खाडीमा नेपाली महिलाको कोख भाडामा

कुमार श्रेष्ठ – नेपालगञ्ज – बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । सुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्वसहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । ‘विदेशी’ छोरी हुर्किदै छिन् ।

यो त हिंसामा परेकी युवतीको कुरा भयो । तर, यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ । १२ औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भने, नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दैछौ ।’ उनले यस्तो गरेका महिला भेटिएपनि कुरा बाहिर ल्याउन नचाहेको बताए ।

खाडीमा हिंसामा परेर फर्किएकी बाँकेकी ३४ वर्षीया महिलाले पनि आफूले यस्तो कुरा उही सुनेको बताइन् । ‘अरबीहरुले नेपाली महिलाबाट बच्चा जन्माउने गरेको मैले खाडीमै थाहा पाएको थिए, सात महिनामा ६ वटा घर फेर्दा पनि हिंसामा परेकी ती महिलाले भनिन्, बच्चा जन्माइदिँदा अरबीले राम्रै पैसा दिने गरेको दलालले सुनाएका थिए ।’ उनका अनुसार, कतिपय महिलाले भने हिंसामा परेर गर्भ बोक्छन् र फाल्छन् ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला समितिका संयोजक मदन भुजेल, गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रहरी प्रमुख तथा संघ संस्थाका प्रतिनिधिका बीचमा ‘गर्भासय’को कुरा आएपछि सबै झस्किए ।

कतिपयले पैसाका लागि खुशीले यस्तो गरिरहेको कोइरालाले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका कोइरालाले पहिला पनि यस्तो कुरा सुनिएपनि अहिले व्यक्ति फेला परेको सुनाए । ‘उनीहरु बोल्न चाहदैनन्, बोल्दिन भन्ने उनीहरुको अधिकार हो, कोइरालाले भने, सरोकारवाला निकाय यसबारेमा चनाखो हुन जरुरी छ ।’

पछिल्लो वर्षहरुमा नेपालगञ्जलाई खाडीमुलुक जाने प्रमुख नाकाको रुपमा प्रयोग गर्ने गरिएको छ । भीडभाड हुने भएकाले दलालका लागि यो नाका उपयुक्त भएको पक्राउ परेकाहरु बताउँछन् । गतवर्ष यो नाकाबाट एक हजार ७ सय ८६ जनालाई फिर्ता गरिएको छ । फिर्ता हुनेमा १८ वर्ष मुनिका ७ सय ७८ जना थिए । २५ प्रतिशत बाँकेका थिए ।

भारत तथा खाडीमा पुगेर सम्पर्कबिहीन भएकाको संख्या पनि वर्षेनी बढ्दै गएको छ । प्रहरी र संघ संस्थामा परेको निवेदनले यस्तो देखाउँछ । गतवर्ष एक हजार दुई सय ५ जनाको खोजतलासको निवेदन परेको छ । निवेदन परेकामध्ये १८ वर्षमुनिका ६ सय ५७ जना छन् । खाडीमा १८ वर्षमुनिका किशोरीको माग बढिरहेको यसले देखाउँछ । बाँकेका ३५ प्रतिशत छन् ।

खोजतलासको निवेदन आएकोमध्ये केहीको उद्धार पनि गरिएको छ । भारत तथा खाडीबाट यो बीचमा ५२ जनाको उद्धार गरिएको छ । त्यसमा १८ वर्षमुनिका १४ जना थिए । जोखिमपूर्ण यात्रामा गएर हराउनेको संख्या दिन प्रति दिन बढ्दै जादा दलाल कारबाहीमा परेको संख्या भने न्यून रहेको छ । यो वर्ष २५ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा चलेको छ । जिल्ला अदालत, नेपालगञ्जका निमित्त श्रेस्तेदार नारायण सापकोटाले साउन यता तीन जना दलालविरुद्ध मुद्दा चलेको बताए ।

सचेतनामा जोड


जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले मानव बेचबिखनविरुद्ध स्थानीय तह क्रियाशील हुनु पर्ने बताए । ‘स्थानीय तह पावरफूल छन् । उनीहरुले अब योजनाबद्ध तरिकाले सचेतनाको कुरामा जोड दिनु पर्छ, श्रीवास्तवले भने ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले देखासिकी, आडम्बर, महत्वकांक्षा, घरेलु हिंसा, पारिवारिक बेमेल, झगडाले गर्दा महिलाले जोखिमपूर्ण बाटो रोज्ने गरेको बताए । उनले पाठ्यक्रममा बेचबिखनका कुरा समेट्नुका साथै गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारु, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री मानव बेचबिखनविरुद्धमा योजनाबद्ध कार्यक्रमहरु गर्ने प्रतिबद्धता गरे ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले प्रमुख जिल्ला अधिकारी धेरै ठाउँमा संयोजक हुने भएकाले मानव बेचबिखनविरुद्धको गतिविधि प्रभावकारी हुन नसकेको बताए ।

एसपी अरुण पौडेलले मानव बेचबिखन संगठित अपराध भएकाले सबैको साथ र सहयोगले मात्रै नियन्त्रण गर्न सकिने खुलाए । अधिकारकर्मी कमला पन्त, बसन्त गौतमलगायतले गाउँगाउँमा सचेतनामूलक गतिविधिहरु गर्नुपर्ने बताए ।

‘अशिक्षितमात्रै होइन, शिक्षिक महिलाहरु पनि दलालको फन्दामा परेका छन्, पन्तले भनिन्, यो विषय एक वा दुई जनाको नभई समग्रमा भएकाले सबै मिलेर अगाडि बढ्नु पर्छ ।’

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्