ठगीमा संलग्न सहायक रजिष्टारसहित १२ जना पक्राउ

घरमा काम गर्नेले गरे मालिकको ७० करोड बराबरको सम्पत्ति आफ्नो नाममा

काठमाडौँ-आफ्नै घरमा काम गर्नेबाट कागजपत्र चोरी भई सम्पत्ति नामसारी भएको थाहा पाएपछि भारतीय व्यापारी राम निरन्जन जटिया छाँगाबाट खसेजस्तै भए। घटनाको अनुसन्धान हुँदै जाँदा कम्पनी रजिष्टार कार्यालयका ६ जना कर्मचारीको समेत मिलेमतो देखियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सरकारी कागजात कीर्ते गरि  करिब ७० करोड ठगी गरेको आरोपमा  १२ जनालाई पक्राउ गरेको छ।

विज्ञापन

यसमा कम्पनी रजिष्टार कार्यालयका कर्मचारी पनि छन्। अझै केही फरार रहेको सीआईबीले जनाएको छ। आफ्नो एकल स्वामित्वमा रहेको शंकर इलेक्ट्रिक इन्डस्ट्रिजको नामका सम्पती विक्री गर्न बैना लिएको थाहा पाएपछि जटिया कम्पनी रजिस्टार कार्यालय पुगेका थिए। त्यसपछि अनुसन्धान सुरु भएको थियो।

किर्तेको शृं‌खला 


जटियाको एकल स्वामित्वमा रहेको शंकर इलेक्ट्रिक इन्डस्ट्रिजको सम्पुर्ण कागजपत्र उनकै घरमा काम गर्ने रामेछापका ३३ वर्षीय जीतबहादुर मगरले चोरी गरे। जीतबहादुर विगत १६ वर्षदेखि चुनदेविस्थित जटियाकै घरमा बस्दै आएका थिए।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को सञ्‍चालक समितिको बैठकको निर्णय भनी संचालक राम निरंजन जटियाले जितबहादुर मगरलाई कम्पनीको ७५% बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज तयार गरिएको अनुसन्धानबाट खुलेको छ।

यसमा उनलाई मकवानपुरका ४५ वर्षीय राजन प्रसाद लम्साल र काठमाडौँका ४० वर्षीय निरजकुमार मानन्धरले सहयोग गरे। कम्पनीको  विशेष साधारण सभाको बैठकले जितबहादुर मगरले आफूलाई अध्यक्ष बनाए भने जटियालाई सञ्‍चालक तोके। त्यसपछि जटियाले सन्चालक पदबाट राजीनामा दिएको निवेदन तयार गरियो।

कम्पनीको अर्को सञ्‍चालक समितिको बैठकले कम्पनीको २५% बराबर हुन आउने ६२५० थान शेयर  जटियाबाट जितबहादुर मगरलाई विक्री गरिएको कागजपत्र तयार  गरियो। कम्पनीको अर्को विशेष बैठकबाट जितबहादुर मगर मात्र  रहने गरि एक सदस्यीय संचालक समिति हुने निर्णय भयो।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को शेयर लगत राम निरंजन जटियाको नामबाट जितबहादुर मगरको नाममा नामसारी गरियो।

यसपछि जीतबहादुरले बालुवाटार वस्ने राजभाई श्रेष्ठसँग शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको  वालुवाटारस्थीत १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले बिक्री गर्न  बैंकमार्फत १ करोड वैना लिए।

यसैगरी शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लिको नाममा  सतुङ्गलमा रहेको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागि लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका चितवनका प्रेमसागर सापकोटासँग दुई करोड रुपैयाँ बैना पनि लिए।

थाहा पाएसकेपछि पनि मालिकलाई नै चुनौति


जटियाले गत साउन ११ गते पत्रिकामा जित बहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरे। त्यसको पाँच दिनपछि  जितबहादुरले नयाँ पत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर र घर जग्गा समेत राम निरञ्जन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जितबहादुर मगरको नाममा नामसारी भईसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गरे ।

जटियाले त्यसको एक दिनपछि नागरिक दैनिकमा मञ्जूरी वेगर जित बहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेका थिए।

सीआईबीले ४० वर्षीय पून्यप्रसाद खरेल, काभ्रेका ४० वर्षीय राजकुमार तामाङ, काठमाडौंका ३१ वर्षीय हिमाल महर्जन र ५५ वर्षीय चिरीबाबु महर्जन, बाराका २८ वर्षीय अमृत थापामगरलाई पनि पक्राउ गरेको छ।

कम्पनी रजिष्टार कार्यालयका सहायक रजिष्टारहरु नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा आईटी शाखामा कार्यरत दुई जना कर्मचारीलाई पनि पक्राउ गरेको छ। कम्पनी रजिष्टार कार्यालयका अझै दुई कर्मचारी फरार रहेको सीआईबीले जनाएको छ। उनीहरुमाथि विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू