अवे गोल सम्बन्धी नियममा पुनरावलोकन गर्न शीर्ष टिमका प्रशिक्षकको माग

युरोपका शीर्ष फुटबल क्लबका प्रशिक्षकले महादेशीय प्रतिस्पर्धामा लागु हुँदै आएको अवे गोलको नियममा पुनरावलोकन गर्न युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएसँग आग्रह गरेका छन्।

युरोपका शीर्ष क्लबका प्रशिक्षकको स्वीट्जरल्याण्डमा भएको बैठकले यस्तो आग्रह गरेको हो । उनीहरुले महादेशका सबै शीर्ष लिगमा खेलाडी ट्रान्सफर विण्डो एउटै समयमा बन्द हुनु पर्ने पनि माग गरेका छन् ।

अवे गोल गर्न पहिलाको जस्तो कठिन अहिले नरहेको प्रशिक्षकको भनाई छ । अवे गोल सम्बन्धी नियममा पुनरावलोकन गर्नु पर्ने उनीहरुको भनाई रहेको युइएफएका उप महासचिव जर्जियो मार्केतीले बताएका छन् ।

प्रशिक्षकहरुको वार्षिक बैठकमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो, आर्सनलका उनाई एमरी, आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेङ्गर, युभेन्टसका मासिमिलियानो अलेग्री, रियल मड्रिडका जुलियन लोपेतेगी, नापोलीका कार्लोस एन्सिलोटी तथा पेरिस सेन्ट–जर्मेन, पिएसजीका थोमस तुसिलसहितको उपस्थिति थियो ।

अवे गोल सम्बन्धी नियम युरोपियन कप विनर्स कपमा सन् १९६५ मा लागु भएको थियो । अहिले आएर यो नियम प्रत्युदपादक बन्दै गएको प्रशिक्षकको बुझाई छ ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्