उपन्यासकार बुद्धिसागर। तस्बिरहरु: प्रभात खनाल
उपन्यासकार बुद्धिसागरका बुबा सम्झनाहरु

‘बुवा जिउँदै भएको भए मैले कर्णाली ब्‍लुज लेख्‍न सक्ने थिइनँ’

चार वर्ष अगाडि गण्डकी अस्पताल पोखरामा बुद्धिसागरकी छोरी जन्मिइन्। छोरी ‘कृतिका’लाई जन्मेको लगभग १५ मिनेट पछि उनले आफ्नो हातमा लिन पाए। ‘छोरीको अनुहार हेर्ने बित्तिकै मैले आमाको अनुहार सम्झेँ र फोन गरेँ,’ बुद्धिसागरकी आमा सुर्खेतमा थिइन्, ‘तपाईको सम्झना आयो’ भनेको आमाले ‘अब थाहा पाउछस् आमाको महत्व’ भन्नुभयो।’

यो प्रकृतिको खेल नै त्यस्तै, हरेक क्षणलाई अनुभूत गर्न दिने। समयचत्रले घुमाई घुमाई जीवनमा बन्न पर्ने हरेक पात्र बनाइदिन्छ, बिना रिहर्सल। कुनै दिन छोरा, दाजु, भाई, श्रीमान् र आफैँ अभिभावक पनि। समयसँगै फेरिँदै जाँने रुपले अतीतलाई ताजा गराउँछ र केही बोध पनि।

‘बाबु आमालाई आफू जति छोरा भएर माया गरिँदो रहेछ, त्यो भन्दा धेरै आफू बाबु बनेपछि गरिने रहेछ। बाबु आमाको महत्व पनि आफू बाबु आमा बनेपछि अझ धेरै थाहा हुने रै’छ।’

सन्तान जन्मेपछि जिम्मेवारीको व्यवहारिक अनुभूति हुन्छ, कसरी हुर्काए, कसरी खुवाए, सानो सानो क्रियाकलापमा कसरी ख्याल राखे र कति रात अनिन्द्रामा गुजारे, यस्तै भन्छन् बुद्धिसागर। ‘बच्चा भएको पहिलो वर्ष ४० दिन बाबुआमा चाँहि सुत्दैनन् रे।’ बुद्धिसागर बाबा हुँदाको स्मृति साट्न थाले।

‘छोरा मध्येमा म कान्छो, अलि बदमास नै थिएँ, साइकल चलाउने धुन सवार भएको बेलामा बाबा चढ्ने साइकलको हावा फुस्काइदिन्थ्यौँ, बाबा कार्यालय जाँदा हिँडेर जानुहुन्थ्यो, दिउँसो हामी साइकल चलाउथ्यौँ,’ बुद्धिसागर भन्न थाले, ‘एकपल्ट बाबाले राखेको पैसामा ३०० रुपैयाँ कम भएछ, हामी दाजुभाइले भक्कु कुटाइ खायौँ। तर दिउँसो एक व्यक्तिले पैसा फिर्ता गरेछन्। बुबाले सापटी दिएको भुल्नुभएछ। घर फर्कँदा उहाँको अनुहार मलिनो थियो, ग्लानि भएको जस्तो। त्यो दिनदेखि हामीलाई कहिले पनि कुट्नु भएन।’

साहित्यकार बुद्धिसागरको ‘कर्णाली ब्लुज’ जीवन र मृत्युको संघारमा भएका पिता र उसलाई अवलोकन गर्ने छोराको कथा हो। बुद्धिसागरले आफ्नै कथालाई मिसाएर कर्णालीको हावापानी, रहनसहनलाई पुस्तकको रुपमा ढालेका छन्। ‘यसलाई ५०, ५० प्रतिशत भनेर भाग लगाए हुन्छ। धेरै यथार्थ घटना तर सबै मेरो जीवनमा मात्र भइपरेको भने होइन।’

बुद्धिसागर आफूले कथा लेख्दा पनि जुन कुरालाई पिँधबाट अनुभूत गर्न सकिन्छ, त्यसैलाई लेख्न सकिने बताउँछन्। ‘किताबको संख्या थप्ने मात्र हैन, जुन चिज महसुस गरेँ, जुन पात्रलाई आत्मसात गरेँ, त्यसलाई भविष्यमा अरुले पनि महसुस गरुन् भन्ने हो।’

