धनुषामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते

सांकेतिक तस्बिर

जनकपुरधाम – धनुषामा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् । सोमबारराति लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय सञ्जय शर्मा अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका हुन् ।

दाहिने तर्फ पेटमा गोली लागेका शर्मालाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन ल्याएपनि यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।

राति साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाइकलमा जनकपुरबाट आफ्नो घर फर्किरहेको बेला जनकपुर ढल्केवर सडक खण्डको लक्ष्मीनिय बजार नजिक अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेका प्रहरीले जनाएको छ । यता, घटना विषयमा अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्