वैदेशिक रोजगारका महत्वपूर्ण जानकारी अब मोवाइलमै !

काठमाडौँ– वैदेशिक रोजगार सम्बन्धिकाम गर्ने सम्पूर्ण निकायका सूचना अब एकै ठाउँबाट उपलब्ध हुने भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार सार्वजनिक गरेका छन् । यहाँ उपलब्ध भएका सूचना मोवाइलबाटै हेर्न सकिनेछ । यसका लागि मोवाइल एप्लिकेसन तयार भैसकेको श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ वीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज¸ सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित¸ व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो ।

यसले वैदेशिक रोजगारीको क्षेत्रमा पु¥याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक समेत यहिँ उपलब्ध हुनेछन् । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्ने मन्त्रालयको दावी छ ।

हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ । सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू हुनेछ ।

इन्फोग्राफमा हेर्नुहोस् 


इन्फोग्राफ श्रोत : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।

 

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू