निर्मला पन्त बलात्कारपछि हत्या पक्ररण

कञ्चनपुरमा सीआईबीको टोली आएको हामीलाई थाहा छैन : एसपी

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सीआईबीको टोली महेन्द्रनगर पुगेको कुरा थाहा नभएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासोमा सीआईबीको नयाँ टोली निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि आइतबार महेन्द्रनगर पुगेको समाचार प्रहरीको उच्च श्रोत उल्लेख गर्दै सोमबारका पत्रपत्रिकाहरुले प्रकाशन गरेका छन् ।

तर यस विषयमा आफूलाई केही थाहा नभएको र कतैबाट जानकारी पनि नपाएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

आइतबार प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच भेट भएको थियो । यो भेटलगत्तै सीआईबीको नयाँ टोली निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि महेन्द्रनगर गएको समाचार बाहिर आएको हो । एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोली आइतबार नै महेन्द्रगर पुगेर काम थालेको बताइएको छ ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो ।

नक्कली अपराधी खडा गरेको गम्भीर आरोप लागेपछि सरकारले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरेको छ भने तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, डीएसपी ज्ञानबहादुर सेटी र अनुसन्धान अधिकृत एकिन्द्र खडकालाई पनि केन्द्रमा तानेको छ ।

घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकाय प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको ५ सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पठाएको छ ।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्