एसियाडमा पदक जित्ने टिमका क्याप्टेन बिमलका कुरा

छोटो दूरीका कारण स्वर्ण पदक खोसियो

पोखरा – पोखराको आकाशमा प्याराग्लाइडिङ्ग उडिरहेका दृश्यसँगै लोभिएका बिमल अधिकारी सन् २००५ मा राजेश बमजनसँग टेण्डम उडान गरेका थिए । त्यहि दिन देखि उनलाई ‘म पनि पाइलट बन्छु र उड्छु’ भन्ने सोच पलायो । तालिम लिन खोजे ।

परिवारबाट स्वीकृति पाएनन् । अलि जिद्धी गरेपछि उनको रहर पूरा भयो । उनले प्याराग्लाइडिङ्गको १४ महिने कोर्ष गरे । २८ वटा सिंगल उडान पनि गरे । बेसिक, इन्टरमिडियट, एडभान्स र प्रोफेसनल हुँदै उनको रहरहरु व्यवसायिकता तिर मोडिँदै गयो ।

सानैदेखि फरक क्षेत्रमा आफूलाई स्थापित गराउन रुची राख्ने अधिकारी प्याराग्लाइडिङ्गबाट केही गर्छु र गर्नुपर्छ भन्ने सोच बनाइरहेका थिए । अन्ततः उनी सफल प्याराग्लाइडिङ्ग पाइलट बने र व्यवसायिक उडान भर्न सुरु गरे । २०१० देखि २०१५ सम्म उनले व्यवसायिक उडान गरे । त्यसपछि २०१५ मा किमुलस क्लाउड्स नेपाल कम्पनी संचालन गरेर प्याराग्लाइडिङ्ग प्रशिक्षकको रुपमा रहे।

पोखरा महानगरपालिका वडा नं १७ का उनी बुवा तीर्थराज अधिकारी र आमा मैया अधिकारीका का तीन सन्तान मध्येका जेठो सन्तान हुन् । उनले कम्प्युटरमा डिप्लोमा गरेका छन् । ग्राफिक्स डिजाइनमा पनि उनको राम्रो दख्खल रहेको छ ।

इण्डोनेशियामा हालै सम्पन्न एसियाली खेलुकद, एसियाडमा नेपाली प्याराग्लाइडिङ्ग पाइलट विमल अधिकारी (टिम क्याप्टेन) सहित विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विजय गौतमले टिम इभेन्टमा रजत पदक जिते । क्रस कन्ट्रि गेममा नेपालका लागि यो नै पहिलो र २० वर्षपछिको रजत पदक हो । नेपाली प्याराग्लाइडिङ्गको प्रशिक्षकमा योगेश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजर शैलेन्द्र राउत रहेका थिए ।

अन्तर्राष्ट्रिय अनुभवहरु


प्याराग्लाइडिङ्गमा लामो अनुभव बटुल्दै गएपछि उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागी हुने अवसरहरु मिल्दै गयो । २००९ मा थाइल्याण्ड प्रि–वर्ल्डकपमा सहभागी भए । उनको त्यो अन्तर्राष्ट्रिय पहिलो अनुभव हो । २०१२ मा फ्रान्समा ३ महिना उडानको तालिम लिए ।

२०१५ मा उनलाई कोलम्बियामा संसारको सबैभन्दा ठूलो च्याम्पियनसिप प्रतियोगीतमामा भाग लिने अवसर मिल्यो । त्यहाँ सहभागी हुने उनी पहिलो नेपाली पनि हुन् । विश्व पाइलट बरियता प्रणाली, डब्लुपिआरएसमा भाग लिन योग्यता पुगेको उनी मात्रै एक नेपाली थिए । त्यहाँ भाग लिन ४०० प्वोइन्ट तलकोले मात्र भाग लिन सक्थे । प्रत्येक दुई वर्षमा हुने यो च्याम्पियनसिपमा भाग लिएपछि बिमललाई थप आत्मविश्वासी र अनुभवी बनाउँदै लग्यो ।

