भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाको पशुपति यात्रा

पशुपतिमा भारतीय नेताको ओइरो, नेपाली नेताहरु पाइलै टेक्दैनन्

पशुपतिमा शुक्रबार पूजा गर्दै भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा। तस्बिर: बर्षा शाह

सामाजिक सञ्जालमा कथावाचक पं.कपिलदेव सुवेदीले ‘नारायण हरि। भारतका सबै ठूला नेताले चिनेको पशुपतिनाथलाई दुःखको कुरा नेपालका नेताज्यूहरुले कहिल्यै चिन्न सकेनन्’ ट्विट गरेपछि अनेक प्रतिक्रिया आए। नेतालाई गाली गरे, कसैले सुझाव पनि दिए। भारतीय नेताहरुको पशुपतिनाथ दर्शन मोह देखेपछि पं. सुवेदीले गरेको ट्विटमाथि उनका साथीहरुले अनेक सल्लाह सुझाव दिए।

त्यसो त केही दिन अघि बिमस्टेक सम्मेलनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा विशेष पूजा र आरतीको समेत दर्शन गरे। भारत सरकारको सहयोगमा निर्माण भएको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको उद्घाटन गर्दै पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई उपहार दिएर गएको घोषणा गरे। र, पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरी दर्शनको महत्व बताए। आफूले पनि दर्शन गरेको स्मरण गर्दै मोदीले मुसाफिर तीर्थयात्रीलाई पशुपतिनाथ बसाई थपका लागि धर्मशाला सहायक हुने घोषणा गरे।

मोदी धर्मशाला उद्घाटन गर्ने तयारीमा थिए। त्यसैबेला भारतको सबैभन्दा सुलभ विमान इन्डिगोबाट भारतीय राजनीतिक अर्का पात्र कांग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोबार यात्राका लागि नेपाल आइपुगे। राहुलको नेपाल यात्रा र कैलाल दर्शन सँगै उनले कैलाशबाट कोरा गएर ल्याएको जल पशुपतिनाथमा अभिषेक गर्ने चर्चाले पशुपतिको बारेमा नेपाल–भारतका सञ्चार माध्यममा निकै बहसको विषय बनेको छ। राहुल कैलाश यात्रमा रमाउँदै छन्, सेप्टेम्बर ११ बेलुका काठमाडौं आइपुग्ने र १२ मा पशुपतिमा रुद्राभिषेकसहित पूजा अर्चना गर्ने चर्चा चलिरहेको छ।

कैलाशबाटै राहुलले ट्विट गरेका छन्, ‘शिव इज युनिभर्स।’ संसार नै शिव हुन् भन्ने सन्देश दिदै पशुपतिनाथको महत्व बुझाउँदै छन् उनी।

प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीको पशुपतिनाथ यात्राको बहस चलिरहेका बेला भारतका पूर्वप्रधानमन्त्री जनतादल सेकुलरका एचडी देवेगौडा विहीबार राति १० बजे नेपाल आइपुगे। र, शुक्रबार बिहान १० बजे पशुपतिनाथ पुगे। पशुपतिनाथको निमन्त्रणा पाएपछि नेपाल आउने इच्छा जागेको बताएका देवेगौडाले पशुपतिनाथको विधिसम्मत ढंगले दर्शन गरे, बासुकी नागको दर्शन र पूजन गरी लक्ष्यवर्ती( एक लाख १५ हजार ) बत्ति बाले। पशुपतिनाथको दक्षिण हुँदै पूर्व, उत्तर र पश्चिमबाट दर्शन गरे। दक्षिणबाट अघोर र इसानको दर्शन गरिन्छ – (मृत्युलाई जित्ने) पूर्व तत्पुरुष(शक्ति) उत्तर वामदेव (अर्धनारीश्वर र पश्चिम सद्योजात सबैको हित गर्ने। पशुपतिनाथ दर्शनलाई शास्त्रमा धर्म, अर्थ, काम र मोक्षसँग जोडिएको छ। त्यसैले पशुपतिनाथ दर्शनका क्रममा चारै मुखबाट दर्शन गर्ने परम्परा रहेको छ।

