निर्मला पन्तका बुवा

‘कुशे औँशीमा सबै छोरीहरुलाई आशिर्वाद- कसैको विश्वासमा नपर्नू, गलत साथीको संगत नगर्नू’

निर्मला पन्तका बुवा यज्ञराज पन्त र उनकी श्रीमति । तस्बिर : समाजिक सञ्जालबाट

काठमाडौँ- ‘छोरी मलाई भागी भागी नसताउ, काखमै आई सुटुक्कै बताऊ, तिमीलाई बाबाको माया कति लाग्छ रे?’ नेपाली चलचित्र ‘स्वर्ग’मा रहेको यो गीतले बाबा र छोरीबीचको मायामा जीवन्तता दिएको छ।

गीतको भावजस्तै बाबा छोरीको साइनो एक सुःखी परिवारका लागि निकै नै महत्वपूर्ण मानिन्छ, त्यसैले होला घरमा छोरी भएमा लक्ष्मीको आगमन भयो भनेर पूजा गर्ने चलन अहिले पनि यथावत छ। यो चलन सदियौँदेखि चलिआएको हो।

तर नेपाली समाजले पूजा गर्ने त्यही छोरीलाई १३ वर्षको कलिलो उमेरमा कसैले बलात्कार मात्रै गर्दैन, बलात्कारपछि हत्या पनि गर्छ, तब कल्पना गर्नुस् ती बुवाको मनमा कति दुःख लाग्ला? हामीले कल्पना मात्रै पनि गर्न नसक्ने यस्तो घटनामा पीडित बनेका छन् कञ्चनपुरका यज्ञराज पन्त । उनकी १३ वर्षीया छोरी निर्मला पन्तको साउन ९ गते बलात्कारपछि हत्या भए पनि अहिलेसम्म घटनाका दोषी पत्ता लाग्न सकेको छैन।

हुन त बलात्कारपछि हत्या भएको यो पहिलो घटना होइन, यस्ता घटना कैयौँपटक भएका छन् नेपाली समाजमा तर पछिल्लो पटकको यो घटना यसकारण पनि चर्चामा आयो किनभने, बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्न रहेका दोषीलाई राज्यका संयन्त्र नै जोगाउन लागेको आरोपसम्म लाग्यो।

त्यसका विरुद्ध पन्तका आफन्त मात्रै होइनन्, सिंगो जिल्लाका बासिन्दा आन्दोलनमा उत्रिए, प्रहरीले दमन गर्‍यो, गोली लागेर एक बालकको ज्यान गयो, धेरै घाइते भए। सरकारले अहिले विभिन्न तवरबाट उक्त घटनाको अनुसन्धान गरिरहेको छ र दोषीलाई कारबाही गरेरै छोड्ने आश्वासन सरकारी अधिकारीहरुले दिइरहेका छन्।

तर यो कहालीलाग्दो घटना सुन्नेहरुको मनमा त छटपटी हुने गरेर पीडाले ठाउँ पाउँछ भने पीडित बुवाको मन कति दुखिरहेको होला?

९ कक्षामा अध्ययनरत छोरीमाथि भएको यो क्रुर हत्याको घटनाले बुवा यज्ञराज पन्त डेढ महिनादेखि भावविह्वल छन् र घटनाका दोषी पत्ता लाग्ने होइनन कि भन्ने पिरलोले उनको छाती भतभती पोलिरहेको छ।

अब आफ्नी छोरीका हत्यारालाई कारबाही भएको देख्ने उनको एक मात्रै चाहना छ। ‘मलाई थाहा छ अब मेरी छोरी फर्केर आउँदिन तर उसका हत्यारालाई कारबाही नभएसम्म हामी परिवारका सदस्यहरु जिउँदै मरेतुल्य छौँ, त्यसैले जसरी हुन्छ छोरीका हत्यारालाई पत्ता लगाइदिनुपर्‍यो अनि मात्रै हाम्रो मन शान्त हुनेछ, म छोरीका हत्यारालाई कारबाही भएको आफ्नै आँखाले देख्न चाहन्छु,’ उनी भन्छन्।

‘अघिल्लो वर्ष सँगै बसेर बुवाको मुख हेर्ने दिन मनाएका थियौँ,’ यज्ञले अब बुवाको मुख हेर्ने दिनको कुरा निकाले र भने, ‘भोलि (आइतबार) के गर्ने होला ? गौरा पर्व पनि रोएरै मनायौँ।’

‘मेरो तीन जना छोरी हुन्, माइली निर्मलाले अघिल्लो वर्ष आफ्नै हातले स्याउ काटेर मलाई खुवाएकी हो,’ यज्ञले भक्कानिएर रुँदै भने, ‘मेरो सानो परिवारमाथि कुन पापीको आँखा लाग्यो, मेरो खुशी लुटेर लग्यो। म चाहन्छु यस्तो बिडम्वना, बज्रपात अरु कसैलाई नपरोस्, कुनै पनि बुवाले मेरो जस्तो दुःख नपाओस्।’

