एक फरक बुवाको संसार

कुकुरका पिता भनिँदा गर्व गर्छन् प्रबिन

माया भन्ने कुरो पनि अचम्मको छ, कहाँ कोसँग वा केसँग बस्छ ख्यालै हुँदैन, तर यसको रुप जहिले अलौकिक र त्यसको आकार जहिले अनन्तः।

हामी यस्तै मायामा परेकाहरुकालाई भेटन् गएका थियौँ, ललितपुर सानेपा (रिङ्गरोड पारी, कांग्रेस पार्टी कार्यालय भन्दा केहीअघि)।
भेट्न गएका पात्र थिए, प्रबिन बज्राचार्य। खाइलाग्दो ज्यान छ, जीवन अस्तित्वमा आएको चार दशक पुग्न लाग्यो र उनी सम्बन्धहरुको सही अर्थ बुझाउने मायामा परेको दुई दशक भयो।

प्रबिनको माया कुकुरमा छ। उनको नाम नै कुकुरसँग जोडिएको छ। हामीले हुर्की बाँचेको समाजमा प्रायः ‘कुकुर’ को पहिचान गालीको रुपमा छ। तर संसार यस्तो पनि छ जहाँ कुकुर र कुकुरसँग जोडिनु सम्बन्धहरुको उत्कृष्टताको माथिल्लो माध्यम ठानिन्छ।

यस्तै मायालु पात्र हुन् प्रबिन, जसले कुकुरलाई आफ्नै सन्तान जसरी माया गर्छन्।

प्रबिनको कुकुर संसार


१७/१८ वर्षको हुँदादेखि थाहा पाउने गरेर प्रबिनलाई कुकुर सारो मन पर्न थालेको हो। संगीत पढेर संगीतमै लागेका थिए। आम्दानी राम्रो थियो। मन भने संगीत भन्दा कुकुरमा तानियो। अनि होमिए कुकुरकै स्याहारमा र बनाए आफ्नो छुट्टै ‘कुकुर संसार’। कुकुरलाई वात्सल्य र ममताको ओढाउन थाले।

यहाँ कुकुर संसारले गालीलाई संकेत गर्दैन। अझ, त्यो पनि स्वार्थ बिनाको मायालाई जनाउँछ प्रबिनको कुकुर संसारले।

उनको कुकुर संसार ‘के नाइन डग ट्रेनिङ्ग एण्ड केयर’ मा पुग्दा दिउँसोको साढे तीन हुँदै थियो। गेट खोलेर भित्र पस्ने बित्तिकै कोलाहाल सुरु भयो कुकुरको। नयाँ भएकाले हामीलाई देख्ने बित्तिकै भुक्न थाले प्रबिनको संसारका ती पात्रहरु। केही बेरपछि प्रबिन भित्रिए, गेटबाट घर पस्दै गर्दा उनले के भने कुन्नी कुकुरहरु चुप लागे। अनि उनैतिर हेर्न थाले।

केहीबरेपछि बाहिर आए र कुकुरहरुलाई उनीहरुका नाम लिँदै बोलाउन थाले। अनि मात्रै हामीसँगको कुराकानी उनको दोस्रो प्राथमिकतामा पर्‍यो।

खासमा प्रबिन कसैले फेसबुकमा पढाइदिएको कुकुरको तस्बिर (जसमा कुकुरको खुट्टा थिएन) हेर्दै त्यही कुकुर खोज्न गएका रहेछन्। लखतरान परेर फर्किएका प्रबिनमा थकाई भन्दा त्यो दुःख पाएको कुकुर नभेटिएको पीडाको प्रचुरता स्पष्टै बुझ्न सकिन्थ्यो।

उनको साथमा एक युवती पनि थिइन्। प्रबिनकै भनाईमा उनी झन खतरा कुकुर प्रेमी हुन्। नामः सुस्मिता रञ्जित, उमेरः २४ वर्ष, घरः बसन्तपुर, पेशाः कुकुर ब्युटिसियन।

सुन्दा अचम्म लाग्यो, कुकुर ब्युटिसियन, तर साँच्चै हो रहेछ उनले विदेशबाट कुकुरको स्याहार र उनीहरुको कपाल तथा नङ्गसहितको शृङ्गार र व्यवस्थापनबारे तालिम लिएर आएकी रहिछन् सुस्मिता।

अहिले प्रबिनसँग कुकुरको स्याहार, उद्धार र पालनपोषणमा व्यस्त छिन्। प्रबिनले उनलाई कुकुरलाई तालिम दिने तरिकाहरु पनि सिकाइरहेका छन्, सुस्मिता पनि सिक्दै छिन्। सुस्मितासँग परिचयको औपचारिकता पछि हामी हाम्रो विषयमा फर्कियौँ।

कुकुरसँगको स्नेहका कारण छोड्नु परेका धेरै सम्बन्धहरु रहेछन्। ती सम्बन्ध निर्वाह गर्न आफू असफल रहेको उनले सम्झिए।

अहिले के नाइन डग ट्रेनिङ्ग एण्ड केयर रहेको ठाउँ उनको पुर्ख्यौली घर हो, बुवाको आम्दानीको उपज। बसन्तरपुरमा बसोबास थियो तर उनले दुई दशकअघि कुकुरको घर बनाउने भन्दै सानेपाको घर बुवासँग मागे। बुवाले दिएनन्। उनले टहरो बनाएर त्यहीँ बसे। त्यो कुकुरको घर पनि बन्यो, अव्यवस्थित।

पहिले नपाएको ठाउँ नै अहिले ‘डग सेल्टर’ बनेको छ। यो उपलब्धीले आफ्नो जीवन धन्य भएजस्तो लाग्छ प्रबिनलाई।

