तेक्वान्दो प्रशिक्षक दीपक बिष्टसँग अन्तर्वार्ता

‘मेडल भिख मागेर ल्याउने होइन, जितेर ल्याउनुपर्छ’

‘मेडल भिख मागेर ल्याउने होइन, जितेर ल्याउनुपर्छ’

दीपक बिष्ट।

दीपक बिष्ट नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी हुन्। दक्षिण एसियाली खेलकुद-सागमा चार वटा स्वर्ण जित्ने एकमात्र नेपाली खेलाडी हुन् उनी। दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने संगिना वैद्यबाहेक एकमात्र खेलाडी हुन्। उनी केही समयअघिसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष थिए।

नेपाली खेलकुदमा राज्यबाट सबैभन्दा बढी पुरस्कार पाउने खेलाडीमा पनि उनी पर्छन्। उनै दीपक हालै नेपालले एसियाडमा सहभागिता जनाउँदा तेक्वान्दोको प्रशिक्षक थिए। एसियाडमा नेपालका लागि सर्वाधिक सफल तेक्वान्दो पछिल्ला तीन संस्करणमा भने पदकशून्य भएको छ। यसै सन्दर्भमा एसियाड सहभागिताको सेरोफेरो र नेपाली खेलकुदको पछिल्लो स्थितिबारे बिष्टसँग देशसञ्‍चारले कुराकानी गरेको छ।

विज्ञापन

१.नेपाली खेलकुदका दुई हस्ती तपाईँ र संगिना वैद्यको प्रशिक्षणमा थियो तेक्वान्दो। तर नेपालको सफलता शून्य रह्यो। एसियाडमा १४ पदक जितेको तेक्वान्दो किन धरासायी देखियो?

– एसियाडमा पहिलो पदक तेक्वान्दोले नै ल्याओस् भन्ने हाम्रो सोच थियो। त्यही अनुसार हामीले उपलब्ध स्रोत र साधनअनुसार अधिकतम तयारी गरेका थियौं। इन्डोनेसियामा उत्रिएपछिका हरेक रात निकै तनावपूर्ण रहे। म मेरो २० वर्षको अनुभवको आधारमा हरेक दिन खेलाडीलाई मोटिभेट गर्थेँ। खेलाडीको हौसला बढाउँथे। हामी केही खेलमा पदक नजिक पुगेर हार्‍यौं। खासमा पछिल्लोपटकभन्दा यसपटक हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरे। तर हामीभन्दा अरु खेलाडी निकै उत्कृष्ट देखिए। अरु देशको तयारी आउने,खेल्ने,जित्ने र जानेजस्तो देखियो। तर हाम्रा खेलाडी दोस्रो चरणमै  धर्मर देखिए। आफूभन्दा अग्लो खेलाडी देख्ने बित्तिकै डराएको देखियो। तेक्वान्दो इलेक्ट्रोनिक सिस्टममा खेलाउन थालेको वर्षौ बित्दासमेत हामीले त्यसलाई आत्मसाथ गर्न सकेनौं। पुरानो सिस्टममा खेलेर नयाँ सिस्टमलाई हराउन सक्दैनौं।

राखिएको मेडल टिपेर लिएर आउने हैन,खुसामत गरेर भिख मागेर ल्याउने पनि हैन। पदक जितेर ल्याउने हो। त्यसका लागि प्रतिद्वन्द्वीभन्दा राम्रो खेल्नैपर्छ। हामी नेपालबाट हिँड्दै खेरी हाम्रा खेलाडीले खेल्न पाउलान कि नपाउलान् भन्ने अन्यौल थियो। पत्रकार सम्मेलन गरेर हामी हौं है आधिकारिक भन्नुपर्ने अवस्था थियो। संघमा विवाद ल्याएर किन खेलाडीलाई हरेकपटक द्विविधामा पारिन्छ?   कोरियामा तीन महिना बसेपनि हामीले राम्रो ठाउँमा तयारी गर्न पाएनौं। म पूर्व पदक विजेता भएपनि एक्लैले चाहेर मात्र केही नहुने रहेछ।

२.देशकै एेतिहासिक खेलाडी कहलिएको एउटा पदक विजेता खेलाडी देशले पदक नजित्दा कस्तो अनुभव गर्छ ?

