के इसाई हुनु अपराध हो ?

मान्छेका तमाम मौलिक हकहरूमध्येमा धर्मसम्बन्धी हक पनि एक हो। उसलाई कुन धर्म कसरी मान्‍ने भन्‍ने बारेमा आफैले निर्क्योल गर्न पाउने अधिकार छ।

यही सामान्य धार्मिक अधिकारको आधारमा धार्मिक स्वतन्त्रता प्रयोग गरेका नेपाली इसाईहरूमा यतिखेर एकखाले समस्या तथा अन्यौल उत्पन्न भएको छ। इसाई हुनु मात्रै पनि एक गैरकानुनी काम गर्नुजस्तो भएको छ।

राज्यले ‘नराम्रो’को परिभाषामा इसाई समाजलाई परिभाषित गर्न खोजेको आभाष हुन थालेको छ। हिजो जातीय आधारमा अपहेलित भएका र होच्याइएकाहरू आफ्नो धर्म आफैं छानेर ‘तल्लो’ भनिने पगरी मिल्काउने अवस्थासम्म पुग्दा आज फेरि धार्मिक आधारमा अपहेलित हुनुपर्ने वातावरणको सृजना भएको छ। म आफू दलित भनिने परिवारमा जन्मिएँ, समाजका यावत् जातिय भेदभावको सिकार भएँ। जातीय आधारमा ममाथि अकल्पनीय भेदभाव हुँदा मेरो पक्षमा न राज्य उभियो, न समाज, न धर्म।

जातका हिसाबले राज्य, समाज र धर्म तीनै पक्षबाट मैले पीडामात्र पाएँ।हरेक मानिस पीडाबाट मुक्ति चाहन्छ। त्यही मुक्तिको लागि मैले इसाई धर्म
अध्ययन गरेँ । धेरै वर्षसम्म यो धर्मलाई पढेर व्यवहारिक बनें। समाजको यावत् समस्याका बिचमा चिन्दै नचिनेको अर्कै धर्मका बारेमा पढेर बुझ्नु
सजिलो कुरो पक्कै थिएन। हरेक मान्छे मानसिकरूपमा शान्ति चाहन्छ, प्रेम चाहन्छ, सन्तोष चाहन्छ। त्यसैका लागि ऊ भौँतारिएको हुन्छ।

म पनि यीनै चिजहरूका लागि भौँतारिएको थिएँ। सबैका निम्ति एउटा बिन्दु हुन्छ, जहाँ पुगेपछि उसले खोजेको प्रेम, सन्तोष तथा आनन्द प्राप्त गरेको महसुस गर्छ। इसाईमतको अध्ययन र यसलाई ग्रहण गरेपछि मैले पनि सो बिन्दुमा पुगेको महसुस गरेको हुँ। मैले अरूको बारेमा होइन, आफ्नै बारेमा निर्णय गरेको हुँ।

मैले फुटबल खेल्ने कि क्रिकेट खेल्ने, हिन्दु बन्ने कि बुद्धिष्ट, मुस्लिम वा इसाई बन्ने, त्यो सबै मेरो छनौटको विषय हो। आफ्नो बारेमा निर्णय गर्न पाउने व्यक्तिगत स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा पनि किन यहाँ ठूलै अपराध गरेसरह व्यवहार गरिन्छ ? मेरो प्रश्न मेरो समाजलाई।

धर्म मेरो व्यक्तिगत छनौटको विषय हो। जसले जतिसुकै तर्क तर्कना गरे पनि एउटा लोकतान्त्रिक देशले नागरिकलाई “तँ तेरो बारेमा निर्णय गर्न पाउँदैनस्” भन्न मिल्दैन । मैले आफ्नो धर्म रोज्दा राज्यलाई खतरा हुन्छ र? मैले आफ्नो बाटो तय गर्दा अरूहरूको आस्थामा चोट लाग्छ र ? यसरी व्याख्या गर्नु अन्याय होइन र ? किन कुनै स्पष्ट प्रमाणविना नै कहिले जबर्जस्ति त कहिले प्रलोभनमा पारेर धर्मपरिवर्तन गरेको/गराएको आरोपहरू लगाइन्छन् ? वास्तवमा भन्ने हो भने यी आरोपहरू भ्रम हुन्, आफूभित्रका समस्याहरू समाधान गर्न नसक्दाको छटपटीहरू हुन् । समस्या आफुमा छ भने आफू सच्चिने हो, दुनिंयालाई सच्याउन खोज्नुहुँदैन।

