करिश्मा मानन्धर भर्सन–टू

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

करिश्मा सधैँजसो घर फर्कने समय ५ः४५ हो। उनी घर फर्किइन् र कार पार्क गरिन्। उनको सहयोगी बसन्ती उनलाई सघाउन आइपुगिन्। ब्याग बोकेर तेस्रो तलामा पुगिन्। आज उनीसँग उनका साथी गोबिन्द राई पनि सँगै आएका थिए।

उनको घरको छेवैमा गोदावरी जाने बाटो पर्छ। गाडिहरु गुडिरहेका हुन्छन् तर घरको छतसम्म आवाज सानो भएर आइपुग्छ।

लस्करै मिलाइएका गमलाहरुले आफूमाथि रोपिएका बिरुवाले आफूलाई ढाक्न दिएका छन्। छतबाट बिसङ्खु नारायण, फूलचोकी, गोदावरीको डाँडा र हरियाली छर्लङ्ग देखिन्छ।

बेलुका ६ बजे


सहयोगीले चिया लिएर आइन्। घरको सबैभन्दा माथिल्लो भागमा सिसाको घर पनि छ। त्यहा बस्ने केही चियर, दराजमा किताबहरु र आराम गर्नलाई झुला झुलाइएको छ। कपडा फेरेर उनी आराम गर्न लागिन् झुलामा हल्लिदैँ। ‘मलाई यहाँ आएपछि अलि फरक भए जस्तो लाग्छ, मानिसको रुप पनि ठाउँ अनुसार बदलिने है।’

यताउता हिँडिरहने मान्छेलाई ८ घण्टा एकैठाउँमा बस्नु गारो नै हुन्छ। कौशीबाट उनी फार्म हाउसलाई हेर्न पनि भ्याउँछिन्। ‘म बेलुकाको समय पनि धेरैजसो एक्सरसाइज गरिरहेको हुन्छु।’ उनले बताएअनुसार आधा घण्टा एक्सरसाइज हुन्छ।

उनलाई विद्यालय जान सहयोग गर्ने गोबिन्द राईले पनि त्यहि विद्यालयबाट एसइई पास गरेका हुन्। गोविन्द करिश्माको घरमा आइरहन्छन्। उनलाई भित्रबाट नै माया गर्ने, चिन्ने साथी। गोविन्द भन्छन्, ‘करिश्माकै कारणले २३ वर्षपछि ११ मा पढ्न गएँ म।’


स्कूलबाट घर फर्केपछि उनले चिया पिउँछिन् र बेलुकाको खानामात्र खान्छिन्। त्यसपछि एक्सरसाइजको कार्यक्रम हुन्छ अनि होमवर्क गर्ने समय सुरु।

नियमित काम नै हो, साँझ ७ बजे कोचिङ्ग पढाउने टिचर आइपुग्छन्, ९ बजेसम्म पढाउँछन्। र उनी त्यसपछि खाना खाएर सुत्छिन्।

****

घरको तेस्रो तलामा अहिले करिश्माको संसार छ। उनी रमाउने श्रृंगारका सामग्री, कपडा राखिएका दराज, सुत्नलाई पलङ्ग, बस्न सोफा, केही

अवार्डहरु अनि अहिलेका लागि उनको सबैभन्दा महत्पूर्ण पुस्तकहरु, कापीहरु अनि सिसाकलम, इरेजर र डटपेन।

‘म अरुलाई डिस्टर्ब हुन्छ भनेर यो कोठामा मात्र बस्छु, मेरा सबै सामान यहि नै छन्।’

उनी सर्‍याक सर्‍याक कापी र किताबको पाना पल्टाउछिन्। ठूलो आवाज निकालेर पढ्छिन्।

****

४ वर्ष अगाडिको उनको यो प्रयासलाई धेरैले मजाक बनाए । कमैले मात्र सकारात्मक टिप्पणी गरेँ। उनलाई ‘प्रोपोगान्डा गरेको, पब्लिसिटि’ गर्न खोजेको भन्नेको कमी नै भएन। उनले भनिन्, ‘बुढेशकालमा पढाई के गर्न मन लाग्या हो’ भनेर खिल्ली उडाएको सामान्य जस्तो लाग्छ। तर त्यस्ता कुराले उनलाई रतिभर पनि छोएको छैन, उनले एउटै ‘जिद्’ गरेकी छन्, ‘जसरी पनि एसइई पास गर्छु।’

पाको उमेरमा स्कूल गएर दैनिक ८ घण्टा कक्षामा नै बसेर पढ्नु जति सामान्य देखिन्छ त्यति भने छैन। हुन त यसलाई कोसँग तुलना गर्ने भन्ने पनि एउटा कुरा हो, त्यस्तै हामीले समय र उमेरलाई पनि बिर्सन सक्दैनौँ।

स्कूल जाने उनको कसरत साथी गोविन्द राईसँगको ठक्कर मात्र होइन, त्यो भन्दा अगाडि पनि धेरै प्रयत्न भए। उनले सातदोबाटोको प्रेरणा महिला विद्यालयमा बहिनीलाई बुझ्न पठाएकी पनि थिइन्। उनलाई चिनजानका मानिसले एकैपल्ट एसइई दिए भइहाल्यो नि भनेका थिए तर उनीलाई आफूले छोडेर हिँडेको बाटोबाट नै यात्रा फेरी सुरु गर्न मन लाग्यो।

हिजोआज समय अलि बदलिएको छ, पहिला नपत्याउहरु करिश्माले ४ वर्षदेखि पढाई नियमित गरेको भन्ने थाहा पाएपछि ‘म पनि सँगै जानुपर्ने रहेछ’ भन्छन्। जे होस् उनको प्रयासको लागि ‘सलाम’ अनि यो वर्ष एसइई परीक्षाका लागि उनलाई ‘अल द बेस्ट।’

 

तस्बिरहरु : झरना राई/देश सञ्‍चार

भदौ १९, २०७५ मा प्रकाशित