जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीकी-२१ वर्षीय अमरिकला पासवान छोरालाई लिएर अटो रिक्सा चलाउँदै। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार
हिम्‍मतवाली रिक्साचालक भाग-१

‘रिक्साबाट कमाएको पैसाले छोरालाई पढाउँछु र पाइलट बनाउँछु’

जनकपुरधाम -‘एउटी एक्ली महिला देखेर नानाथरी कुरा गर्न आउँछन्। धेरै जना (पुरुष)ले एक्लो पाएपछि मसँग हिड.. म सँग बस भन्छन् तर म भन्छु, जब मेरो श्रीमान्‌ले नै मेरो साथ दिएनन् भने अरु कस्ले दिन सक्छ? त्यसैले म अरुको कुरा एक कानबाट सुन्छु, अर्को कानबाट निकालि दिन्छु। मलाई अब मेरो कामसँग मात्रै मतलब छ। जसोतसो छोरालाई हुर्काउछु, पढाउँछु तर अरुको भर पर्दिन, अरुको पछि लाग्दिन।”

बिहान ४ बजे उठ्छिन्, नित्यकर्म पश्‍चात आफ्नो चार वर्षीय छोरालाई उठाउँछिन् र त्यसपछि छोरालाईसँगै लिएर रिक्सा निकालेर सडकमा कुद्छिन्। यो दैनिक दिनचर्या बनि सकेको छ, जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीकी-२१ वर्षीय अमरिकला पासवानको।

चालकको सिटमा आफुसँगै छोरालाई बसाएर लगातार विहान ६ बजेदखि राति ९ बजेसम्म अमिरकला पासवान ‘उषा’ सडकमा अटोरिक्सा कुदाउँछिन्। लगातार १५ घण्टाको ‘ड्यूटी’ पछि उनी घर फर्किन्छिन्।

उनको घर समान्य घर नभएर एउटा काठको सानो पसल ‘कटघरा’ छ। पहिला जनकपुरको पीडारीचोकमा कोठा भाडा लिएर बस्थिन् तर पैसा तिर्न नसक्दा अहिले जनकपुरकै भ्रमरपुराचोक स्थित हाईवेमा सानो पसलमा उनी र उनको छोरा सुत्छन्।

उषाको कमाई दिनको बढीमा ८ सय हुन्छ, जसमध्ये उनलाई प्रत्येक दिन कमाएको पैसा मध्ये ६ सय रुपैयाँ साहुलाई तिर्नुपर्ने हुन्छ। जकनपुरमा सयौ अटो रिक्साचालकहरु मध्ये एक उनी पनि हुन् तर पुरुष जस्तो आफू अबेर रातिसम्म काम गर्न नसकेकोले बढी कमाई गर्न अप्ठ्यारो हुने गरेको उनको भनाई छ।

‘बच्चाले गर्दा कहिले काँही काममा जान पनि अप्ठ्यारो हुन्छ, कहिले ३ सय ४ सय मात्रै पैसा हुँदा आधी पैसा मात्रै साहुलाई तिर्ने गरेको छु’ उनी बताउँछिन्।
उषा भन्छिन्, ‘पहिला त ऋण लिएर आफै रिक्सा किनेकी थिए तर पछि ऋण तिर्न नसक्दा त्यो रिक्सा बेचेर अब भाडामा रिक्सा लिएर चलाई रहेकी छु।’

को हुन् अमिरकला?


जनकपुरधाम उपमहानगरपालिका १३ पीडारी घर भएकी २१ वर्षीय अमिरकला पासवान ‘उषा’ एक अटो रिक्साचालक छिन्। उषाको विवाह करीब पाँच वर्ष पहिले भारतको कानपुर घर भएका सोनु पासवानसँग भएको थियो। टेन्ट बनाउने काम गर्दै आएका सोनुले विवाहको केही दिनमै उषालाई मारपीट गरेर घरबाट निकालिदिए।

श्रीमान्‌को घरबाट निकालिएपछि काँखमा बच्चा लिएर उषा माइती घर पुगिन् र केही दिन माईतीमै बसिन्। तर आमा वितेपछि अब उनको बस्ने घर काठको कठघरा मात्रै छ।आमा बित्दा संस्कार गर्न समेत पैसा नहुँदाको क्षण उषालाई झल्झली याद आउँछ।

आफैले कमाएको पैसाबाट बनाएको सानो कठघरामा छोरासँग अमिरकला। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार

उनी त्‍यतिबेलाको क्षण सम्झिन्छिन र मनमनै भक्कानिए पनि आफ्नो हिम्मत हारिनन्। उनी मनमनै काम गरेर एक्लै भए पनि जीवन गुजार्ने दृढसंकल्प लिइनन्। त्‍यतिबेला जनकपुरका केही पत्रकार तथा समाजसेवीले पैसा जुटाएर उषालाई सहयोग गरेका थिए।

‘आमाको मृत्यु भयो, बस्ने घर समेत टुट्यो, बस्ने केही उपाय थिएन।त्यसपछि गाउँलेको सहयोगमा रिक्सा चलाउँन सिके।’ उनी त्‍यतिबेलाको दु:खलाई सम्झिदै केही भावुक हुन्छिन्। पछि काम गर्दै जाँदा किस्तामा एक दिन रिक्सा किन्‍न सफल हुन्छिन्।

