दुई दिनदेखि वेवारिसे थियो ‘बन्द’ कार, गन्हाउन थालेपछि खोजिनिती

काठमाडौँ –  स्वयम्भू स्तुपा जाने बाटोमा पर्ने सानो पोखरी (जहाँ सिक्का पैसा फाल्ने चलन रहेको छ) भन्दा तल पर्ने पिच बाटोको छेवैमा दुई दिनदेखि बा ७ च ७०२१ नम्बरको निजी  गाडी पार्किङ गरेर राखिए पनि कसैले वास्ता गरेको थिएन।

कालो सिसा भएका कारण गाडिभित्र केही देखिँदैन थियो। तर शवको दुर्गन्ध आउन थालेपछि स्थानीयले खोजिनिती गरे। गाडि खोलेर हेर्दा एक युवकको लास त्यहाँ भेटियो। महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले स्थानीयको भनाई उदृत गर्दै उक्त गाडी केही दिनदेखि नै त्यहाँ रहेको बताए। प्रहरीले काठमाडौँको नैकापका ३२ वर्षीय श्याम श्रेष्ठ निजी गाडिभित्र मृत अवस्थामा भेटिएको जनाएको छ।

प्रहरीका अनुसार गाडि भित्रदेखि लक थियो र साँचो पनि भित्रै थियो। ‘झट्ट हेर्दा आत्महत्याजस्तो देखिन्छ। थप अनुसन्धान भईरहेको छ’, एसएसपी उप्रेतीले भन‍े। भदौ १८ गते दिउँसोदेखि श्याम सम्पर्कविहिन भएको परिवारका सदस्यले बताएका छन्।

सेयर कारोबारमा सक्रिय श्याम पैसा डुबेपछि पछिल्लो समय डिप्रेसनको शिकार भएका थिए। उनी यसअघि पनि पटकपटक हराउने गरेको पारिवारिक भनाई उदृत गर्दै प्रहरीले जनाएको छ। घटनास्थलमा श्रेष्ठको शरीरमा कुनै चोटपटक नभएको र हल्का बमिट गरेको पाइएको थियो।

शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्