बिमस्टेकमा पशुपतिको जात्रा, सिद्राको व्यापार

धम्मम् शरणम् गच्छामी

काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रको प्रयास, बिमस्टेकको चौथो शिखर सम्मेलन शुक्रबार सकियो। केही पाहुना स्वदेश फर्किसके भने केहीको यात्रा अझै कायमै छ।

यसपटकको बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रका बिचमा आपसी सहयोग र सहकार्य बढाउने पक्षमा केही महत्वपूर्ण सहमति भए। तर ती सहमति बाहेक यो सम्मेलनमा एउटा कुरा निकै बलियो देखियो र त्यो हो, धार्मिक आस्था।

म्यानमारका राष्ट्रपति विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको धार्मिक आस्था स्पष्ट देखियो। भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकको पनि आस्थाका कुरा आए।

बुद्धिस्ट बाहुल्य देश म्यानमारका राष्ट्रपति भदौ १२ गते नै नेपाल आए। उनी भोलिपल्ट भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनी गए। उनी लुम्बिनी जानकै लागि सम्मेलन भन्दा केही दिनअघि नेपाल आएका हुन्। उनले लुम्बिनीमा केही घण्टा बिताएर काठमाडौँ फर्किए र राजनीतिक तथा कूटनीतिक भेटमा बल्ल सक्रिय भए।

मोदी र सिरिसेनाको पशुपति मोह


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हरेक पटक नेपाल आउँदा पशुपतिनाथ मन्दिर गएर पूजा नगरेको सायदै होला। बिमस्टेकका लागि आउँदा पनि मोदी विमानस्थलबाट सीधै पशुपतिनाथ दर्शनका लागि जाने कुरा थियो। उनी विशेष कारणले तत्काल पशुपति गएनन्।

तर उनको नाममा पशुपतिमा शुक्रबार बिहान विशेष पूजा तथा अभिषेक भयो मोदीको अनुपस्थितिमा। बेलुका पाँच बजेतिर मोदी पशुपति गए, झण्डै आधा घण्टा पूजामा बिताए र प्रसाद लिएर फर्किए।

शुक्रबार बिहान नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको नाममा पनि विशेष पूजा तथा अभिषेक भएको थियो पशुपतिमा। सिरिसेना बुद्धिस्ट हुन्, तर उनले पशुपति जाने इच्छा व्यक्त गरेपछि त्यसको स्वीकृति दिइएको थियो।

शुक्रबार बेलुका सिरिसेना याक एण्ड यती होटलमा भएको विशेष कार्यक्रममा झण्डै पाँच मिनेट मात्रै बसेर बाहिरिएका थिए। विशेष काम छ भन्दै बाहिरिएका सिरिसेना पशुपतिनाथ मन्दिर गएर बेलुकाको आरती अवलोकन गरेका थिए। उनले पशुपतिनाथमा झण्डै एक घण्टा समय बिताए।

पशुपति आउनका लागि भुटानका प्रतिनिधि वाङचुकलाई पनि स्वीकृति दिइएको थियो। उनी भने गएनन्। बुद्धिस्ट भए पनि सिरिसेनासहितका नेताको पशुपति मोहले धार्मिक आस्थाको बाँधलाई पनि तोडेको देखियो।

लुम्बिनी यात्रा


बिमस्टेकमा रहेका सात मध्ये चार राष्ट्र बुद्धिस्त बाहुल्य छन्, म्यानमार, भुटान, श्रीलंका र थाइल्याण्ड। नेपाल र भारतमा हिन्दुको बाहुल्यता छ भने बंगलादेशमा पनि २० प्रतिशतको हाराहारीमा हिन्दु रहेका छन्।

बुद्धिस्ट बाहुल्य म्यानमारका राष्ट्रपति मिन्ट सुरुमै लुम्बिनी गए। भुटानका प्रतिनिधि वाङचुक पनि जाने कुरा थियो तर उनी विशेष कारणले जान पाएनन्। पशुपति दर्शन गरेका श्रीलंकाका राष्ट्रपति सिरिसेना भने शनिबार लुम्बिनी गएका छन्। उनी त्यहाँको यात्रा सकेर स्वदेश फर्किने छन्।

अहिलेको बिमस्टेक सम्मेलनले सदस्य राष्ट्रका नेताको आस्थाको कुरा राम्रोसँग देखियो। पशुपति र लुम्बिनी भएकाले बुद्धिस्ट तथा हिन्दुका लागि नेपालको यात्रा राजनीतिक र कूटनीतिक मात्र नभएर धार्मिक वा आस्थाको यात्रा पनि हुने गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकमा रहेका राष्ट्रलाई बाँध्ने बलियो माध्यम बुद्ध दर्शन रहेको बताएका थिए।

नेपालमा बुद्धको जन्म भएको र भारतको गयामा बुद्धले बुद्धत्व प्राप्त गरेका थिए। यो बिमस्टेक सम्मेलन आस्था र धार्मिक सम्बन्ध सेतुको माध्यम पनि बन्यो।

भदौ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्