संगठनलाई कमजोर बनाउनेले पार्टी छाडेर गए हुन्छ-कोइराला

मोरङ-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गतवर्ष सम्पन्‍न निर्वाचनमा अन्तर्घात गरी संगठनलाई कमजोर बनाउने जो कोहीले पनि पार्टी छोडेर गए पार्टीलाई कुनै असर नहुने चेतावनी दिएका छन्।

वीपी कोइरालाको १ सय ४ औं जन्मजयन्तीका अवसरमा विराटगनरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले निर्वाचनमा पार्टीविरुद्ध कार्य गर्नेले पार्टी छाडेर गए कुनै फरक नहुने बताए। कार्यक्रममा नेता कोइरालाले पार्टीलाई आवश्यक परेको बेला असहयोग गर्ने नेता कार्यकर्तालाई कांग्रेसले प्रश्रय नदिने बताए।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनुपरेकोमा बताएका कोइरालाले नेताकै अन्तर्घातकै कारण धेरै स्थानमा कांग्रेसका उम्मेवारको हार भएको स्पस्ट पारे। पार्टी संगठन भन्दा माथि छु भन्ने नेता कार्यकर्तालाई उनले संगठनबाहिर जादैमा फाइदा हुनेमा जोड दिए।

वर्तमान दुइ तिहाइको कम्युनिष्ट सरकारका कारण मुलुकमा प्रजातन्त्र अप्ठ्यारो अवस्थामा पर्दै गएको उनको आरोप छ। कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले केन्द्रदेखि गाउँ तहका नेता कार्यकर्ताहरु एकजुट भएर पार्टीको संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए।

विचार गोष्ठीमा कांग्रेसका तर्फबाट प्रदेश नम्बर एकका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सांसद चुमनारायण तबदार, शान्ता पौडेल, विन्ध्या कार्की, महासमिति सदस्य वासु कोइराला, भक्ति सिटौला लगायतले वीपीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्