सरकार र चिकित्सकबीच वार्ता

अपराध संहिताको इलाज सम्बन्धी दफा स्पष्ट व्याख्या गर्ने सहमति

लाइसेन्स बुझाउनका लागि हस्ताक्षर गर्दै चिकित्सक ।

काठमाडौँ— सरकार र आन्दोलनरत चिकित्सकबीच मुलुकी अपराध संहिताको इलाज सम्बन्धी दफामा स्पष्ट व्याख्या गर्ने सहमति भएको छ।

सोमबार आन्दोलनरत चिकित्सकसँग भएको वार्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल संहितामा स्पष्ट व्याख्या गर्ने सर्तसहित संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गर्ने प्रतिवद्धता जनाएको छ।

यद्धपि चिकित्सकहरुले संशोधका लागि संहिता संसदमा दर्ता नभएसम्म आन्दोलन फिर्ता नलिने बताएका छन्।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले आफूहरुसँग भएको सहमति कार्यान्वय नभएसम्म संघद्धारा पूर्व घोषित विरोधका कार्यक्रम फिर्ता नहुने बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले भने यो सहमतिपछि आन्दोलनरत चिकित्सकले विरोधका कार्यक्रम फिर्ता लिनेमा आफू आशावादी रहेको बताए।

‘हामीबीच संहिता संशोधन नभई कानुनमा भएका केही दफामा स्पष्ट व्याख्या गर्ने सहमति भएको हो। त्यस अनुसार काम गर्न सम्बन्धित मन्त्रालयलाई हामीले सिफारिस गर्ने छौं। यो सहमति सँगै चिकित्सकले आन्दोलन फिर्ता गर्नु हुन्छ भन्ने विश्वास छ’, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादवले भने।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्