विश्वका चौथाई मानिस निष्क्रिय, दक्षिण एसियामा नेपाल सबैभन्दा सक्रिय

मानिसको जीवनशैलीमा बढ्दै गएको निष्क्रियता कम गर्ने पक्षमा निकै कम मात्रै काम भएको र यो मानव स्वाथ्यका लागि जोखिमपूर्ण रहेको भन्दै विशेषज्ञले चुनौति दिएका छन् ।
विश्व स्वास्थ्य संगठन, डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका एक चौथाइ मानिसले आवश्यक पर्ने भन्दा निकै कम शारीरिक व्यायम गर्ने गरेका छन् । सन् २००१ यताको तथ्यांक अनुसार विश्वका एक अर्ब ४० करोड मानिसले आवश्यक पर्ने शारीरिक व्यायाम गर्ने गरेका छैनन् ।
शारीरिक निष्क्रियताले विभिन्न स्वास्थ्य समस्याको जोखिम बढाउँछ । यसमा मुटु सम्बन्धी रोग, टाइप–टू डाइबिटिज तथा केही प्रकारका क्यान्सर समेतको जोखिम बढ्छ ।
उच्च आय भएका देशहरुमा निष्क्रियताको दर अझ बढी रहेको छ । पुरुषको तुलनामा महिला व्यायामको सवालमा कम सचेत रहेको पाइएको छ ।
डब्लुएचओका अनुसन्धानकर्ताले मानिसहरुले आफ्नो सक्रियताका बारेमा दिएको सूचनालाई आधार मानेर अनुसन्धान गरेका हुन् । १६८ देशका ३५८ जनसांखिक आधारमा एक अर्ब ९० करोड मानिसमा अनुसन्धान गरिएको हो । यो अनुसन्धान प्रतिवेदन द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित भएको छ ।
अमेरिका, बेलायतसहितका उच्च आए भएका देशमा निष्क्रिय मानिसको संख्या बढेको छ । यी देशमा सन् २००१ मा निष्क्रिय मानिसको संख्या ३२ प्रतिशत रहेकोमा सन् २०१६ मा यो संख्या ३७ प्रतिशत पुगेको छ । तर कम आय भएका देशमा भने यसको संख्या १५ वर्षको बिचमा १६ प्रतिशत नै कायम रहेको छ ।
हप्तामा मध्यम खालको व्यायाम १५० मिनेट भन्दा कम र इन्टेन्स खालको व्यायाम ७५ मिनेट गर्नेलाई शारीरिक रुपमा निष्क्रिय भन्ने गरिएको छ ।
पूर्वी तथा दक्षिण पूर्वी एसियाका देशबाहेक विश्वभरका महिला पुरुषको तुलनामा कम सक्रिय रहेको पाइएको छ । महिला र पुरुषबिचको शारीरिक सक्रियताको भिन्नता सबैभन्दा बढी दक्षिण एसिया, मध्य एसिया, मध्य पूर्व, उत्तर अफ्रिका र उच्च आय भएका पश्चिमा देशमा छ ।
बालबालिकाको स्याहार गर्नु पर्ने तथा सांस्कृतिक मान्यताका कारण महिलालाई व्यायाम गर्न वा त्यसमा फोकस हुन नदिएको अनुसन्धानकर्ताले बताएका छन् ।
तर उच्च आय भएका वा धनी देशमा भने सुविधाभोगी जागिर तथा सेवाका कारण व्यायाम नहुने गरेको देखिएको छ ।
कम आय भएका देशमा मानिसले धेरै काम गर्ने वा सार्वजनिक यातायात चढ्ने, हिँड्ने गरेकाले व्यायामका लागि समय छुट्याउन नसकेको पाइएको छ ।
डब्लुएचओले सन् २०१५ सम्ममा विश्वमा निष्क्रियताको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । तर यहि अवस्था रहने हो भने त्यो पूरा हुन नसक्ने भन्दै प्रमुख अनुसन्धानकर्ता डा. रेजिना गुथोल्डले चेतावनी दिएकी छन् ।
१९ देखि ६४ वर्ष उमेरकालाई व्यायाम गाइडलाइन
कति गर्ने ?
हप्तामा मध्यम खालको एरोबिक गतिविधि कम्तिमा १५० मिनेट वा इन्टेन्स खालको एरोबिक गतिविधि कम्तिमा ७५ मिनेट गर्ने
हप्ताको दुई वा त्यो भन्दा बढी दिन शरीरका सबै मसललाई पुग्ने गरी व्यायाम गर्ने
हल्का खालको काम गरेर लामो समय बन्ने बानी कम गर्दै लैजाने
मध्यम खालका एरोबिक गतिविधि के के हुन् ?
चाँडो हिँड्ने
वाट्र एरोबिक्स
सम्मो वा केही उकालो–ओरालो बाटोमा साइकल चलाउने
डबल टेनिस
हाइकिङ्ग
भलिबल
बास्केटबल
इन्टेन्स एरोबिक गतिविधि के के ?
जगिङ्ग वा दौडनु
तीब्र गतिमा पौडनु
उकालोमा तीब्र गतिमा साइलक चलाउनु
एकल टेनिस
फुटबल
रग्बी
स्किपिङ्ग रोप
हक्की
शारीरिक सुगठन
जिमनास्टिक
सबै भन्दा बढी निष्क्रिय रहेका देशः
कुवेतः ६७ प्रतिशत
अमेरिकन सामोएः ५३ प्रतिशत
साउदी अरेबियाः ५३ प्रतिशत
इराकः ५२ प्रतिशत
सबैभन्दा कम निष्क्रिय दर रहेको देश युगाण्डा र मोजाम्बिक हुन् । यी देशमा निष्क्रियताको दर ६ प्रतिशत मात्रै छ ।
दक्षिण एसियामा नेपालमा निष्क्रियताको दर सबैभन्दा कम रहेको देखिएको छ । नेपालमा निष्क्रियताको दर मात्रै १३.४ प्रतिशत रहेको छ । भारतमा भने निष्क्रियताको दर ३४ प्रतिशत देखिएको छ ।