निर्मला पन्तले कोरेको चित्र । तस्बिर : देश सञ्चार

उनले अगाडि भने ‘मेरो छोरी सानै थिई, ठूलो भएपछि नर्स बन्छु भन्थी, नर्स पढ्न धेरै पैसा लाग्छ रे त्यो नसके म शिक्षक बन्छु अनि समाजसेवा गर्छु भन्थी सानै भएपनि उसमा समझदारीपन बढीसकेको थियो। चित्रकलामा उसको धेरै ठूलो रुचि थियो। उसले धेरै किसिमका चित्रहरु कोरेर कोठामा राखेकी छ। सायद बुवाको मुख हेर्ने दिनका उपहार सम्झेर मेरो छोरीले ती चित्रहरु मेरो लागि राखेको हुनुपर्छ,’ यज्ञले टेलिफोनमा यस्तो भन्दै गर्दा नजिकैबाट महिला रोएको आवाज सुनिँदै थियो। निर्मलाका बारेको यो कुरा सुनेर उनकी आमा रोएकी रहिछन्।

निर्मला पन्तकी आमा र बहिनीहरु । तस्बिर : देश सञ्चार ।

‘हाम्री छोरी त अब फर्केर आउँदिनन्,’ यज्ञराज मन बलियो पारेर भन्दै गए, ‘अब कसैकी छोरीचेलीले बलात्कारको शिकार हुनु नपरोस्। राज्यले आफ्ना नागरिकहरुको सुरक्षा गर्न सकोस्, नारी अस्मिताको रक्षा गर्न सकोस्, अपराधि जोगाउने प्रपञ्च कसैले रच्न नसकोस्, सबै नागरिकले समान न्याय पाऊन्।’

बलात्कारपछि हत्या भएकी छोरीको न्यायका लागि प्राप्त चौतर्फी समर्थनको यज्ञराजले सराहना गरेका छन्। ‘निर्मला मैले जन्माएको छोरी अवश्य हो तर अहिले सिंगो देशले नै उसका लागि न्याय मागिरहेको छ, निर्मलाले न्याय पाओस् अनि त्यो भन्दा अझ ठूलो कुरा यस्तो घटना दोहोरिएको सुन्न नपरोस्,’ उनले भने, ‘यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ।’

उनले जनताको सुरक्षाका लागि खटिने प्रहरी संगठनलाई सुधार गर्न पनि आग्रह गरेका छन्।

‘छोरी हराउने बित्तिकै हामीले प्रहरीलाई गुहारेका छौँ। समयमै प्रहरी खोजीका लागि खटिएको भए आज शायद मेरो छोरीको यो अवस्था हुने थिएन प्रहरीले उसलाई जिवितै उद्धार गर्न सक्ने ठाउँ थियो तर प्रहरीले कुनै चासो नदेखाउँदा मैले छोरी गुमाएँ,’ उनले भने ।

हुन त पन्त परिवारले प्रहरीसँग नजिक रहेको कुनै व्यक्तिले नै यो घटना घटाएका कारण अनुसन्धानमा प्रहरीले चासो नदिएको, प्रमाणहरु नष्ट गरेको, नक्कली अभियुक्त खडा गरेको लगायतका आरोप लगाउँदै आएका छन्।

सरकारले पछिल्लो पटक खटाएको अनुसन्धान टोलीले पनि यो बाहेक थप नयाँ कुरा अहिलेसम्म सार्वजनिक गरेको छैन। यसकारण कतै फेरि पनि अपराधी पत्ता नलाग्ने हो कि भन्ने चिन्ता पन्त परिवारमा मात्रै छैन।

‘मैले मात्रै होइन, मेरो परिवारले र आफन्तले मात्रै होइन, सिंगो समाज र मुलुकले नै निर्मलाका हत्यारालाई कारबाही भएको देख्न चाहेको छ, त्यसैले अब अनुसन्धानमा लापरबाही गरिनु हुँदैन, जतिसक्दो चाँडो प्रहरीले अपराधीलाई सार्वजनिक गरोस्,’ उनले भने।

यज्ञराजले आफ्नी छोरीको यस्तो कारुणिक र ह्दयविदारक हत्या होला भन्ने कल्पना पनि गरेका थिएनन्। त्यसैले समाजका अपराधिक मानसिकता भएका व्यक्तिहरुसँग सतर्क रहन उनको सुझाव छ।

‘समाजमा धेरै किसिमका मानिसहरु हुन्छन्, सबैको विश्वास गर्नुहुदैन। मेरो छोरीले पनि कोही न कोही नजिकका उसका पापी साथीको विश्वासमा परेर ज्यान गुमाउनुपर्‍यो, त्यसैले म सबै छोरीचेलीहरुलाई बुवाका हैसियतले आशिर्वाद दिन्छु। कसैको विश्वासमा नपर्नू, गलत साथीको संगत नगर्नू,’ उनले भने।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्