राष्ट्र निर्माणको क्षेत्रमा नेपाली इसाई समुदायले ठूलो भूमिका खेलेको छ। सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवा बोकेर ख्रीष्टियनहरू दुरदराजमा पुगे, कहिल्यै डाक्टरको मुख नदेखेकाहरूलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिए, अशिक्षाले गाँजेको समाजलाई शिक्षाको उज्यालो घाम देखाए।

ख्रीष्टियनहरूले बगाएका पसिना र उठाएका कष्टहरूलाई नजरअन्दाज गरेर राज्यले उनीहरूलाई दुई नम्बरी नागरिक देख्नु सरासर गलत हो। नेपाली समाजमा विध्यमान छुवाछुत, बहुबिबाह, बालबिबाहलाई नेपाली इसाई समाजमा ठाउँ छैन। शतप्रतिशत नभए पनि ती कुराहरूमा इसाई समुदाय धेरै हदसम्म चोखो छ।

के यो समाज विकासको निम्ति ठूलो आयाम होइन र? यति दु:ख गरेको एउटा समाजलाई एकातिर राज्यले दोश्रो दर्जाको व्यवहार गरेको छ भने अर्कोतिर कुन बेला के पो हुने हो भनी त्रासमा बाँच्नुपर्ने अवस्थाको सृजना भएको छ।

हिँड्दा हिँड्दै कसैले बाटोमै कुटिदिने पो हो कि वा प्रार्थना गर्दागर्दै चर्चमा बम पड्कने पो हो कि भन्ने त्राशमा इसाई समुदायलाई पुर्याइएको छ । सरकारले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिताले इसाई समुदायलाई ताकेरै प्रहार गरेको छ। के धार्मिक बन्‍नु अपराध हो? बरू, अधर्मी बन्नु पो अपराध हुनुपर्ने हैन र ? धर्मले मान्छेलाई नैतिकवान्, आचरणले भरिएको बनाउने हो, गरिखान सिकाउने हो तर मुलुकी अपराध संहिताले धार्मिक कामलाई अपराधजन्य बनाएर संकुचित बनाएको छ।

चर्चमा आगो लगाउँदा वा वम पड्कँदा निष्क्रिय रहने कानुन किन कुनै निश्चित धार्मिक समुदायलाई पैसा वा व्यापारको रूपमा चित्रण गर्न अघि सर्छ ? यी सबै कुराहरू गरिरहँदा मेरो आशय यो पनि होइन कि इसाई समुदायभित्र कुनै पनि समस्या छैन।

गल्ती हुने मान्छेबाटै हो र हामी पनि तीनै मान्छेमध्येकै हौँ। हामीबाट पनि भूलहरू भएका हुन सक्छन्। केही समूह छन्, जसले जबर्जस्ति घरहरूमा पुगेर वा बाटोछेउमा ढुकेर प्रचार गर्छन्, आफूबाहेक सबै खराव भनी दावी गर्छन्, विरामी हुँदा अस्पताल जानु पर्दैन भनेर भ्रम छर्छन्।

अहिलेको वास्तविक समस्या तिनीहरू नै हुन्। यहाँनिर सबैले बुझ्नुपर्ने आवश्यकता के हो भने ती समुहहरू एउटा हिन्दु वा बुद्धिष्टसँग भन्दा हामी इसाईहरू प्रति बढ्ता आक्रमक हुन्छन्।

उनीहरूको सैद्दान्तिक धरातल र प्रस्तुतीकरणको शैलीअनुसार नै उनीहरूलाई आम-इसाईहरूले ‘झुटा शिक्षा’ को सूचीमा राखेका छन्। उनीहरूले गर्ने गल्तिको दोष ती आम-इसाईहरूलाई लगाउन मिल्दैन, जो आफै पनि ती समूहहरूबाट पीडित छन्। इसाई समुदायभित्रका कमजोरीहरूप्रति हामी सदैव सचेत छौँ।

साथै, गुण र दोषको आधारमा गरिने समर्थन वा विरोधको हामी स्वागत गर्छौं।तर, इसाईहरूको अस्तित्व स्वीकार नै नगर्ने, बहिस्कारवादी शैलीको आधारहीन विरोध र दवावहरूको हामी विनम्रताका साथ खण्डन गर्छौं।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्