बेगनास तालमा डुबेका सातजनाको शव भेटियो, चालक रवि भेटिएनन्

पोखरा – चारैतिर तीजको रमझम छ । महिलाहरु रातो साडिमा सजिएर आआफ्नो साथिसंगी र आफन्तको जमघट हुँदै रमाइरहेका छन् । यस्तै मनमा उमंग साँचेर सपना माइती आएकी थिइन् । बिडम्बना शनिबार बेगनासतालमा भएको दुर्घटनाले सपनाका सबै सपनाहरु बेगनासतालको पानिमा विलिन गराइदियो । उनी आफू त बाँचिन तर सुन्दर सपनाका हकदार जसले उनलाई खुशी र सुखीको अनुभूति दिलाए उनीहरु उनकै आँखा अगाडि बेपत्ता भए ।

घटना शनिबार झण्डै १ बजे तिरको हो । गैडाकोटबाट परिवार सहित ससुरालि आएका रवि खनालले चलाएको डुंगा डुब्यो । सिकारु चालक, चुहिने डुंगा, क्षमता भन्दा बढि यात्रु र लाइफ ज्याकेट बिना डुंगा चलाउँदा दुर्घटना हुन पुग्यो । दुर्घटनामा अहिलेसम्म ७ जनाको ज्यान गएको छ एकजना अझै बेपत्ता छन् ।

दुई जनाको उद्धारपछि उपचार भइरहेको छ । ज्यान गुमाउनेमा पोखरा २८ कि कृष्ण कुमारी बजगाइ, पोखरा ३१ कि जमुना कँडेल, कालिकाका १८ वर्षीय मनिषा बजगाइ र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्र गुरुगंले जानकारी दिए ।
गैडाकोट घर भएकी सपना खनाल भने पौडिएर ज्यान बचाउन सफल भइन ।

बेपत्ता हुनेमा सपनाका श्रीमान रवि खनाल छन् । डुंगामा सवार बेगनासका ८ वर्षका प्राचिन पौडेल, ४ वर्षकी रञ्जीत गैह्रेको पनि शव भेटिएको छ । पोखरा ३१ बेगनासको लिब्दीदेखि सय मिटर वर डुंगा दुर्घटना भएको थियो । डुंगा चलाएको अनुभव नभएका रवि खनालले डुंगा चलाएका थिए । पाँच जना मात्र चढ्नु पर्ने डुंगामा १० जना सवार थिए । डुंगामा सवारहरु वेगनासकी कमल र शोभा कँडेलको घरमा दर खाने कार्यक्रममा सहभागि हुन जाँदै थिए ।

नेपाली सेनामा जागिरे रवि भर्खरै बढुवा भएका थिए । उनी बढुवाको खुशी मनाउन पोखरा आएको बताइएको छ । उनले अब पोखरामै घर किनेर यतै बस्ने तयारी गरेका थिए । त्यसका लागि दुईदिन अघि मात्रै उनले गैडाकोटको घर बेचेका थिए ।

सपानाका अनुसार रविले कहिल्यै डुंगा चलाएका थिएनन् तर आफै डुंगा चलाएर बेगनास घुम्न रहर सुनाएपछि उनले त्यस दिन आफै डुंगा चलाएका थिए । लिब्दी किनार आउन सय मिटर मात्र बाँकि थियो ।

अब त पार हुन लाग्यो भन्ने लागेको थियो तर डुंगाको पिँधमा पानि भरिएको थियो । पानी पसेपछि केटाकेटि यताउता गर्न थाले । डुँगा हल्लिन थाल्यो रवि पनि आत्तिए । सपनाले छोरा शिव र शंकरलाई च्याप्प समातिन् । रवि पनि डुंगा खियाउन छाडेर बच्चा बच्ची समात्न पुगे । यत्तिकैमा डुंगा कोल्टियो सबै तालमा परे ।

सपनाले केहि वेर त छोराहरुको साथ छोडिन अन्ततः उनी शिथिल भइन छोराहरु हातबाट फुत्के उनी जनतन उत्रन सफल भइन् । केहि पर देखिएका श्रीमान पनी उनको आँखा अगाडि विलाए । डुंगा व्यवसायी समितिका पदाधिकारी मार्फत उद्धार टोलि खटियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुंगा ब्यवसायि, स्थानीय सबै खोजि कार्यमा जुटेका छन् ।

घटनाले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । लाइफ ज्याकेटलाई अनिवार्य नगरिदाँ ठूलो दुर्घटना भयो । ६ वर्ष अघि पनि बेगनासमा डुंगा डुबेको थियो , त्यतिबेला लाइफ ज्याकेट लगाउने बाँचे भने नलागाउनेहरु डुबेँ । त्यसयता समितिले लाइफ ज्याकेट लगाउने नियम बनायो । यद्यपि पछिल्लो समय त्यसलाई कडाइ नगरी वेवास्ता गर्दा शनिबार फेरी अर्को ठूलो दुर्घटना भएको हो ।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्