बार्सिलोना प्रभाव

१ खेल १० गोल, ८ खेलाडी गोलकर्ता

एक खेल तर गोल १० । दुई गोल खायो, ८ गोल ग¥यो । दुई खेलाडीको दुई दुई गोल । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा गोलको वर्षा भयो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा हुयस्काले ८ गोल खायो र दुई गोल फर्कायो ।

स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको स्पेनिस च्याम्पियन बार्सिलोनाले यहि सिजन बढुवा भएर आएको हुयस्कालाई नराम्रोसँग हरायो ।

बार्सिलोनाका लागि कप्तान मेस्सी आफैले दुई गोल गरे । यस्तै लुइस स्वारेजले पनि दुई गोल गरे ।

उसमान डेम्बेले, इभान रेकिटिक र जोर्डी अल्बाले एक एक गोल गरे । एक गोल भने उपहार पायो, अर्थात हुयस्काका पुलिडोले आत्मघाती गोल गरे । हुयस्काका लागि हर्नान्डेज र गालार फाल्गुएराले एक एक गोल गरे ।

खेलमा सुरुवाति अग्रता भ्रमण टोली हुयस्काले लियो । तेस्रो मिनेटमा नै कुचो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाए । मेस्सीले १६ औँ मिनेटमा बराबरी गोल गरे ।

२४ औँ मिनेटमा पुलिडोले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । ३९ औँ मिनेटमा स्वारेजले गोल गरे । त्यसको तीन मिनेटपछि हुयस्काका लागि फाल्गुएराले गोल गरे र पहिलो हाफमा बार्सिलोनाको अर्गता ३–२ बन्यो ।

दोस्रो हाफमा बार्सिलोनाको खातामा पाँच गलो आयो । ४८ आैँ मिनेटमा डेम्बेले, ५२ औँ मिनेटमा रेकिटिक तथा ६१ औँ मिनेटमा मेस्सीको व्यक्तिगत दोस्रो गोलले टिमको अग्रता ६–२ को अवस्थामा पुग्यो । अल्बाले ८१ औँ मिनेटमा गोल गरे ।

इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टी पायो । मेस्सीले प्रहार गरेको भए ह्याट्रिक हुने सम्भावना थियो, तर स्वारेजले प्रहार गरे र टिमको ८–२ को जित निश्चित गरे ।

लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । अरु खेलमा एलाभेसले स्पानियोललाई २–१ तथा रियल बेटिसले सेभिल्लालाई १–० ले हरायो । लेभान्टे र भ्यालेन्सियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्