आजका मूख्‍य खबरहरु: सरकारविरुद्ध चिकित्सक आन्दोलित, पीपीए लिन अब २० लाख

काठमाडौं- सरकारी वा निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। सरकारले हालै सार्वजनिक गरेको विद्युत नियमन आयोग नियमावली, २०७५ मा यस्तो व्यवस्था गरिएको छ। मन्त्रीपरिषदले स्वीकृत गरेको नियमावली भदौ ११ गते (सोमबार) राजपत्रमा समेत प्रकाशित गरिएको छ।

दिगो विद्युत विकासका लागि आवश्यक खरिद दर वा शुल्क निर्धारण तथा यस क्षेत्रका अस्पष्ट व्यवस्थालाई व्यवस्थापन गर्ने उद्देश्यले विद्युत नियमन आयोग ऐन तयार गरिएको छ । ऐन कार्यान्वयन गर्न नियमावली समेत तयार भएको छ।

सरकारविरुद्ध चिकित्सक आन्दोलित


बहु आलोचित मुलुकी अपराध संहिता विरुद्ध दलीय मतभेद पन्छाउँदै मुलुकभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन्। आइतबार केपी ओली सरकारमाथि अपराध संहिता फिर्ता लिन माग गर्दै सरकारीसँगै निजी र सामुदायीक चिकित्सक पनि राजधानीमा नाराबाजीका साथ ओर्लिए।

गृहमन्त्री अचनाक बालुवाटारमा


माओवादी बाल सैनिक लेनिन बिष्टलाई विदेश भ्रमणबाट रोकेको प्रसंगमा २४ घण्टे स्पष्टीकरण लिएको साता दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । बिस्टलाई रोकिएको विषयमा अन्तराष्ट्रिय मानवअधिकार र नेपालभित्रै चर्को आलोचना भैरहेका बेला गृहमन्त्री थापा बालुवाटार पुगेका हुन् ।

चिकित्सकप्रति सरकार आक्रमक


सरकारले दिएको आश्वासनअनरुप मुलुकी अपराध संहिता संशोधन नभएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक विरुद्ध कठोर कदम चालिने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कुनै बन्द र हड्तालमा चिकित्सक उत्रिए उनीहरुलाई ६ महिना जेल सजाय र दुई सय रुपैयाँ जरिवाना या दुवै सजाय हुन सक्ने चेतावनी दिएको हो ।

काँग्रेसका तीन उपसमिति


नेपाली काँग्रेसले विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन गरेको छ। नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले पत्रकार सम्मलेन गरी विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचना, कार्य विभाजन र अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमिति गठन गरेको हो।

सम्पदा निर्माणमा चरम लापर्बाही


भूकम्पले ध्वस्त धरहरा पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएपछि खुला गरिएको छ। धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायी संस्थाले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायी मात्र पास भएको थियो।

स्वदेश फर्किए श्रीलंकन राष्ट्रपति


श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उहाँकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए ।

अधिकारकर्मी प्रहरी चौकीमा


नेपालगञ्जका महिला बलात्कारीलाई कडा कारबाहीको माग राख्दै प्रहरी कार्यालयमा दबाब दिएका छन्। हजुरबुवाले तीन वर्षदेखि १३ वर्षकी नातिनीलाई बलात्कार गर्दै आएको घटना बाहिरिएपछि उनीहरुले इलाका प्रहरी कार्यालय, कोहलपुरमा पुगेर कडा कारबाहीको माग राखेका हुन्।

गृहलाई सर्वोच्चको आदेश


 

सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुको कारणसहित लिखित जवाफ पेश गर्न गृहमन्त्रालयका नामका आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज विष्टलाई विदेश जानबाट रोक्नुका कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।

घनश्याम भुसालको विश्लेषण


वाम बुद्धिजिवीहरुले राजनीतिक नेतृत्व वर्ग ‘दलाल पूँजी’को प्रभावबाट टाढा रहे समाजवादी क्रान्ति सम्भव हुने विश्लेष्ण गरेका छन्। वाम चिन्तक समीर अमिनको सम्झनामा आयोजित कार्यक्रममा वाम बुद्धिजिवी तथा विश्लेष्कहरुले दलाल पूँजीवादसँग राजनीतिक नेतृत्वले हिमचिम बढाउँदा कम्युनिष्ट भने जस्तो समाजवादसम्म पुग्न नसकिने बताएका हुन्।

अमेरिकी रबैयाविरुद्ध पाकिस्तानी प्रधानमन्त्री


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्ने बताएका छन्। उनले पाकिस्तानका ऊर्दू पत्रिकाहरुमा पाकिस्तान र अमेरिकाको सम्बन्धको बारेको लेखमा यस्तो बताएका हुन्। बीबीसीले एक्सप्रेस अखबारलाई उद्दृत गर्दै इमरान खानले अमेरिकामाथि पूरै निगरानी राख्ने बताएका छन्।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्