२०१५ मा भारतमा भएको वर्ल्डकप प्याराग्लाइडिङ्गमा पनि भाग लिने उनी पहिलो नेपाली बने । २०१६ मा उनी इण्डोनेशियामा सिडि प्याराग्लाइडिङमा प्रि वल्ड कप टिममा १२ जनाको टिम क्याप्टेन बनेर प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए । २०१७ मा भने प्रशिक्षकको तालिममा सहभागी हुने अवसर मिल्यो ।

२०१८ मा चिनमा प्रि वर्ल्ड कपमा सहभागी भए । त्यसैगरी २०१८ मा इण्डोनेसियाको मोलागंमा प्याराग्लाइडिङ्ग अकुरेसी वर्ल्ड कपमा अहिलेको टिमसँगै पुगेका थिए । २०१८ मै इण्डोनेसियाको जकार्ता सम्पन्न १८ औँ एसियाली खेलकुदमा २० वर्षपछि नेपाललाई रजत पदक जिताउँदै उनको टिम स्वदेश फर्कियो ।

समाचारले नैतिक दबाब दियो


इण्डोनेसियाको जर्कातामा भइरहेको १८ औँ एसियाली खेलको समाचार नेपालका सञ्चार माध्यमले दिइरहेका थिए । त्यसैगरी सामाजिक सञ्जालमा पनि छाइरहेको थियो । खेलको तेस्रो दिन तेस्रो हुन सफल भएको टिम चौथो दिनमा दोस्रो भयो भने त्यसपछि फेरि चौथो स्थानमा झर्यो । यो नतिजाले कतिबेला खुशी बढाइदिन्थ्यो त कति बेला हतोत्साहि बनाइदिन्थ्यो । बिमल भन्छन् ‘जब समाचारहरु पदकको नजिक, जित्ने संभावना बढ्यो भनेर आउँथ्यो । मुटुको ढुकढुकी पनि बढ्थ्यो । एक प्रकार दबाब महसुस हुन्थ्यो । ’

‘धेरैको आशा कतै निराश पो हुनेहो कि भन्ने कुराले पिरोल्यो । केही पत्रकार साथिहरु फोटो खिच्न पनि आउनु भयो तर हामी फोटो खिच्न मानेनौँ । हामीलाई कसरी हुन्छ गेम जित्नु पर्छ भन्ने नैतिक दबाब बढ्दै गएको थियो । आम नेपालीको हामी माथिको विश्वास थियो । त्यसलाई टुट्न नदिन ठुलो जिम्मेवारी हाम्रो काँधमा आएको थियो । त्यो हाम्रो टिमले महसुस गरेको थियो ।’

प्रशिक्षक योगेश भट्टराईले बारम्बार हामीलाई उत्साह प्रदान गरिरहेका थिए । समाचारले आफूहरुलाई निकै नैतिक दबाब दिएको र त्यसलाई शक्तिमा बदलेर खेलेको बिमलले बताए ।

छोटो दूरीको कारण स्वर्ण पदक खोसियो


बिमलले भने, ‘हामी प्याराग्लाइडिङ्गका लागि उत्कृष्ट खेलाडी हौँ । किनभने विश्वको प्याराग्लाइडिङ्गमा उत्कृष्ट ५ भित्र पोखरा पनि पर्दछ । यस्तो घरेलु मैदानबाट हामीले नियमित अभ्यास गरिरहेका छौँ । तसर्थ लामो दूरीका लागि हामी पोख्त छौँ ।’

हरेक दिन मिड डाइरेक्टरले एउटा टास्क सेडुल (रुट) तयार गर्छन् र त्यहि रुटमा जिपिएसको साथ पाइलट उडान गर्नेु पर्छ । जुन खेलाडिले छोटो समयमा त्यो टास्क पुरा गर्छ त्यो नै पहिलो हुन पुग्छ ।

