रियल मड्रिडको प्रभावशाली यात्रा कायम, लेगानेसमाथि शानदार जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले प्रभावशाली यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसमाथि ४–१ को जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन करिम बेन्जिमाले दुई तथा ग्यारेथ बेल र सर्जिओ रामोसले एक एक गोल गरे । लेगानेसका लागि कार्रिलोले एक गोल फर्काए ।

१७ औँ मिनेटमा बेलको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । तर २४ औँ मिनेटमा पाएको पेनाल्टीमा कार्रिलोले लेगानेसका लागि गोल फर्काए । दोस्रो हाफमा रियल मड्रिडले तीन गोल थप्यो ।

बेन्जिमाले ४८ र ६१ औँ मिनेटमा गोल गरे । यस्तै ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो । लिगमा रियल मड्रिडको यो लगातार तेस्रो जित हो । तीन खेलबाट ९ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्