बम विष्फोटमा संलग्न तीन जना पक्राउ

मोरङ-विराटनगर महानगरपालिकामा साउन २७ गरिएको बम विष्फोटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरंगमा आयोजित कार्यक्रममा बम विष्फोटमा संलग्न भएका मनोजकुमार सिंह, रामरिझन यादव र अभिमन्यु गिरीलाई सार्वजनिक गरिएको हो।

प्रहरी प्रमुख एसपी मनोज केसीले तीनैजना जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा क्रान्तिकारीको संलग्नता रहेको जानकारी दिए। यससंगै प्रहरीले सो विष्फोटमा गोइत समूहको संलग्नता रहेको पुष्टी भएको जनाएको छ।

२१ दिनसम्मको अथक प्रयास र मेहनतका साथ विष्फोटमा संलग्नलाई पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर गाउपालिका २ हरिनगरका २० वर्षीय अभिमनु गिरी, सिरहाकै सुखीपुर गाउपालिका ५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउपालिका २ क हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह रहेका छन्।

महानगरपालिका कार्यालयमा साउन २७ गते दिउसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको हो। एसपी केसीका अनुसार महानगरपालिकामा विष्फोट गराउने योजना गत जेठ महिनामा भारतको दरभंगामा बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गोइत समूहमा आवद्ध सिरहाको धनगढी नगरपालिका ३ का विक्की भनिने वीरेन्द्रकुमार यादवको योजनामा बैठक बसेर विष्फोटको योजना बनाइएको उनले स्पस्ट पारे। यादव योजना बनाउने तहमा देखिए पनि घटनामा उनको संलग्नता भने नपाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीन जनासहित मोरङको जहदा गाउपालिका २ का २५ वर्षीय राहुल यादव मिलेर चार जनाले घटना गराएको एसपी केसीले बताए। उनका अनुसार पक्राउ परेका मनोजकुमारले चलाएको मोटरसाइकलको पछाडि बसेर अभिमन्युले महानगरपालिका कार्यालय भित्र बम राखेको पुष्टि भएको छ।

त्यसपछि पक्राउ परेका रामरिझनले रिमोटमार्फत नगरपालिका गेट नजिकै बसेर विष्फोट गराएका थिए । महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै प्यासेजमा रहेको सोफा मुनी राखेर बम विष्फोट गराइएको थियो।

विष्फोटबाट पराजुलीले चढ्दै आएको गाडीको सिसा फुटेको थियो । घटनाको योजना बनाउने विरेन्द्रकुमार यादव र घटनामा संलग्न राहुल यादव फरार रहेका कारण उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तीन जना विरुद्ध भने विष्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्धा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताए।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्