ठगी आरोपमा प्राइम सहकारीका तीन पदाधिकारीमाथि अदालतको थुना आदेश

मोरङ-विराटनगरमा करोडौं रुपैया ठगी गर्ने एक सहकारीका तीन पदाधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएको छ। विराटनगरमा रहेको प्राइम सहकारीका तीन पदाधिकारीलाई बचतकर्ताको करोडौं रकम ठगी गरेको भन्दै बुधबार अदालतले आदेश दिएको हो।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले प्राइमका ३४ बर्षिय प्रबन्धक एवं सचिव इश्वर श्रेष्ठ, सहकारी प्रमुख ६८ वर्षिय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष ४० वर्षिय विष्णुप्रसाद सुवेदीलाई थुनामा राख्‍न आदेश भएको अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए। थुनामा परेका तीनै जना विराटनगरबासी हुन्।

श्रेष्तेदार दुलालका अनुसार उनीहरुलाई मुलुकी ऐनको अदालती बन्दवस्तीको ११८ को २ बमोजिम थुनामा राख्‍न आदेश भएको हो। उनले भने प्राप्त प्रमाणका आधारमा निर्दोष भन्‍न सक्ने अवस्था नभएकोले उनीहरुलाई थुनामा राखेर मुद्दाको कामकावाही अघि बढाउन अदालतको आदेश भएको छ।

थुनछेक बहसमा वादीकातर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरका सहायक जिल्ला न्यायधिवक्ता पदमप्रसाद वस्तीले गरेका थिए। त्यसैगरि, प्रतिवादी ईश्वर श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ता विश्वनाथ भट्टराई, अधिवक्ता चूडामणी कोइराला, ज्ञानेन्द्र थापा र बुद्धिकुमार श्रेष्ठले बहस गरेका थिए।

त्यस्तै इन्द्रलाल श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई र सुरेशलाल श्रेष्ठले प्रतिरक्षामा बहस गरेका थिए। त्यस्तै विष्णु सुवेदीका तर्फबाट अधिवक्ता नारायणप्रसाद दाहाल, महेशकुमार खड्का र विश्वनाथ भट्टराईले बहस गरे। थुनामा राख्‍न आदेश दिइएका तीनसहित १२ जनालाई प्रतिवादी बनाएर भदौ १३ गते जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गरिएको थियो।

लामो समयदेखि विराटनगरको बाटारोडमा संचालनमा रहेको सहकारीले २ सय ६८ जना बचतकर्ताको ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैया अपचलन गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ। बचतकर्ताहरुले उजुरी दिएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेर ठगी मुद्दा अनुसन्धान अघि बढाएको थियो।

त्यस्तै सहकारी संचालनमा आवद्ध रहेका अन्य ९ जना विरुद्ध पनि अदालतले पक्राउका लागि वारेन्ट जारी गरेको छ। अदालतले खोटाङ घर भई कास्की पोखरा बस्दै आएका अनिल जोशी, विराटनगरका विष्णुलक्ष्मी श्रेष्ठ, लीला खानम, सन्तोष भनिने तेजप्रसाद ढकाल, गोमा श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, सुनिता दंगाल, गोपाल साह र विमला उदासका नाममा वारेन्ट जारी गरेको स्रेस्तेदार दुलालले बताए।

थुनामा परेका इश्वर श्रेष्ठले ठगी गरिएको सहकारीको रकमबाट विराटनगरदेखि पोखरासम्म गरि पाच वटा उद्योग सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्