विदेशको कमाइले ‘सुपरमार्केट’

फाइल तस्बिर

दाङ – पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् ।

दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का टीकाराम रावत र घोराही–१८ का पूर्णबहादुर रोकामगरले विदेशबाट कमाएर ल्याएको पैसा संयुक्तरुपमा लगानी गरी जिल्लाकै ठूलो सुपरमार्केट सञ्चालन गरेका हुन् ।

टिमार्टमा खाद्यान्न, घरेलु प्रयोजनका सम्पूर्ण सामान, घरायसी, सौन्दर्य सामग्री, शैक्षिक साम्रगी, तरकारी, फलफूल, दूध, दही, मासु र तयारी नास्ताका परिकारसमेत पाइने सञ्चालक पूर्णबहादुर रोकामगरले बताए ।  टि–मार्टमा थप १३ जनालाई रोजगारीसमेत दिएको उनले बताए ।

टि–मार्टको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले उद्घाटन गरे । अहिले दाङमा रु २०÷२२ लाखदेखि दुई करोडसम्मको लगानीमा सुपरमार्केट सञ्चालनमा छन् । २०६७ सालमा घोराहीमा खुलेको जिल्लाकै पहिलो राप्ती सुपरमार्केट पछि ‘नुनदेखि सुन’ सम्म पाइने भएकै कारण सुपरमार्केटको लोकप्रियता बढ्दै छ ।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्