उनी आफू दर्शन बाँड्दै हिड्ने अथवा तर्क गर्ने हैन भन्ने बताउँछन्। उनी आफ्ना भावनालाई कलमको माध्यमले कापीमा सार्छन्। बुद्धिसागर पत्रकारिता गर्थे, साथै साहित्यमा पनि कलम चलाउथेँ। उनको एकएकवटा गजल र कवितासंग्रह प्रकाशित भइसकेका छन्।

‘साथीभाई सर्कलमा मेरो लेखाइ उपन्यासको लागि ठीक छ भन्ने खालका कुरा हुन्थे तर प्रयास निकै पछि मात्र भयो।’

अस्पतालको दृश्यले जन्माएको उपन्यास


कर्णाली व्लुज बुद्धिसागरले धेरै भोगेर महशुस गरेको कथा हो। ‘म पाँच वर्षपछि बाबालाई भेट्दै थिए, काठमाडौँ आउँदा बाबा धेरै हृष्टपुष्ट थिए, मुस्कुराइरहेको अनुहार थियो। तर त्यतिबेला उनी सार्‍है कमजोर।’

आफ्नासँग ससाना कुरामा जोडिएका स्नेह र पीरको व्याख्या भयो। जसलाई कहिलेकाहिँ कल्पना गरिएको भन्दा फरक स्वरुपमा भेटिन्छ। बुद्धिसागरले बाबा बिरामी छन् भन्ने थाहा पाउँदा सामान्य होला भन्ने लागेको थियो तर उहाँलाई जटिल समस्या भएको रहेछ। ‘उहाँले मेरो उपस्थिति अनुभूति गर्नु भयो कि भएन नै थाहा छैन।’

उनले कल्पना गरेको अर्को कुरा पनि मिलेन, ‘मैले सोँचे त्यहाँ मेरो बाबालाई स्याहार सुसार गर्ने धेरै जना छन्, डाक्टरले पनि धेरै सोधिखोजी गर्छा् होला तर कोहलपुर अस्पतालमा म पुग्दा त्यहाँ कोठैभरि बिरामी भरिएका थिए, हेर्दै जाँदा बाबालाई चिनिन।’ त्यतिबेला अस्पतालमा सबै बिरामीका कुरुवा थिए रे तर एक व्यक्तिको मात्र बिरामी कुरुवा थिएनन्, तिनै नै उनका बाबा रहेछन्। ‘होइन कि भन्दै हेरेँ, एकदमै दुब्लो पातलो अस्थिपञ्जर जस्तो देखेँ, त्यो बेला मेरो मन कटक्क गर्‍यो।’

त्यो रात अस्पतालमा बस्दा बुद्धिसागरले बाल्यकालको पुन यात्रा गरे। आफ्नै बगलमा सुस्ताएका बाबासँग लडीबुडी गरेर हुर्किएको बालापन। ‘मलाई झलझली सानोमा ‘बुवा घर आउने बेला भो’ भनेपछि बाबाको साइकलमा बसेर आउन पाइन्छ भनेर अलि परसम्म लिन पुगेको याद आयो। म पछाडि बस्थेँ, बाबाले लगाएको इस्टकोट चराको पखेटा जस्तै फ्याट् फ्याट गर्दै उड्थ्यो।’

त्यो रात कर्णाली ब्लुजमा व्याख्या भएको दिनचर्या जस्तै उनको मानसपटल भयो, जसले घरि भूतकालमा पुर्‍याउँथ्यो त घरि वर्तमानकालमा। ‘मलाई कर्णाली ब्लुजको बिज त्यहाँ रोपियो जस्तो लाग्छ।’

बुबाको अभाव पनि खड्किन्छ उनलाई। तर अलि फरक हिसाबले उनी बाबासँग जोडिइरहेँ। ‘बाबा हुँदादेखि नै म लेखक हुन्छु भन्ने त थियो। अहिले अलि नाम पनि भयो, बाबाको अभाव खड्किन्छ तर बाबासँगैको स्मृतिको अभिव्यक्तिले मलाई उहाँसँग जोडिरहेको छ।’ उनको सिर्जनालाई बाबाले कदर पनि गर्थे, तर उनी भन्छन्, ‘बाबा अहिले जिउँदै भइरहेको भए मैले कर्णाली ब्लुज लेख्ने थिइन। पाठकलाई जति छुनु पर्ने त्यति छुने थिएन होला।’