यो सम्बन्धका लागि कुँड्याउनु परेका अरु सम्बन्धहरु


प्रबिनको पेशा कुकुरकै वरिपरी घुम्छ। उनको बिहान कुकुरबाटै सुरु हुन्छ र राति अबेरपछि कुकुरमै अन्त्य हुन्छ। उनको माझिएको छ। यो सम्बन्ध फैलिँदै जाँदा उनका अरु धेरै सम्बन्धहरु भने कुँडिएको छ।

बुवासँग अहिले पनि त्यति राम्रो छैन। अहिले पनि कुकुरको काम गर्ने भनेर होच्याउने नजरले हेरे जस्तो लाग्छ बुवाले उनलाई। तर आमाले भने जहिले साथ दिइन् । भन्छन्, ‘आमाले चाहिँ तैँले मन लागेको गर भन्नुभयो, उहाँको साथ छ।’

श्रीमतीलाई खासै समय दिन भ्याएका छैनन्। नातागोता, इष्टमित्र अनि चाडपर्व वा भनौँ मर्दापर्दा पनि उनी खासै पारिवारिक रुपमा भेला हुन भ्याउँदैनन्। ‘यी सम्बन्धहरु स्याहार्न खोज्दा यता कुकुरले दुःख पाउँछन्, कुकुरको दुःख म हेर्न सक्दिन’, प्रबिनले अमिलो बन्दै गएका केही सम्बन्धहरुका कारण उप्काए अलिअलि।

सबैभन्दा गारो उनका दाइको केही वर्षअघि मृत्यु हुँदा भयो। उनले त्यो अप्ठ्यारो सम्झिए, ‘तीन वर्षअघिको कुरो हो, दाइको मृत्यु भयो, अस्पतालमा शव थियो। आमालाई भनेको थिएन। दाइको शव अस्पतालमै छोडेर म यहाँ कुकुरहरुलाई खुवाउन आएँ। त्यति मात्रै कहाँ हो र, किरिया बसिरहेका बेला कसैलाई नभनी यहाँ आएर यिनीहरुलाई मासु दिन्थेँ। उनीहरुलाई खुशी राख्नु मेरो धर्म बनेको थियो।’

विशेष गरी हिन्दु संस्कारमा जुठो परेका बेला (घरमा कसैको निधन भएको समय) माछा मासु खान नहुने वा कुकुर–बिरालोसहितका प्राणीसँग छोइन नहुने चलन छ। तर प्रबिनले त्यसलाई पनि तोड्नु परेको छ। दाइको मृत्युका बेला पनि ढाँटेर आउनु पर्दा साँच्चै नराम्रै कामका पो गरेको रैछुको जस्तो पनि नलागेको हाइन उनलाई। तर कुकुरले भुकेपछि त्यो सबै उडिजान्थ्यो।

कुकुरका बा भन्दा रिस उठ्दैन


प्रबिनका दुई वर्षका छोरा छन्। हुर्किँदै छन्, तर उनलाई आफ्नो अंश परेका छोरा मात्रै आफ्ना सन्तान हुन् जस्तो लाग्दैन। हुर्काएका, उद्धार गरेका वा सबै कुकुरहरु आफ्ना सन्तान जस्तो लाग्छ उनलाई। आमा र बाको मायामा ममता हुन्छ, वात्सल्य हुन्छ।

प्रबिनले सुनाए ‘हुन त मेरो छोरा पनि छ। तर उ मात्रै होइन, यी सबै मेरा सन्तान जस्तो लाग्छ। आफ्ना हुन् यिनीहरु, मेरो केही छ जस्तो लाग्छ।’

कुकुरका बा भनेर कसैले भन्यो भने कस्तो लाग्छ? भन्दा उनको अनुहारको चमक फरक बन्यो तत्काल। र भने, ‘कहाँ रिस उठ्नु, राम्रो लाग्छ नि, मलाई त कतिले प्रबिन भन्दा पनि कुकुर प्रबिन भनेर चिन्छन्।’

बस कुकुर पाल्नेले अलिकति समय दिनु पर्ने उनले बताए। उनले भन्दै गए, ‘छोराछोरी जन्मिएपछि हुर्काउने बेलासम्म कति मेहतन गर्छौँ । कुकुरका लागि त्यति गर्नु पर्दैन, दिनको १० मिनेट जति सिकायो भने धेरै सिक्छ र बाँचुन्जेल माया गर्छ कुनै स्वार्थ बिना।’

प्रबिनले कुराकानीको अन्त्य तिर भनेका थिए, ‘कुकुरले मलाई जीवन सिकाएको छ, सम्बन्ध बुझाएको छ र संघर्षको राम्रो पाठ दिएको छ । यी मेरा आफ्ना हुन्, सन्तान हुन् र त्यो भन्दा बढी जीवन–गुरु हुन् ।’

यति भनेर प्रबिन काममा व्यस्त भए । उनलाई भेट्न भनिमण्डलका दीपक र शोभा रिसाल आएका थिए । आफूले जन्माएका सन्तानलाई भेट्न अमेरिका जानु परेछ, अनि ८ वर्षअघि लगेको कुकुर सन्तान (गोरे) का लागि आश्रय खोज्दै प्रबिनसम्म पुगेका उनीहरु ।

प्रबिन गोरेका बुवाआमासँग व्यस्त भए, हामी प्रबिनका सन्तानहरुलाई केहीकेर हेरेर फर्कियौँ ।

सबै तस्बिरहरु : प्रभात खनाल/देश सञ्चार

भदौ २४, २०७५ मा प्रकाशित