कांग्रेसको मेलमिलाप नीति र प्रचण्ड रणनीति

केशवप्रसाद भट्टराई –

१) वीपी कोइरालाको एक सय पाँचौँ जन्म जयन्तीको अवअवसरमा भारतीय आशिर्वादमा माओवादीसँग भएको १२ बुँदे सम्झौता र मूलरूपमा माओवादीको हतियारकै छहारीमा सम्पन्न ६२/६३को जन आन्दोलन हुँदै मुलुकलाई गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामा लगिएको घटनाक्रमलाई पनि कांग्रेसका नेताहरूले वीपीको राष्ट्रिय मेलमिलापको नीति अनुरूपनै भएको महान दाबी गरे ।

२) चितवनमा माओवादी र गोर्खामा पूर्व माओवादीलाई कांग्रेसले भोट हाल्नु त झन् त्यसको सुन्दर पक्ष भैगयो । वीपी कोइरालाको राष्ट्रिय मेलनीतिको नयाँ व्याख्याता रहिआएका पौडेल, सिटौला , निधि र गिरीहरूले शान्तिको नाउमा अब कुनै दिन सीके राउतसँगको सहकार्यलाई पनि राष्ट्रिय मेल नीति भनेमा नौलो मान्नु पर्ने अवस्था रहेन ।

३) कांग्रेस महान प्रजातन्त्रवादी दल हो । त्यसैले पार्टीको चुनाव हारे पनि र जनता माझको चुनाव हारे पनि पार्टीको प्रमुख नेतृत्वमा रहिरहन पाइने दल सम्भवत नेपाली कांग्रेस मात्रै हो ।

४) ओली पहिला अडान लिने तर पछि गएर आत्मसमर्पणगर्ने नेतामा रूपान्तरित भएका छन् भन्ने अवसर आए जे पनि भन्ने र गर्न परे जे पनि गर्ने परिचय बनाएका छन् उनले । त्यसैले उनले के भन्छन र के गर्दछन भन्ने कुरामा कुनै पूर्वानुमान गर्न सकिने अवस्था छैन ।

५) भूमिगत आन्दोलनमा रहेको बेलामा सार्वजनिक प्रस्तुती र व्यवहारमा फरक हुन सक्दछ तर मुलुकका प्रधानमन्त्रीले दबाब आउने बित्तिकै निर्णय, विचार र दृष्टि फेर्न थाल्ने हो भने उनको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयतामा ह्राश आउने र सरकार सङ्कटमा फस्ने सम्भावना बढ्दै जान्छ ।

६) पूर्व एमाले र माओवादीले गएका स्थानीय, प्रदेश र केन्द्रियस्तरमा भएको निर्वाचनमा जनताले मूलतः ओलीको नेतृत्वमाथि विश्वास गरेका हुन् । झलनाथ खनाल र वामदेव गौत्तम जस्ता नेकपाका नेताहरू पाँच वर्षसम्म ओलीकै नेतृत्वको सरकार रहन्छ भन्न सकिरहेका छैनन । पार्टीकै नेतृत्वको सरकार रहन्छ तर व्यक्ति फेरिन सक्दछ भन्ने कुरा उनीहरू व्यक्त गरिरहेका छन् । पाँच वर्षको अवधिमा उही पार्टीको पाँच वटा प्रधानमन्त्री भए पनि त्यसले राजनीतिक स्थिरतामा असर पर्दैन भन्ने उनीहरूको मत देखिन्छ । झलनाथ र वामदेवको सहयोगमा प्रचण्डले आआफ्नो नेतृत्वको सरकारकोलागि गृहकार्य गर्न थालिसकेको बुझाउने घटना र सन्दर्भ प्रदर्शन हुन थालिसकेको छ ।

७) माधव नेपाल नेतृत्वको सरकारलाई विस्थापित गर्नमा झलनाथ खनालले नै नेतृत्व गरेका थिए । आफ्नो दल समेत सहभागी सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउन र आफ्नो दल संलग्न सरकारको सहयात्री दल विरुद्ध सरकारमा रहँदा रहँदै विपक्षी दलसँग सहकार्य गर्ने प्रचण्डकालागि राजनीतिमा सबै कुरा ग्राह्य छन् भन्ने कुरा उनले बारम्बार प्रष्ट पारेका छन् । आफ्नै दलका बाबुराम नेतृत्वको सरकार हटाउने पनि मूलतः प्रचण्ड नै हुन् नी । नेपालमा भारत विरूद्ध सुरुङ्ग युद्ध गर्ने घोषणा गर्ने र त्यसै बखत भारत सरकारका उच्चाधिकारीहरूसँग नेपालमा राज सँस्था अन्त्य को लागि सम्झौता गर्न पनि उनी सक्दछन ।

८) जति अभाव भए पनि र देखिए पनि , प्राविधिकरूपमा ओली नेकपा संसदीय दलको नेता भएकाले प्रधानमन्त्री भए पनि जनताले त ओलीलाई नै प्रधानमन्त्री चुनेका हुन् ।

केशवप्रसाद भट्टराईको फेसबुकबाट

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्