उनी भन्छन्, ‘जीवन यस्तै नै रहेछ, एउटा न एउटा तुस लिएर बाँच्नुपर्ने, तिर्खासँग बाँच्नुपर्ने।

उनका बुबा मेडिकलमा काम गर्थे, तर चिना पनि हेर्थे। ‘बाबासँग दर्शनको ज्ञान पनि थियो। इतिहासको ज्ञान, विज्ञानको ज्ञान, भजन गाउने कला थियो। बाबाको सिर्जनशीलता म सम्झिरहन्छु।’

उनको बाबा पढेर हैन, परेर व्यवहारिक थिए। ‘गोजीमा पैसा भएन भने छोरा मान्छेलाई ह्याउ आउँदैन’, उनले बाबाको बोली सम्झेँ, ‘गोजी खाली हुन दिनु भएन ताकि मलाई सजिलो होस्।’ उनी सपनामा पनि बाबा देख्छन्, धेरै त्यो बेलामा जब आर्थिक बढिरहेको हुन्छ। ‘बैँकमा ब्यालेन्स कम हुँदा म बाबाले सपनामा पैसा दिएको देख्छु।’

समय परिवेश बदलिएको छ, उनी परिवर्तित समय र सन्तान अभिभावको सम्बन्ध व्याख्या गर्न थाले, ‘एक समय हुन्छ बच्चा स्कूलबाट घर फर्केर आउँदा आमालाई देखेन भने अत्तालिन्छ। बिस्तारै हुर्कदै जाँदा बालबालिका बच्चाहरुसँग टाढा हुन्छन्। अहिले होटल रेष्टुरेन्टमा ‘बाउले मेरो कुरै बुझ्दैनन्’ भन्ने वाक्य सुनिन्छ। घर जान मन लाग्दैन, यो त्यो। हामी सानो तुस मनमा लिएर बा आमाबाट टाढा भइरहेको हुन्छौँ। बाउले किन बुझेन भनेर छोराले पनि बुझाउने कोशिस गर्दैनन् र छोराको बारेमा बाबाआमा धेरै बुझ्न नखोज्ने।’

उनको बुबाले पनि एक समय उनले रोजेको बाटोमा हिँड्न प्रोत्साहन गरेनन्। ‘रेडियो पत्रिकामा नाम मात्र आउँछ, तर पैसा कमाउँदैनन् भन्ने लागेछ।’ सायद बुबालाई जीविका कसरी चलाउँछ भन्‍ने लाग्यो होला। त्यतिबेला यति सम्भावना पनि थिएन। तर उनको बाटो मोडिनेवाला थिएन। यसै कारणले केही समय घर परिवारसँग सम्पर्क पनि टुटेको थियो।

त्यसपछि काठमाडौँमा धेरै दुख भयो, उनीहरु घर फर्काउन चाहन्थे। ‘एक वर्ष काठमाडौँमा मैले के गरेको छु, मेरो रुचि के हो भन्ने बारेमा सबै परिवारका सदस्य राखेर मैले मेरो कुरा बुझाएँ। यो कुरामा उहाँहरु राजी पनि हुनुभयो।’ उनी भन्छन्, ‘कम्युनिकेसन ग्याप भयो।’

उनले लेखेको ‘कर्णाली ब्लुज’ अनि ‘फिरफिरे’ नेपाली साहित्य जगतमा एउटा स्मृति छोडेका पुस्तक हुन्, उनी अहिले फिल्मको स्क्रिप्ट पनि लेख्दै छन्। ‘मेरो लेखाइको थेम भावना हो, जो सधैँ सबैमा हुन्छ, कर्णाली ब्लुज र फिरफिरे जस्तै अर्को भावनाले पुस्तकको स्वरुप नलेला भन्‍न सकिन्‍न।’

भदौ २४, २०७५ मा प्रकाशित