पटना-जनकपुरधाम तथा बोधगया–काठमाण्डुलाई बस सेवाले जोड्‍दै

जनकपुरधाम- धेरै समयदेखि अन्योलमा रहेको पटना-जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा अब सञ्चालन हुने भएको छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम र भारत विहार राज्यको राजधानी पटनालाई जोड्ने पटना–जनकपुरधाम र बोधगया–काठमाण्डु बस सेवा भदौ ३१ गतेदेखि सञ्चालन हुन लागेको हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हरियो झण्डा देखाएपछि औपचारिक रुपमा पटना-जनकपुरधाम बस सेवा सञ्चालन हुने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी दिएका छन्।

यस्तै, भदौ २८ का दिन विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाइ जनकपुरको लागि बसलाई विदा गर्ने समेत जनाईएको छ।
जनकपुरबाट छुट्ने उक्त बस सीतामढी, मुजफ्फरपुर हुँदै पटना जाने रुट निर्धारण गरिएको छ भने काठमाडौँबाट छुट्ने बस बीरगञ्ज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगया सम्म पुग्ने बताइएको छ।

जनकपुरबाट करिब २ सय ७ किलोमिटर दूरी रहेको पटनासम्म बस सञ्चालन गर्न नेपालतर्फबाट काठमाडौँस्थित स्वयंभु मञ्जुश्री यातायात प्रा.लि. र भारत तर्फ विहार सरकारको विहार पारवहनले जिम्मा पाएको छ।

जनकपुरबाट छुट्ने बसको समय बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे समय प्रस्ताव गरिएको छ। यस्तै, काठमाण्डौ र विहारको बोधगयासम्मको लागि सञ्चालन हुने बस सेवा काठमाण्डौबाट बीरगंज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगयासम्म पुग्ने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन आएको बेला जनकपुर–पटना बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए।पछिल्लो पटक बिमस्टेक सम्मेलनमा सहभागी हुन पुनः नेपाल पुगेका उनले उक्त घोषणा कार्यान्वयन गर्न सम्झौता गरेका छन्।

दुई मुलुकबीच चारवटा बस सञ्चालन गर्ने सम्झौता रहेपनि तत्काल दैनिक १÷१ बस सञ्चालन हुने अध्यक्ष चौधरीले बताए।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्