साफ च्याम्पियनसिप : नेपाल भर्सेस बंगलादेश

अघिल्लो चरण पुग्न जित अत्यावश्यक, नभए कस्तो अवस्थामा यात्रा कायम रहला?

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले शनिबार बंगलदेशसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गर्नका लागि नेपालका लागि यो खेल जित्नु पर्नेछ ।

समूह चरणको पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर ठानिएको पाकिस्तानसँग हारेकाले नेपाली टोली दबाबमा छ ।

दोस्रो खेलमा भुटानमाथिको जितको शृृङ्खला कायम राखे पनि प्रतियोगिताको यात्रा कायम राख्नका लागि बंगलादेशसँगको खेल जित्नुको बाहेकको विकल्प नेपाली टोलीसँग कमै छ । खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे ढाकाको बंगबन्धु रंगशालमा हुनेछ ।

अघिल्लो चरण पुग्ने सम्भावना


नेपालसहित समूह ए मा रहेका बंगलादेश, पाकिस्तान र भुटानको सम्भावना छ । बंगलादशेका लागि सम्भावना बलियो छ भने भुटानका लागि चमत्कारको खाँचो छ । यस्तै नेपाल र पाकिस्तानका लागि भने कम्तिमा समूह उपविजेता बन्ने सम्भावना छ तर यसका लागि खेलमा जित वा अर्को टिमको हार आवश्यक छ ।

दुई दुई खेल सकिँदा बंगलादेश ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । तीन अंक जोडेका नेपाल र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दुवै खेल हारेको भुटानले भने अंक जोड्न सकेको छैन ।

बंगलोदशले नेपालसँगको खेलमा बराबरी मात्रै गरे पनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपालसँगको खेलमा हारेमा बंगलादेशको यात्रा पाकिस्तान र भुटानबिचको खेलमा भर पर्न सक्छ । नेपालका लागि पनि बंगलादेशसँगको हार घातक बन्न सक्छ । पाकिस्तानसँगको खेलमा भुटान विजयी भयो भने नेपाल हारे पनि अघिल्लो चरण पुग्न सक्छ ।

तर भुटानको जित फराकिलो भयो भने चामत्कारिक रुपमा भुटान अघि जानेछ, जुन सम्भावना निकै कम छ । यो प्रतिस्पर्धामा हेड टु हेड नभइर गोल अन्तर हिसाब हुने साफले स्पष्ट पारिसकेको छ ।

पाकिस्तानले भुटानलाई हराएमा नेपालले पनि बंगलादेशलाई हराउनु पर्छ र भुटानसँग पाकिस्तानले बराबरी गरेमा कम्तिमा नेपालले पनि बंगलादेशसँगको खेलमा बराबरी गर्नुपर्छ अनि मात्रै अन्तिम चारमा स्थान पक्का गर्न सक्छ ।

जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । दुुई गोल गरेको पाकिस्तानले दुुई गोल नै खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ ।

शनिबार बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।

कप्तान महर्जनले साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।

बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो
समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

शनिबार पाकिस्तान र भुटानबिच पनि खेल हुँदैछ, यो खेलले पनि नेपालको अघिको यात्रालाई प्रभावित पार्न सक्छ ।

हेड–टू–हेड


नेपाल र बंगलादेशबिच अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म १८ पटक भेट भएको छ । सन् १९८३ देखि सुरु भएको यो यात्रामा नतिजा बंगलादेशको पक्षमा बलियो छ ।

उसले १२ खेलमा जित निकालेको छ भने एक खेलमा बराबरी गरेको छ । नेपालले बंगलादेशलाई मात्रै पाँच पटक हराएको छ ।

तर पछिल्लो खेलमा भने नेपालको नतिजा राम्रो छ । सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० ले हराउको थियो । साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाल र बंगादेशबिच ६ पटक भेट भएको छ । त्यसमा दुई पटक मात्रै नेपाल विजयी भएको छ ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्