्ट्रे मलाई देखेर।

टाउको उठाएँ। सन्ध्यासँग नजर जुध्यो। उसले हात समाई। औंलाहरु खप्टिए। कसिलो गरी।

डल्ली… मेरो मुखबाट फुत्किएको पहिलो शब्द। यत्तिकैमा उसका ओंठहरु मेरो निधारमा आई टाँसिए।

रोनाधोना बन्द। उ कुर्सिमा बसी। बीचमा टेवुल थियो हामीलाई वारीपारी बनाउने। हुन त सात समुन्द्रले पनि वारीपारी बनाउन नसकेको हामीलाई टेबुलको सिमानाले के रोकोस्। हेराहेर चलिरह्यो।

बोली मेरै फुट्यो। हेरेर अघाईनौ ?

सन्ध्या बोली दाह्री किन पालेको ?

जवाफ न उस्ले पर्काइ न मैले। फेरि दुवै मौन भयौँ। बरु चलिरह्यो हेराईकै सिलसिला।

दुवै एकैपटक बोल्यौँ, कस्तो छ ?

फेरि दुबै सँगसँगै चुप।

सन्ध्या मुस्कुराउँदै बोली हिजो लिन आएनौ त। मैले ११ बजे एयरपोर्टमा आउ भनेको हैन ?

टाउको हल्लाउँदै बोलें, हो।

त्यसो भए किन आएनौ ? सन्ध्याले आँखा तेजिलो बनाउँदै प्रश्न गरी।

मलाई जहाज मन पर्दैन त्यसैले आईनँ।

ह्वाट ? जहाज मन पर्दैन ? सन्ध्याले आश्चर्य व्यक्त गरी।

उम.. सानो छँदा जहाज कराएको आवाज सुन्ने वित्तिकै घरको धुरीमा जान मन लाग्थ्यो। समात्न मन लाग्थ्यो। सम्झना आउँछ चिलगाडी भन्दै उफ्रिएको। अलि बुझ्ने भएपछि मास्टरले के बन्छस् भनेर सोध्दा। जवाफ दिन्थें “पाइलट”। त्यो रहर सात वर्ष अघि मैले तिमीलाई पनि सुनाएकै थिएँ। सन्ध्या सुनिरही। म बोलीरहेँ। तर मेरा रहरहरु दुर्घटनामा परे। जुन दिन तिमी जहाज चढेर अमेरिका गयौ। अर्कैको बनेर। त्यहि दिन देखि मेरो जीन्दगीको चीलगाडी क्य्रास भो। जहाजले मेरो मान्छेलाई सात समुन्द्र पारी पुर्‍यायो। मलाई एक्लो बनायो। जहाज नभएको भए, तिमी यहिं हुन्थ्यौ। मसँगै हुन्थ्यौ। यो जहाजले मेरो मायाको तार छिनाएको छ। त्यहि जहाज देख्नु नपोस् भनेर म.. बोल्दा बोल्दै रोकिएँ ….

मेरा हात समात्दै सन्ध्या बोली कति रुन सकेको पिन्चे।

निरन्तर चलिरह्यो भक्कानिने र सम्हालिने। रुने र आँसु पुछ्ने। यसैगरी एक घण्टा जति बितायौं। मान्छेहरु आउने जाने पनि चलिरह्यो। दुनियाँका अघि कति बगाउनु आँसु। मैले भनें, सन्ध्या, बरु अन्त कतै जाम् न।

उसले सहमतिमा टाउको हल्लाई।

मैले सन्ध्यासँगको एक घण्टा एउटा पनि चुरोट नपिई बिताएँ। तलतल पनि लागेन। उ सधैंभरी म सँगै भइदिए, न कसैको याद आउँथ्यो। न हुन्थ्यो, यादलाई धुँवा बनाएर उडाउँनु पर्ने बाध्यता। उसको साथसँगै बढ्थ्यो जीन्दगीको आयु।

उठ्नु अघि सन्ध्यालाई एउटा सरप्राइज दिन मन लाग्यो। उसलाई ब्याग दिंदै भनें, तिम्रो लागि।
के छ यस्मा ?

उसको प्रश्नको जवाफ दिंदै मैले भनें, मेरो प्राण।

लौ ह्वाट इज दिस् ? सुकेको फूल… !

ब्याग खोलेपछि उ छक्क परी। उ भन्दा ज्यादा छक्क त म परेँ। कति चाँडै बिर्सन सकेकी उस्ले।

सात वर्ष अघि..

यो उसको बिहे पक्का भएपछिको भेट थियो। मैले सोधें, तिमी खुशी छौ नि है ?
उ मुस्कुराइ.. उम.. खुशी छु।

त्यसपछि दुवै बोलेनौँ। एक अर्कालाई हेरेनौँ पनि। एकछिन सन्नाटा छायो। म भित्र खै के मडारियो। पानी पर्नु अघिको बादल झैं। उकुस मुकुस भएँ। बोल्न खाजें आवाज निस्किएन। ओंठ खुलेन। म रोएँ, खुब रोएँ। तिमीले सम्झायौ। खुब सम्झायौ।

याद छ ? छुट्नु अघि त्यो दिन मैले तिमीलाई दिएको फूल। हो, यो त्यहि फूल हो।

तिमी हिंड्यौ, मलाई एक्लै पारेर। हुन त तिमी पनि एक्लै गएकी थियौ। थाहा छैन, बिछोडले तिम्रो मनमा पनि बाढी ल्यायो कि मेरै मनमा मात्रै ? तिमी सुँकसुकाउँदै उठेकोसम्म याद छ। त्यसपछि आफैंलाई त याद गरिनँ तिम्रो कसरी हेक्का रहोस् ? मनको सुनामी सम्हालिन निकै बेर लाग्यो। तिमी टाढिंदा उठेका ज्वारभाटा शान्त भएपछि थाहा पाएँ। तिमीले त्यो फूल यहि क्याफेको डस्टविनमा फालिछौ। सायद बेहोसीमै फाल्यौ होला। छुटिनु पर्दाको बेहोसी क्या। यसै भनेर मन बुझाएथें सन्ध्या..।

त्यो दिन देखि मेरो साहरा यहि सुकेको फूल बनेको छ। यो डस्वीनमा हुत्याइएको फूल। म लत्याईएको मान्छे। अनि तिमी अर्कैको मान्छे।

उस्को छातीमा लपक्क टाँसिएको फोटो। विवाह गरेर अमेरिका गएपछि तिमीले फेसवुकमा पोस्टिएको पहिलो फोटो। सुन्ने आँट छ त्यसबेला यता के भएको थियो ?

सन्ध्याले पुलुक्क हेरी। मैले देखें, उसका आँखामा टिल्पिलाई रहेका आँसु।

त्यसवेला म क्रुसमा जिउँदै टाँगिए जस्तो भएको थिएँ। यस्तो लाग्थ्यो छातीमा कसैले किला ठोक्दैछ। कसैले घन बजारिरहेछ शिरमा। छाती फोडेर फुत्त मुटु बाहिर निस्किए जस्तो। कोहि आएर च्याप्प घाँटी अँठ्याए जस्तो। यी नशाहरुमा रगत होईन, छटपटी दौडिन्थे। पीडा बग्थे। यी आँखा पनि कहाँ यस्ता थिए र ? जरुवा झैं भएका थिए। आँसु पलाईहने जरुवा..।

भदौ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्