खेलाडी अन्तर्राष्ट्रिय एरिनामा देशको झन्डा र राष्ट्रिय धुन बजाउन जाने हो। देशको झन्डा,  राष्ट्रिय गान बज्दा कस्तो अनुभूति हुन्छ, त्यो एउटा विजेता खेलाडीलाई मात्र थाहा हुन्छ। खासमा मेरो आफ्नै खेलमा पदक नजिक पुगेर चुक्दाको पिडा र टर्चर मलाई मात्र थाहा छ। मैले औषधी नै खानु परेको थियो। तेक्वान्दोले मेडल नल्याएपछि अब कराँतेले ल्याए हुन्थ्यो, बक्सिङले ल्याए हुन्थ्यो भन्ने लाग्थ्यो। अरु खेलले भएपनि जितिदिए हुन्थ्यो भन्ने लाग्थ्यो।  खेलाडी संघका अध्यक्ष समेत रहेका कराँतेका प्रशिक्षक दिपक श्रेष्ठसँग मेरो दिनहुँ कुरा हुन्थ्यो, मेडलकै विषयमा। किनभने यसअघि मार्सल आर्टबाहेक अन्य खेलले नेपाललाई एसियाडमा पदक जिताउन सकेका थिएनन्। मलाई थाहा थियो, सम्पूर्ण नेपाली खेलप्रेमीको ध्यान एसियाडमा छ र पदकमा छ। मसँग अनुभव थियो- पदक जित्दा उहाँहरु कति खुसी हुनुहुन्छ। पदक नआउँदाको पिडा र पदक आउँदाको आनन्द खेलाडीलाई राम्रोसँग थाहा हुन्छ।

३. पहिलोपटक सहभागी भएको प्याराग्लाइडिङले इज्जत बचायो भन्दा फरक पर्छ?  

धन्यवाद भन्नुपर्छ प्याराग्लाइडिङका खेलाडीलाई। कम्तीमा एउटा मेडल त आयो। यतिधेरै खेलमा सहभागी भए पनि प्याराग्लाइडिङले मेडल ल्यायो।  त्यस्तो खेल जसमा न कोच थिए न खेलाडीकै लागि भनेर राज्यले लगानी गरेको थियो। प्याराग्लाइडिङले कुन वातावरणमा मेडल ल्यायो त? यो बुझ्नुपर्छ राम्रोसँग। नेपाली खेलाडीले मेडल ल्याउन त सक्ने रहेछन् नि।  राम्रो तयारी र लगानी भएको भए गोल्ड मेडल नै आउँथ्यो कि! तर अब प्याराग्लाइडिङलाई के गर्ने ? पोखरामा जीविकोपार्जनका लागि प्याराग्लाइडिङ गरिरहेका त्यही १०/१२ जनामा भरपर्ने कि लगानी गर्नै? मेडल आयो भन्दैमा खुसी हुने अनि सुतेर बस्ने, फेरि गेम नजिक आयो भने मेडल खोज्ने परम्परा नेपालमा पुरानो हो। मेडल खोज्ने हैन मेडल जित्न जाने हो।

४. कमजोर प्रदर्शन भएपछि नैतिक जिम्मेवारी लिएर अरुलाई अवसर दिने चलन छ नि?

हारपछि एकअर्कालाई दोष लगाउने चलन जहाँ पनि हुन्छ। यसको समीक्षा हुनुपर्छ। मलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ भने निश्चित समय दिएर त्यसभित्र मेरो प्लान अनुसार काम गर्न दिइनुपर्छ। त्यसपछि पनि सफलता प्राप्त भएन भने विकल्प खोजिनुपर्छ र आफूले पनि सोच्नुपर्छ। यहाँ त खेलाडीले मेडल ल्याएन भने प्रशिक्षकको थाप्लोमा जान्छ। प्रशिक्षक जति नै जान्ने भएपनि खेलाडीले त्यसअनुसार खेल्दिएन वा खेल्न सकेन भने कस्को के लाग्छ? हो, दक्षिण एसियाली खेलकुदमा पनि म प्रशिक्षक थिएँ तर प्रशिक्षकको योजनाअनुसार कहाँ काम भयो त ? यदि खेलकुदको विकास गर्ने हो भने यसको समीक्षा हुनुपर्छ अब। नत यसरी नै सहभागिता भइरहन्छ अनि आक्कलझुक्कल मेडल पनि।

५. २९ खेल अनि एक सय ८५ खेलाडीको सहभागिता। सफलता- एउटा मात्र पदक। एसियाडमा लगातार तेस्रोपटक नेपाल केवल एक पदकमा सीमित भएको छ। एसियाड त सहभागिताकै लागि मात्र गएको जस्तो भएन र?