अन्तिम दिनको टास्क ३० किलोमिटरको थियो तर मौसमको कारणले मिड डाइरेक्टरले १४ किलोमिटरमा झार्यो । लामो दूरीमा अभ्यस्त भएका प्याराग्लाइडिङ्ग पाइलटलाई छोटो दूरीमा पर्फमेन्स गर्न केही असहज भयो । उनले भने, ‘जसले गर्दा जापानबाट २७ प्वाइन्टले हामी पछि पर्यौँ र रजत पदकमा चित्त बुझाउनु पर्यो । यदि ३० किलोमिटरमै भएको भए हामी ढुक्क र गर्वका साथ भन्छौ स्वर्ण पदक हाम्रो हातमा हुनेथियो ।’

वातावरणीय कुरा गर्नुपर्दा जकार्ताको बोगर पुन्चाक २ सय किलोमिटर टाढा टुरिज्म गन्तव्यमा हो । भूमध्य रेखामा भएकोले केही चर्को घाम रहे पनि अरु सामान्य नै छ । खेलाडीको खानपानपनि महत्वपूर्ण हुन्छ । अन्य देशका खेलाडीको पर्सनल कुकदेखि स्वास्थ्यकर्मी पनि साथमा सँगसँगै रहेको र आफूहरुले भने केही नपाएको उनले बताए । उनले भने, ‘हामीले बढि अपेक्षा पनि गरेका छैनौँ । राज्यले जुन दिन सक्छ त्यो दिन पक्कै गर्छ ।’

राज्यलाई मात्रै दोष लगाउने ठाउँ छैन


श्रीमतीका साथमा पदकसहित बिमल ।

तुलनात्मक रुपमा राज्यको प्याराग्लाइडिङ्ग खेल प्रति त्यति चासो बढेको छैन यो सत्य हो तर यसमा ठूलो लगानी चाहिन्छ । एक जनालाई १० देखि १५ लाख भेट्छ ।

ग्लाइडर, हियरनेस, रेस्क्यु प्यारासुट, प्रोपर गियर, हेलमेट लगायतका उपकरणहरु महंगा हुन्छन् । बिमलले भने, ‘क्यानोपीदेखि सबै साधनहरु आफैले जुटाउनुपर्छ, एउटा क्यानोपी २०० घण्टामात्र चल्छ, त्यसपछि नयाँ किन्नैपर्छ । यो महंगो खेल नै हो । जुन राज्यको पहुँच भन्दा टाढा छ ।’
बिमलले भने, ‘पाइलटलाई उड्न मन लाग्छ । राज्यले ग्लाइडर किनिदेला भनेर पाइलट कुरेर बस्नु पनि हुँदैन ।

यद्यपि अहिलेको उपलब्धीमा राज्यको योगदान छ । हामीलाई वैशाखदेखि दैनिक भत्ता उपलब्ध गराएर सम्पूर्ण व्यवस्था राज्यले गर्यो । यो वातावरण राज्य स्तरबाट नभएको भए हामीले आफ्नो क्षमतालाई प्रदर्शन गर्न अवसर पाउँदैनथ्यौँ ।’ उपलब्धीपछि राज्य पक्कै गम्भीर हुने र लगानी बढाउनेमा आशावादी रहेको उनले बताए ।

बिमल भन्छन्् ‘अबका दिनमा यस खेलले धेरैलाई आशा जगाइदिएको छ । खेलाडीको हौसला बढाइदिएको छ । प्याराग्लाइडिङ्गबाटै राष्ट्रको नाम विश्वभरि फैलाउने ठुलो धोको छ ।’

उनी आउँदो अक्टोबरमा प्रि वर्ल्डकपको लागि कोरिया जाँदैछन् । त्यसैगरी जनवरीमा कोलम्बियाको सिरिज अफ कम्पिटिशनमा फ्लाट ल्याण्ड थमर्लिङको अभ्यासको लागि पनि उनी जाने तयारीमा छन् ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्