मजाक उडाउनेकै मजाक

रुन्चे बच्चा नेइमार

स्टार स्ट्राइकर नेइमारले गएको जुलाईमा रुसमा सम्पन्न विश्वकप फुटबलमा प्रदर्शन राम्रै गरेका हुन्। उनको टिम ब्राजिल अन्तिम ८ बाट अघि बढ्न त सकेन तर नेइमारले राम्रो प्रदर्शन गरे ।

यो विश्वकप नेइमारका लागि उनको प्रदर्शन भन्दा पनि अरु केहीका लागि बढी सम्झिने छ । विश्वकपमा सामान्य ट्याकलमा पनि मैदानमा धेरै लडेको र रोएको भन्दै नेइमारको आलोचना भयो ।

उनले समग्रमा १४ मिनेट भन्दा बढी मैदानमा लडेर वा रोएर बिताएका खबर पनि आए । उनलाई व्यंग्य गर्दै धेरै मेमे बने । फुटबल पण्डितदेखि विश्वभरमा फुटबल फ्यानले उनको व्यवहारको आलोचना गरे ।

उनको पक्षमा उभिनेहरु पनि थिए । तर उनको आलोचना वा खिस्सी गर्नेहरु धेरै भए । नेइमारले त्यसको जवाफमा आफूलाई गाह्रो भएर नै त्यस्तो गरेको र मेमे तथा आलोचनाको वास्ता नरहेको पनि बताए ।

विश्वकप सकिएर क्लब फुटबल सुरु भइसक्यो । विश्वका सबैभन्दा महंगा खेलाडी नेइमारले फ्रेन्च लिग वान फुटबलमा राम्रो गरिरहेका छन् ।

उनको क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीले लगातार जित निकालिरहेको छ र नेइमारले गोल गरिरहेका छन् । र पनि नेइमारलाई विश्वकपदेखि हुन थालेको आलोचना र व्यंग्यले छोडेको छैन ।

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति पिएसजीले निमसँग प्रतिस्पर्धा गरेको थियो । अवे मैदानमा भएको खेलमा पिएसजीले निमलाई ४–२ ले हरायो । घरेलु मैदान भएकाले रंगशालमा निमका समर्थक धेरै थिए ।

निमका केही समर्थकले नेइमारको मजाक बनाउँदै ‘सोरोना’ लेखिएको ब्यानर हल्लाइरहेका थिए । पोचुर्गिजमा लेखिएको सोरोनाको अथए क्राइबेबी अर्थात रुन्चे बच्चा भन्ने हुन्छ ।

नेइमारलाई निमका फ्यानले रुन्चे बच्चाको रुपमा चित्रित गर्दै ब्यानर बनाए, त्यहि भन्दै चिच्याए । तर नेइमारले त्यसको जवाफ गोलबाट दिए । ३६ औँ मिनेटमा नेइमारले सुन्दर गोल गरे ।

गोलपछि उनको सेलिब्रेसन यस्तो भयो कि त्यसको चर्चा निकै छ । नेइमारले आफूलाई रुन्चे बच्चा भन्ने निमका फ्यानहरु तिरै रोएको जस्तै नखरा गर्दै गोलको रेलिब्रेसन गरे ।

नेइमारले दुवै हातले आँसु पुछेको जस्तो गरे, टुक्रुक्क मैदानमा बसे, रोए जस्तो गरे । नेइमारले रिसले भन्दा पनि आफ्नो मजाक बनाउनेको नै मजाक बनाएर गोलको सेलिब्रेसन गरे ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्