आजका मुख्‍य खबरहरु: चीनको भ्रमण गर्दै प्रचण्ड, पूर्वमुख्‍य सचिवको मानपदवी खोसियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्किएको तीन दिनमै चीन भ्रमणमा निस्कने भएका छन्। खुमलटारस्थित आफ्नो निवासमा पत्रकारसँग उनले आफ्नो दुई छिमेकी मुलुकको भ्रमणका क्रममा समग्र नेपालको राष्ट्रिय हित, विकास र शान्तिका मामिलामा छलफल हुने बताए। आईसीडब्लूएको निमन्त्रणमा बिहीबार चार दिने भारत भ्रमणमा निस्कने उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री शुष्मा स्वराज लगायत राजनीति दलका नेता तथा बुद्धिजिवीहरु भेट्न छन्।

बिमस्टेक रिट्रिटबारे प्रधानमन्त्रीको जवाफ


सरकारले बिमस्टेकका विशिष्ट पाउनलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने निर्णय गरेपनि सोल्टीमै दिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे स्पष्ट पार्ने कोशिश गरेका छन्। वर्षाका कारण गोकर्ण रिसोर्टको चौर हिलो भएकाले सहजताका लागि सोल्टी होटलमै रिट्रिट दिनु परेको जवाफ उनले संसदमार्फत दिए । यस्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीहरुको टोली नेपाल आउनुलाई सामान्य ठान्न आग्रह गरे ।

कालिमाटीको ज्यादती रोक्ने प्रयास


राजधानीको सबैभन्दा ठूलो तरकारी व्यवसायको थलोमा ज्याजती बढेपछि त्यसमा सरकारले हस्तक्षपको थालनी गरेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोधेको स्पष्टिकरण नबुझाउने रातो सूचीमा परेका ६ जना व्यवसायीलाई हटाइयो । रातो सूचिमा परेका बाँकी ९२ जना व्यवशायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्सीय कार्यदल बनेको छ।

विभूषण र मानपदवीबाट सयौं सम्मानित, पूर्वमुख्‍य सचिवको पदक खोसियो


राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएकाे भन्दै ३ सय ४३ जनालाई विभूषण तथा मानपदवी प्रदान गरेकी छन्। गत वर्ष गणतन्त्र दिवसको अवसरमा घोषित व्यक्तिहरुलाई राष्ट्रपति निवासमा विशेष कार्यक्रमको आयोजना गरी उनले सम्मान गरिन् । ‘नेपालरत्न’ विभूषण पूर्व प्रधानमन्त्री बिपी कोइराला र ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण ( रणोपरान्त)ले प्राप्त गरे। सरकारले पूर्वमुख्‍य सचिव डा.सोमलाल सुवेदीको पदक खोसेको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को पछिल्लो बैठकले पूर्वमुख्‍य सचिव डा.सुवेदीको पदक गृहसचिव प्रेमकुमार राईको सिफारिसमा खोसेको स्रोतले जानकारी दिएको छ।

निगमले विद्युतीय प्रणालीमा पेट्रोल पम्प चलाउने


नेपाल आयल निगमले सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्‍चालन गर्ने योजना अघि सारेको छ। पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्‍चालन गर्ने सोच अघि सारिएको निगमका कार्यकारी प्रबन्ध निर्देशक शुशिल भट्टराईले जानकारी दिए।

बाहिरी चक्रपथ निर्माणमा विकास समितिको चासो


प्रतिनिधिसभाको विकास एवं प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण कार्य रोकिनुको कारण १५ दिनभित्र दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले मंगलबार सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र सचिव दीपेन्द्रनाथ शर्मालाई बोलाएर बाहिर चक्रपथ निर्माणमा भइरहेको ढिलाइबारे जानकारी गराउन निर्देशन दिएको हो।

नेपाली बजारमा डलरको भाउ बढ्‍यो


अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो स्थितिमा पुग्दा यसको असर पनि नेपाली बजारमा देखिन थालेको छ। नेपाली रुपैयाँ भारतसँग स्थिर भएकाले यसको असर भारतमा पर्नासाथ नेपालमा पनि देखिने अर्थविदहरुले बताए। भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको हो। १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ।

सरकारसँग चिकित्सक सकारात्मक


मुलुकि अपराध संहितका कतिपय व्यवस्था विरुद्ध उत्रिएका चिकित्सक सरकारप्रति सकारात्मक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्व सहमति अनुसार मुलकी अपराध संहिता संशोधन गर्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएसँगै चिकित्सकले स्वास्थ्य संस्थामा मंगलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने पूर्व घोषित कार्यक्रम सोमबारसम्मका लागि सारे।

रिक्सामै बच्चा जन्माउने आमा


सुत्केरी व्यथा लागेपछि अटोरिक्सामा अस्पताल लग्दै गरेकी कैलालीको धनगढी उपमहानगरपालिका, १२ ए गाउँ जुगेडाकी २५ वर्षीय पार्वती थापाले मगलवार दिउँसो १ बजे अटो रिक्सामै बच्चा जन्माएकी छन्। त्यसपछि मात्रै उनलाई अस्पतालको प्रशुति कक्षभित्र लगियो । उनका श्रीमान कामका शिलशिलामा विदेशमा छन्।

अन्तिम सेकेन्डमा नेपाल स्तब्ध


दक्षिण एसियाली फुटबल महासंघ (साफ च्याम्पियनसिप) अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २—१ गोलले पराजित भएको छ। दोस्रो हाफको इन्जुरी समय सकिन केही सेकेन्डमात्र बाँकी रहँदा पाकिस्तानका खेलाडीले गोल गरेका थिए। बंगलादेशमा सुरु प्रतियोगिता अन्तर्गतको खेलमा नेपालका लागि विमल घर्ती मगरले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्