करिब एक घण्टा समय र भारतबाट ल्याएको सुपारीको फुल अर्पण गरे देवेगौडाले। भारतबाट सुपारीको फुल बोकेर आएका थिए। पशुपतिनाथका प्रधान अर्चक गणेश भट्ट, मन्दिरका अर्चक गिरीश र नारायण भट्ट समेत पूजामा सहभागी भएका थिए। देवेगौडा प्रसन्न मुद्रामा थिए भने अर्चकहरु विधिसम्मत ढंगबाट पूजा गर्दै थिए। बाहिर पशुपतिनाथका ब्राम्मणहरु बेदपाठ( रुद्री) वाचन गर्दै थिए । मन्दिरमा दर्शनार्थीहरु आउने क्रमको बीचमा देवेगौडाको दर्शन, पुजन भएको थियो।

निजी भ्रमणका आफ्ना परिवार र सहयोगीका साथ आएका देवेगौडाका पुत्र कुमारास्वामी दक्षिण कर्नाटकका मुख्यमन्त्री छन् । दक्षिण भारतीय पहिरन शैली अनुसार धोती र पट्टा सल घाटीमा राखेर आएका देवेगौडालाई पशुपतिनाथको नेत्र चन्दन प्रसादका रुपमा प्रदान गरिएको थियो।

पूजा, अर्चनाबाट प्रफ्फुलित भएका देवेगौडाले अर्चक र ब्राम्मणहरुलाई धन्यवाद दिए, प्रधान अर्चक गणेश भट्टले आशिर्वाद दिँदै मुख्यमन्त्रीलाई(कुमारास्वामी)लाई पशुपतिनाथ दर्शनको निमन्त्रणा र प्रसाद दिए।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले उनको स्वागत गरेका थिए। विकास कोषका तर्फबाट देवेगौडालाई पशुपतिनाथको मुर्ति प्रदान गरिएको थियो।

देवेगौडाको मन्दिरका पूजन र दर्शन अवलोकन गरेका दर्शनार्थी सरिता उप्रेतीले भनिन्, ‘हेर भारतीय नेताहरुहरु पशुपतिनाथको कस्तो भक्त छन्, हाम्रां नेताहरु कोही फर्केर पनि आउँदैनन्।’ उनले भनभनाउँदै भनिन्, ‘नजिकको देवता पनि हेला हुन्छ’ भन्ने नेपाली उखान सुनेको थिएँ, त्यसैले कोही नआएका होलान्।’

‘अब केही दिनपछि भारतकै नेता राहुल पनि पशुपतिनाथ आउने भन्ने हल्ला छ। उनको आमा क्रिश्चियन हो रे। मन्दिरमा आउँछन् कि आउँदैनन्, हल्ला चलेको छ,’ उनले भनिन्, ‘बाहिर हल्ला छ, कोहीले आउन नहुने भनेको छ रे, कसैले आउन दिनु पर्छ भनेको छ भन्छन्?’

उन्मत भैरव मन्दिरको छेवैमा बसेर संवाद गर्दै गर्दा मन्दिरका प्रहरीले भारतबाट आएका कांग्रेसका माननीय टोली भन्दै, घेराबन्दी गर्दै मन्दिर दर्शन गराउदै गरेको दृश्य देखेँ। म पनि पछि लागेँ, के रहेछ बास्तविकता भनेर। राहुलको पशुपतिनाथ दर्शन, रुद्राभिषेकको परियोजना तयार गर्न हिजो बेलुका दिल्लीबाट कांग्रेसका समर्थक र नेताहरुको टोली पशुपतिनाथ आएका रहेछन्। नाम के हो भन्ने खोजी गरिन्, उनीहरु दर्शनार्थी बनेर आएका थिए।

‘अबको केही दिनभित्र भारतबाट काग्रेसका अन्य माननीय नेताहरु पशुपतिनाथ दर्शन गर्न आउने कुरा आएको छ,’ ती प्रहरी भन्दै थिए, ‘पशुपतिनाथमा भारतीय नेताहरुको ओइरो लाग्ने भयो।’

मैले नेपालका नेताहरु को–को आउँदै छन् भनेर सोधेँ। उनले भने, ‘ठूला नेता नआएपनि कांग्रेसका केही नेता आउँछन्। नेता नआएपनि अब केही दिनपछि तीज आउँदैछ। नेताका श्रीमतीहरु पशुपतिनाथ दर्शन गर्न पक्कै आउँछन्।’

भदौ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्