विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ

विराटनगर – प्रदेश नम्बर एक प्रहरीले विराटनगर महानगरपालिकामा भएको बम विष्फोटमा भूमिगत रहेका जयकृष्ण गोइतको समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाको हात रहेको स्पस्ट पारेको छ । २१ दिन अघि सो विष्फोटमा मोर्चाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको बताइएको छ । प्रहरीका एक अधिकारीले लामो समयको अनुसन्धानपछि विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको बताएका छन् ।

यसअघि, महानगरपालिकाको कार्यालय हातामा साउन २७ गते दिउँसो २ बजे बम विष्फोट भएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार विहान २ बजे पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको छ । उनीहरुले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

पक्राउ परेका विरुद्ध विष्फोटन सम्बन्धी र ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । पक्राउ परेका तीनै जना गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा क्रान्तिकारीका कार्यकर्ता रहेको जनाइएको छ ।

पक्राउ परेका मध्ये मोरङको जहदा गाउँपालिकाका मनोज सिंहको मात्रै नाम खुलेको छ । अरु दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले ६ जनाको संलग्नतामा घटना गराइएका कारण थप अनुसन्धान गर्नु पर्ने भन्दै पक्राउ परेका तीन जनाको विवरण दिन मानेको छैन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले विष्फोट गराएको दावी गर्दै आएको थियो । घटनामा संलग्न पक्राउ परेपछि भने प्रहरीको दाबी झुटो सावित भएको छ ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीले महानगरपालिकाको सीसीटिभी फुटेजमा घटनाको कुनै पनि कुरा रेकर्ड नभएका कारण विष्फोटमा संलग्नको पहिचान गर्न प्रहरीलाई समय लागेको बताए ।

त्यसैगरि, घटनापछि सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिकस्थलको सुरक्षा अवस्था मजवुत बनाइएको प्रदेश नम्बर एकका प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्