अन्तिम विकल्प होइन आत्महत्या

मर्न चाहँदैनन् आत्महत्या गर्नेहरु

काठमाडौँ – आफैले आफूलाई हानी गर्ने र आफ्नै ज्यान लिनुको रुप आत्महत्या हो । आत्महत्या सरुवा होइन र यसलाई रोक्न सकिन्छ । यसका लागि सचेतना आवश्यक छ र आफैलाई हानी गर्न उक्साउने वातावरणलाई हटाउनु पर्ने मनोविमर्शकर्ताले बताएका छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाको आत्महत्यका कारण ज्यान जाने गरेको छ । नेपाल पनि आत्महत्याको दर उच्च रहेको छ ।

आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् । आत्महत्याका लागि खेतबारीमा हालिने बिसादी, डोरीको सहायताले झुण्डिने तथा आगो लगाउने बढी प्रयोग गरिएको छ ।

आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवाहरुमा बढी रहेको छ । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेकाले जनचेतनाको खाँचो रहेको छ ।

सहयोग गरौँ


प्रायः आत्महत्या तत्कालको निर्णयबाट नभइर लामो सोच र तयारीपछि मात्रै हुने गरेको छ । आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग गरेमा उनीहरुको जीवन रक्षा गर्न सकिने मेडिकल साइकोलोजिस्ट अन्जन ढकालले बताएका छन् ।

आत्महत्याको सोच बनाएको व्यक्तिले सहयोगका लागि गुहार नलगाउने भएकाले उसको नजिकका व्यक्तिले बुझेर सहयोग गर्नु पर्ने हुन्छ । आत्महत्याको सोच बनाएकाहरुले सहयोग चाहन्छन् तर त्यसका लागि तत्परता भने देखाउँदैनन् ।

आफ्नै ज्यान लिने व्यक्तिहरु मर्न चाहेका हुँदैनन्, मात्रै उनीहरु पीडाबाट मुक्ति चाहन्छन् । यस्तोमा उनीहरुको पीडा हटाउने विकल्प खोज्नमा सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ ।

आफूले चिने जानेका साथी वा परिवारका सदस्यमा आत्महत्याको सोच आएको थाहा पाएमा त्यसबारे कुरा गर्न हिचकिचाउने बानी रहेको छ । तर यसबारे कुरा गरेमा धेरै समस्या समाधान हुने मेडिकल साइकोलोजिस्ट ढकालले बताए ।

आत्महत्याबारे बुझौँ


व्यक्तिले अरु कुनै विकल्प नदेखेपछि अन्तिम विकल्पको रुपमा आत्महत्यालाई रोज्ने गरेका छन् । आत्महत्याको सोच आएका व्यक्तिलाई साथी, परिवार र समाजका व्यक्तिले आशको अलिकति उज्यालो मात्रै देखाउन सके आफ्नै ज्यान लिने विचार त्याग्छन् ।

समस्याबाट भाग्ने निराशाजनक विकल्पका आत्महत्या भएकाले व्यक्तिलाई समस्या समाधानको सकारात्मक विकल्पको खोजी गर्न सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ ।

आत्महत्या गर्न चाहने व्यक्तिले केही न केही छनक दिने भएकाले त्यसलाई बुझेर समयमै निराकरणको उपाय अपनाउनु पर्ने मेडिकल साइकोलोजिस्ट ढकालले भनाई छ ।

आत्महत्या एकमात्रै नभइ जैविक, मानसिक र सामाजिक कारणले हुने गरेका छन् । दीर्घरोग, वंशाणुगत कारण, मानसिक रोग, डिप्रेशन, चिन्ता, गरिबी, बेरोजगारी, सपनाको बाटोमा अवरोधसहितका कारणले आत्महत्या हुने गरेको छ ।

यस्तै व्यक्तिको विचार, सोचाइ, सिकाईसहितले पनि आत्महत्याको जोखिम कस्तो छ भन्ने देखाउँछ।

आत्महत्याका संकेतहरु


आत्महत्या गर्न चाहने व्यक्तिले जहिले पनि केही न केही संकेत दिएको हुन्छ । उसको नजिक रहेका व्यक्तिहरुले त्यस्ता संकेतलाई बुझेर सहयोग गरेमा आत्महत्या रोकिन्छ ।

आत्महत्याको सोच आएका व्यक्तिले बारम्बार मर्ने बारे बोल्ने गरेका हुन्छन् । यस्तै हानी गर्ने खालका सामग्रीहरुको खोजी पनि उनीहरुले गर्ने गरेका हुन्छन् । उनीहरुमा मृत्युमा गहिरो लगाब देखिन्छ ।

भविष्यबारे आशावादी कुरा नगर्ने, आफूलाई मन नपराउने वा आफैलाई घृणा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्यबाट बाहिर जाने, बिदाईका कुरा गर्ने तथा अप्रत्यासित रुपमा शान्त हुनेसहितका लक्ष्यणहरु देखिन्छन् ।

यस्तो देखिएमा उनीहरुलाई सहयोग गनुपर्ने मनोविमर्शकर्ताले बताएका छन् ।

आत्महत्याको सुरक्षा


आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग सबैभन्दा खाँचो परेको विषय हो । त्यस्ता व्यक्तिले आफैले सहयोगको याचना नगरे पनि सहयोगको आश भने गरेका हुन्छन् । यस कारणले नजिकका साथी, परिवारका सदस्य तथा वरपरका व्यक्तिले सहयोगका लागि पहल गर्नु पर्छ ।

आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग गर्नेले त्यो सोच आफैमा आएको जस्तो गरी उनीहरुलाई त्यसबाट बाहिर आउने उपाय छन् भन्न सक्नु पर्छ ।

यस्तै उनीहरुको सोचको सम्मानसहित अरु विकल्पको खोजी गर्न सहयोग गर्न सकिने मेडिकल साइकोलोजिस्ट अन्जन ढकालले बताए । विशेषगरी साथी, परिवार र समग्रमा समाजले नै यसको नेतृत्व लिनु पर्ने उनले बताए ।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्