बच्चा लिएर काम गर्दा अप्ठ्यारो भएर उनले रिक्साको रिन तिर्न सकिनन् र रिक्सा र्फिता गरिन्।उषा भन्छिन्,‘पहिले किस्तामा रिक्सा किने तर बाबु सानो छ, सधैं काम गर्न सक्दिन, त्यसैले रिन तिर्न गाह्रो भयो र मैले रिक्सा फिर्ता गरे।’

उनी भन्छिन्, ‘अप्ठ्यारो परेको बेला श्रीमान् श्रीमति दुबै काम गर्छन तर श्रीमान्‌ले नै कष्ट दिदाँ एक्लै काम गरेर बच्चा पाल्नु परेको छ।श्रीमान्‌ले छाडेर गएको ३ वर्ष भयो र नत मलाई हेर्न आउँछ न त बच्चालाई नै हेर्न आउँछ तर मैले रिक्सा चलाउन थालेको थाहा पाएपछि दुई पटक पैसा लिन आयो, मैले पैसा नदिदाँ मारपीट गरे। जसकारण मलाई १५ दिनसम्म अस्पतालमै बस्नुपर्‍यो।’

श्रीमान्‌सँग अमिरकला पासवान। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

चोटको कारण आफू राम्ररी काम गर्न नसक्दा ऋण तिर्न समेत हम्मे हम्‍मे परेको थियो उषालाई त्‍यतिबेला। तर, अहिले उनी जनकपुरको मिथिला अटो रिक्साबाट भाडामा लिएर रिक्सा चलाउँदै आएकी छिन्। रिक्सा चलाएर उनी आफूसहित बच्चालाई हुर्काइ रहेकी छिन्।रिक्सा लिएर निस्कदाँ उषाको चार वर्षिय छोरा राज आमासँगै ड्राईभिंग सिटमा बसेर सघाइरहेका हुन्छन्।उनलाई आमाको माया ज्‍याँदै लाग्छ। भन्छन्, ‘ पछि पढेर आमालाई खुससँग पाल्छु।मेरो मामुलाई नयाँ गाडि किनिदिन्छु कमाएर।’

यता, उनको श्रीमान् भने कुलतमा नमज्‍जाले फसेको छ, बच्चा राख्‍ने कोही छैन, छोरालाई स्कुल भर्ना गर्ने पैसा छैन, त्यसैले सँगै लिएर हिड्ने गरेको उषाको भनाई छ। विहान ५÷६ बजे विहान ई-रिक्सा लिए निस्केपछि राति ९ बजे घर फर्किन्छन् उनी ।

प्यासेन्जरको सामान बोकेर गन्तव्‍यमा लगिदिँदै अमिरकला । तस्बिर-प्रतिभा झा/देश सञ्‍चार

हाल जनकपुरको बाटो खराब हुँदा धेरै ठाउँमा रिक्सा चलाउन गाह्रो हुन्छ, अप्ठेरो पर्दा उनी प्यासेन्जरसँग मद्दत लिने गर्छिन। अप्ठेरोको बेला प्यासेन्जरको समान समेत ओसार-पोसार गरिदिन्छन् उनी। भन्छिन्, ‘काम गरेर खान के को लाज ? चोरी डकैती पो गर्नु हुन्‍न। तर मानव जीवनमा काम गरेर खाएकी छु।यही नै मेरो मानव धर्म हो।’

महिला रिक्साचाललाई चुनौती धेरै, अवसर थोरै


जनकपुरधाममा करीब ६ जना महिलाले रिक्सा चालकको काम गर्दै आएकी छिन्। उनीहरुको कमाई पुरुषको तुलनामा कम रहेको उषाको भनाई छ।
उनी भन्छिन्, ‘म जस्तै समस्या त धेरैको छैन तर अधिंकाशको श्रीमान्‌ले दिएको समस्याले रिक्सा चालक बनाएको छ।‘रिक्सा चलाउँदा समान्य रुपमा पुरुष र महिला दुवैलाई उतिकै समस्या छ तर कमाई भने पुरुषको तुलनामा महिलालाई कम हुने गरेको छ।’

हामी महिलाले राति ८ बजेपछि रिक्सा चलाउन गाह्रो हुन्छ, बच्चा परिवार हेरविचार गर्नुपर्ने जिम्मा एकातिर हुन्छ भने अर्कोतर्फ राति सडकमा रिक्सा कुदाउँदा हेरेपछि मान्छेले नानाथरी कुरा गर्छन्, जिस्काउँछन् जसले महिलालाई सुनियोजित रुपमै पुरुष प्रधान समाजमा असुरक्षित महसुस गराउँछ।’

रिक्सा मालिकले तोके अनुसार पैसा न तिर्दा रिक्सा खोस्ने डर हुन्छ उनलाई। तर, दुई छाक टार्न र बच्चाको भविष्यको लागि जनकपुरको टन्टलापुर घाम र बर्षातको पानी नभनीकन अनवरत रुपमा सडकमा रिक्सा कुदाउन बाध्‍य छिन्।

 

कक्षा- ७ सम्म पढेकी उषा भन्छिन्, ‘मेरो छोराले घरी घरी आफू ठूलो भएर प्लेन चलाउछु भन्‍ने गरेको छ, म त पाईलट बनाउन सक्दिन तर राम्रो शिक्षा दिलाउने मेरो सपना छ। तर, रिक्साको पैसाले घरबार चलाउनै गाह्रो छ।अब मेरो छोरालाई पाइलट बनाउन सहयोग कस्ले गरिदिने?’ उनी छोराको सपनालाई लिएर चिन्तित देखिन्छिन्।