जापानमा २५ वर्ष यताकै ठूलो आँधी जेबीः ९ जनाको मृत्यु, जनजीवन प्रभावित

जापानमा जेबी आँधीका कारण जनजीवन प्रभावित भएको छ । पछिल्लो २५ वर्षकै सबैभन्दा ठूलो समुद्री आँधी जेवीका कारण अहिलेसम्म कम्तिमा ९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

जेबी आँधीका कारण विशेष गरी जापानको पश्चिमी क्षेत्रमा बढी नोक्सानी भएको छ । विशेष गरी क्योतो र ओसाकासहितका मुख्य शहरमा क्षति भएको छ । आँधीका कारण उडान सेवा अवरुद्ध भएको छ भने रेल तथा पानीजहाज सेवा पनि रोकिएको छ ।

तर हजारौँ यात्रु ओसाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन् । हावाको गति कम हुँदै गएको छ तर मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ । पहिरो तथा बाढीको जोखिम उच्च रहेको बताइएको छ ।

बुधबार बिहानसम्म सरकारी अधिकारीले आँधी प्रभावित क्षेत्रका १२ लाख मानिसलाई सुरक्षित स्थानमा बस्न भनिएको छ । ३० हजार जनालाई उच्च जोखिमका लागि सचेत रहन भनिएको छ तर अनिवार्य रुपमा घर छोड्न भने भनिएको छैन ।

आँधीका कारण २० लाख भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । प्रभावित क्षेत्रका कार्यालय तथा स्कुलहरु अहिले पनि बन्द नै छन् ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्