पुल नबन्दा फेदाप र आठराईका बासिन्दा मारमा

तेह्रथुम- तेह्रथुम जिल्लाको खोरङ्वा खोलामा मोटोरेबल पुल बन्‍न नसक्दा फेदाप र आठराई गाउपालिकासहित म्याङलुङ सदरमुकामका बासिन्दा मर्कामा परेका छन्।

दुइ गाउपालिका र सदरमुकाम म्याङलुङलाई जोड्ने सो खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो। हल सो पुलमा जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल प्रयोग गर्न बाध्य छन्।

खोलामा मोटोरेबल पुल नहुँदा म्याङलुङ नगरपालिकाको साब्ला र फेदापको ओयाक्जुङ जोडिएको झोलुङ्गे पुलबाट हाल स्थानीय कष्टपुर्ण यात्रा गर्न बाध्य छन्। बर्षायाममा मात्र नभएर हैन अन्य महिनामा पनि यस झोलुङ्गे पुलबाट स्थानीयबासीले जोखिम मोलेर मोटरसाइकल तार्ने गरेको आठराई गाउँपालिका खाम्लालुङका यामजाथ दाहाल बताए।

खोलाको बाटोमा डुबिने डरका कारण स्थानीयले झोलुङ्गे पुल नै अधिक रुपमा स्थानीयले प्रयोग गर्दै आएकाछन्। खोलाको पानीको बहाबले मोटरसाइकल तार्न समस्या हुने भएकोले पुलबाटै दैनिक दुई दर्जन बढी मोटरसाईकल वारीपारी गर्ने गरेका छन्।

चालिस वर्ष पुरानो झोलुङ्गे पुल जीर्ण भएको र दुवै तर्फको गोरेटो बाटो साँगुरो भएपछि मोटरसाईकल सवार घाईते हुने गरेका छन्।पुलमा राखिएको काठ समेत मक्किएको अवस्थामा रहेको छ।

तत्कालिन जिल्ला बिकास समिति तेह्रथुमले पुलको रेखदेखको व्यवस्था गरेर रेखदेख गर्दै थिए।तर, हाल सो कार्यपनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयको रहेको छ।साबिक १२ वटा गाउँपालिका स्थानीय सदरमुकाम म्याङलुङ आउजाउ गर्न यही पुलबाट आवतजावत गर्दछन्।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्