ब्राजिलको संग्रहालयमा आगलागी

सरकारी बेवास्ताका कारण २०० पुरानो संग्राहलयमा आगलागी

ब्राजिलको राष्ट्रिय संग्रहालयमा भीषण आगलागी हुनुमा बजेटको अभाव कारक रहेको सरकारी अधिकारीहरुले आरोप लगाएका छन् । रियो दि जेनेरियोमा रहेको २०० वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी हुँदा ऐतिहासिक महत्वका लाखौँ सामग्री नष्ट भएका छन् ।

स्थानीय समय अनुसार आइतबार सबै सेवा सकिएपछि भएको आगलागीका कारण अमेरिकाको मानवशास्त्रीय तथा प्राकृतिक इतिहाससँग जोडिएका दुई करोड भन्दा बढी सामग्री रहेको संग्रहालयमा आगलागी भएको हो ।

आगलागीका कारण संग्रहालयमा रहेका प्रायः सामग्री नष्ट भएका छन् । रियो दि जेनेरियोमा रहेको ब्राजिलको सबैभन्दा पुरानो वैज्ञानिक संस्थामा आगलागी भएको हो ।

संग्रहालयमा ब्राजिलसहित अरु देशका इतिहाससँग जोडिएका लाखौँ सामग्रीसहित इजिप्टको कलाका तथ्यहरु पनि संग्रहित थिए । यो संग्राहलयको प्राकृतिक इतिहासको संग्रहमा डाइनोसरका महत्वपूर्ण हड्डीहरु, १२ हजार वर्ष पुरानो महिलाको स्केलेटन (जुन अमेरिकामा पाइएको अहिलेसम्मकै पुरानो हो) सहितका महत्वपूर्ण ऐतिहासिक सामग्री थिए ।

संग्राहलयका कर्मचारीले यसअघि जीर्ण बनेको संग्राहलयको भवन जीर्णोद्धारका लागि सरकारले पर्याप्त रकम नछुट्याएको भन्दै चासो जनाएका थिए । विशेषज्ञले विगत केही वर्षदेखि संग्रहालयमा गम्भीर खालको आगलागी हुन सक्ने खतरा रहेको बताउँदै आएका थिए । संग्रहालयका उप निर्देशकले आफूहरुले कहिल्यै पनि आवश्यक परेजति सहायता सरकारको तर्फबाट नपाएको बताएको छ ।

राष्ट्रपतिकी उम्मेदवार मारिना सिल्भाले संग्रहालयमा कम लगानी गरिएकोमा आलोचना गरेकी छन् । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । तर संस्कृति मन्त्री सर्गिओ ला लेइताओले ब्राजिलका सञ्चारमाध्यमलाई बताए अनुसार संग्रहालयको छानोमा सानो हट एयर बेलुन ल्याण्ड भएको र त्यसैबाट आगलागी भएको हो ।

संग्राहलय कुनै बेला पोर्चुगलको राजपरिवारको भवन थियो । यो वर्षको सुरुमा संग्राहलयले आफ्नो २०० औँ वर्षगाँठ मनाएको थियो । यो संग्राहलय सन् १८१८ मा स्थापना गरिएको हो । ब्राजिलियन टेलिभिजन ग्लोबोसँगको अन्तर्वार्तामा संग्राहलयका निर्देशकले यो घटना ‘सांस्कृतिक त्रासदी’ रहेको बताएका छन् ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्