भारतीय नम्बरको ट्रकले ठक्कर दिएपछि महिलाको मृत्यु

विराटनगर – विराटनगर बसपार्क दक्षिण पाञ्चाली मोडमा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । महेन्द्र चौक हुदै जोगबनीतर्फ जादै गरेको भारतीय नम्बर प्लेट एच.आर. ५५ एल.१४१९ नम्बरको मालवहाक ट्रकले को.५.प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकृत निशान थापाले घटनामा परि रंगेली नगरपालिका निवासी ३० वर्षिया आसु अग्रवालको मृत्यु भएको जानकारी दिए ।

स्थानीय रोडषेश चौकबाट महेन्द्र चौकतर्फ आइरहेको मोटरसाईकललाई विपरीत दिशाबाट जोगबनी गइरहेको ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार आसुको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।

त्यसैगरि, उनका श्रीमान मनोज अग्रवाल र ६ वर्षिया अनिषा अग्रवाललाई भने चोटपटक लागेको बताइएको छ। मनोजलाई स्थानीय विराट नर्सिङ होम र अनिषालाई सप्तकोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। त्यसैगरि घटनामा ट्रक चालक भारतको अलिगढ निवासी ३० वर्षिय कमल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्