मैले अघि पनि भनेँ- पदक त जितेर ल्याउने हो। भगवानसँग जपेर वा केही महिना तपस्या गरेजस्तो गरेर पदक आउँदैन। अरुलाई हराएर ल्याउने हो। तर हाम्रो तयारी चाहीँ सहभागिताका लागि मात्र भइरहेको छ। पदक  योजना, रणनीति र समय अवधिका आधारमा आउँछ। चीनले ८ वर्षको योजना बनाएर तयारी गर्छ। छिमेकी देश भारतले पनि हचुवाका भरमा सफलता हात पारिरहेको छैन। उसले अर्को एसियाडको तयारी सुरु गरिसकेको छ। हामी भने प्रतियोगिता हुनुभन्दा केही महिना अघिदेखि तयारी गर्छौं। न खेलाडीले पर्याप्त एक्सपोजर पाएको हुन्छ, न त उच्चस्तरको प्रतिस्पर्धामा अभ्यस्त वा तयार हुन्छ। हाम्रा खेलाडीले कुन सेवा सुविधामा खेलिरहेका छन् त्यो पनि बुझ्नु पर्‍यो। जीविकोपार्जनका लागि अरु काम गरेर खेल्नुपर्ने अवस्थामा पदकको अपेक्षा गर्नु बेकार छ।  अन्तर्राष्ट्रिय सहभागिता गर्दा मेडललाई पहिलो प्राथमिकता बनाउनु पर्‍यो। सहभागिताका लागि जानै हुन्न भनेको होइन। तर यति धेरै खेलमा सहभागी हुँदा पनि एउटा मेडल जित्न धौ धौ हुन्छ भने हामी कस्तो खेलकुद चलाइरहेका छौँ? सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दो खेलाडी सबिताराज भन्डारीले रजत पदक त जितेकी थिइन् त? तर, किन हामीले त्यसपछि स्वर्णको लागि योजना बनाएनौं? किनभने हामी भगवान भरोसामा खेलिरहेका छौं। सबैलाई सबै कुरा थाहा छ तर यसलाई कार्यान्वयन गर्न कोही तयार छैनन्। हामीले पदक जित्न सक्ने रहेछौं भन्ने जान्दाजान्दै पनि योजनाबद्ध विकास गर्ने काम भएन। यसले गर्दा अरु चितुवा गतिमा दौडिए हामी कछुवा गतिमै रह्यौं। अरु समयानुकुल भए हामी भने पुरानै ढर्रामा चलिरह्यौं।

६. तपाईको मतलब राष्ट्रिय खेलकुद परिषद्-राखेप, खेल संघ गैह्र जिम्मेवार भए भन्ने हो?

त्यो भन्दा पनि खेलकुदमा राजनीति बढी हावी भयो भन्ने हो। खेलकुदलाई राजनीतिकरण गरियो। खेलकुद कुनै पार्टीको होइन, देशको हो। राखेपमा आइसकेपछि त्यसलाई पार्टीजस्तो बनाउनु भएन। राम्रो काम गर्‍यो भने त पार्टीको नाम आइहाल्छ नि। सदस्यसचिव कस्ता आए भने आफ्ना पार्टीकालाई च्याप्ने अरुलाई देखि नसक्ने। यसले गर्दा सदस्यसचिव नै खेलकर्मीले भन्दा कार्यकर्ताले घेरिए। पछिल्लो समय खेल संघहरुमा आएको विवाद यही राजनीतिकरणको परिणाम हो जस्तो लाग्छ। एउटा सदस्य सचिवले गरेका राम्रा कामलाई अर्का सदस्यसचिवले लत्याउने गरेको पाइएको छ। आखिर हाम्रो उद्देश्य खेलकुद विकास र अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्ने हो भने खेलकुदमा आइसकेपछि पार्टीको झन्डा छाड्न सकिन्न? पछिल्लो समय त यो राजनीतिकरणको प्रभाव खेलाडी र प्रशिक्षकसम्म पुगेको सुन्ने गरेको छु। कुन पार्टीलाई भोट हाल्छ भनेर प्रशिक्षक छान्ने र कुन पार्टीलाई भोट हाल्छ भनेर खेलाडी च्याप्ने अवस्था आउनु दुर्भाग्यपुर्ण हो। खेलाडी र प्रशिक्षकले राजनीतिक सोर्सफोर्सलाई प्राथमिकता दिने अवस्था आउनु विडम्बना हो।

मूल समस्या खेलकुदका लिडरहरुमा छ। हामी खेलाडी संघले हरेक राखेप सदस्यसचिव र खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझायौं तर त्यसको कार्यान्वयन भएन। राजनीति हावी भएको ठाउँमा राजनीतिकर्मीकै बोलवाला हुने रहेछ, कि हामी पोलिटिकल पार्टिमा लाग्नु पर्‍यो। त्यसो भयो भने हाम्रो करियर जिरो हुन्छ। खेलकुद हाम्रो मन्दिर हो। हामीलाई यसैमा लागेर जीविकोपार्जन गर्ने वातावरण हुनुपर्छ।

६. यो त मन्त्रालय र त्योभन्दा माथिल्लोस्तरबाटै सुधार भएर आउनुपर्ने विषय होला नि?

अवश्य पनि। खेलकुदमा राजनीतिक नियुक्ति जहाँ पनि हुन्छ। मुख्यकुरा तालमेल र निगरानी हुनुपर्छ। खेलकुदसँग प्रत्यक्ष जोडिने मन्त्री र प्रधानमन्त्रीको काम पदक जित्ने बित्तिकै बधाई दिने र फूलमाला लगाईदिने मात्र होइन। पदक आउन के के चाहिन्छ भनेर चासो राख्ने र निर्देशन दिन पनि सक्नुपर्छ। खेलकुदमा लगानी थोरबहुत त भइरहेको छ नि। त्यो लगानी कहाँ कसरी भइरहेको छ र त्यसले खेलकुद विकासमा के अर्थ राख्दैछ भनेर उहाँहरुले निगरानी राख्नुपर्छ। किनभने यो सब जनताले तिरेको कर नै त हो।  सदस्यसचिव पार्टीबाट चार वर्षका लागि आउने भएकाले उहाँको कामको मूल्यांकन पनि मन्त्री र प्रधानमन्त्रीले गर्नुपर्छ। सदस्यसचिवले कस्तो काम गर्छन् भन्ने त सुरुको एक वर्षमै थाहा भइहाल्छ नि। राम्रो गर्नेलाई निरन्तरता दिने र राम्रो गर्न नसक्नेलाई हटाउने साहस माथिल्लो तहबाट हुनुपर्छ। यो सब जिम्मेवारीबोध गर्ने र जवाफदेही हुने विषय हो।

७.र अन्त्यमा, चार वर्षअघि दक्षिण कोरियामा आयोजित एसियाडमा नेपालको एकमात्र पदक जित्ने कराते खेलाडी विमला तामाङ लगत्तै अमेरिका लागिन्। अहिले त्यत्तै छिन्। तपाईँ आफैले पनि पटकपटक राष्ट्रिय टोलीमा रहेका धेरै खेलाडी विदेश जाने अवसरको पर्खाइमा छन् भन्नु हुन्छ। खेलाडी महत्वाकांक्षी भएका हुन् या राज्यको नीति नभएर यस्तो भएको हो?

अहिलेको पुस्ता निकै स्मार्ट छ। उनीहरुले कुन खेलमा लागेर आफ्नो भविष्य कस्तो हुन्छ भनेर धेरै पहिला नै सोचिसकेका हुन्छन्। सबैभन्दा पहिला हामीले खेलाडीको वर्तमान र भविष्यबारे सोचेर नीति बनाउनुपर्छ। कम्तीमा राष्ट्रिय टोलीमा रहँदा पूर्णरुपमा खेलमै केन्द्रित हुने र खेल्न छाडेपछि सुरक्षित भविष्यको सुनिश्चित हुने योजना अघि ल्याउनुपर्छ। मनमा खेलकुदबाहिरका अनेक तनाव लिएर कोही खेलाडीले कसरी बेस्ट पर्फमेन्स गर्न सक्छ? खेलकुदमा लागेर मलाई फाइदा भयो होला त्यसैले म नेपालमै अडिन सकेको छु। तर यो मलाई मात्र फाइदा भएको हो समग्र खेलकुदलाई हैन। पछिल्लो समय अन्तर्राष्ट्रिय पदक जितेका कति खेलाडीलाई हामीले नेपालमा टिकाउन सकेका छौँ? हरेक खेलाडीले आफ्नो भविष्य सुनिश्चित होस् भन्ने चाहन्छ। आम नागरिकले चाहन्छ भने खेलाडीलाई त्यो हक छैन? खेलाडीले आफ्नो राम्रो लाइफ बिताउन विदेश जान नपाउने?

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्