पिताको अवहेलना गरेर कमाइएको प्रतिष्ठा कति दिन टिक्नु ?

मनोहरप्रसाद भट्टराई –

आज बाउको मुख हेर्ने दिन, गोकर्णे औंशी अनि कुशे औंशी पनि : शुभकामना !

मान्नेजति सबैलाई पिताको महत्व र गुणगान वा पिताप्रति गर्नुपर्ने कर्तव्यका विषयमा धेरैतिर धेरै कुरा लेखिएका छन् । सबै समेटेर लेख्न सकिन्न, सक्दिन । केही कुरा छुस्स लेखेर शुभकामना दिउँ कि जस्तो लाग्यो, त्यसैले कोर्दैछु ।

मनोहरप्रसाद भट्टराई

स्कन्दपुराणमा लेखिएको छ–“पिताको अवहेलना गरेर कमाइएको प्रतिष्ठा कति दिन टिक्नु ? टिक्दैन । त्यसैले पुत्रका लागि यही उचित छ कि उसले कहिल्यै पिताको अवहेलना नगरोस् ।

शरीर आदि दिनयोग्य जेजति वस्तु छन् ती वस्तु दिने एकमात्र व्यक्ति, पिता नै हुन्, त्यसैले पिताको आदेश मान्ने गर्नु । पिताको आदेश मान्ने पुत्रले पूर्वजन्ममा वा पहिले पहिले गरेका पाप पनि पखालिन्छन् । पिता स्वर्ग हुन्, पिता धर्म हुन्, पिता नै सर्वश्रेष्ठ तपस्या हुन् ।

पिता प्रसन्न भए सबै देवता प्रसन्न हुन्छन् । पिता प्रसन्न छन् भने पुत्रले गरेका सबै पापको प्रायश्चित हुन्छ, सबै थरी बन्धनबाट उ मुक्त हुन्छ । पुत्रलाई माया गरेर दुःख पाए पनि पितामा पुत्रप्रतिको स्नेह कहिल्यै कम हुँदैन । माता र पितामा यही फरक छ कि पिताले आफू व्यवहारिक भएर पुत्रलाई व्यवहार सिकाउन कठोरतापूर्वक माया गर्दछन् सतहमा देखाउँदैनन् तर माताको माया कमलो हुन्छ तत्काल द्रविभूत भइ हाल्दछ ।”

महाभारतको आदिपर्वमा भनिएको छ– जसले मातापिताको आज्ञा मान्दछ, तिनको हित चाहन्छ, तिनको इच्छा अनुसार चल्दछ, मातापिताप्रति पुत्रले गर्नुपर्ने व्यवहार गर्दछ त्यही नै वास्तवमा पुत्र हो । धेरै पुत्रमध्ये जुन पुत्र गुणी र सधैं मातापिताको हितैषी छ, उ कान्छो भएपनि श्रेष्ठ हुन्छ र उ नै सबै कल्याणको फल पाउने हुन्छ ।

पिताका पनि कर्तव्य हुन्छन् नि, महाभारत आदिपर्वमै भनिएको छ– जो आफैं आफूसमान पुत्र जन्माएर उसको सन्मान गर्दैन, त्यस्ताको सम्पत्तिलाई देवताले नष्ट पारि दिन्छन् । मरेपछि पनि उ उत्तम लोकमा जाँदैन ।

यसैगरी मनुस्मृति अध्याय ९ र विष्णुस्मृति अध्याय १५ ले पुत्रको अर्थ दिँदै भनेका छन् “पु” को अर्थ नरक र “त्र” को अर्थ बचाउने हुन्छ । आफैंलाई नरकमा पर्नबाट बचाउने आफ्नै रुप पुत्रको महत्व नबुझी जुन पिता पुत्रलाई हेंला गर्दछ उस्ले आफ्नै कुभलो गर्दछ ।

– मनोहरप्रसाद भट्टराईको फेसबुकबाट

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्