राहुल गान्धीको कैलाश यात्रा र ‘भोज्य’ माथिको भारतीय विवाद

विभाजनको अचुक ओखती सामूहिकता हो। मानव सभ्यताको विकास क्रमले यसलाई प्रष्ट गर्छ। मानवले विभाजनबाट भोग्नु परेका अप्ठ्याराहरुबाट मुक्ति पाउने उत्तम विकल्पका रुपमा सामूहिकतालाई अपनाए। समाजको अवधारण र अस्तित्वको प्रारम्भ विन्दु बन्यो त्यो।

अहिले हामी तिनै प्राचीन मानवले सुरु गरेको सामूहिकताको भावनाको बाटोमा हिँडिरहेका छौँ, यद्यपी एकीकरणको यो सर्वोक्तम भावमा सीमा, वर्ग, समुदाय, जाति, धर्म र राजनीतिले विभाजक बिग्रहको रुप लिएका छन्। यसका उदाहरणहरु हाम्रैमा पनि छन्। र छिमेकी देश भारतमा पनि।

राजनीति राष्ट्रिय एकताका लागि हो र विकासका लागि। सत्ता र प्रतिपक्षको खेलमा फरक मतलाई निचो वा तुच्छ देखाउने परिपाटी बढ्दो छ। यसको पछिल्लो र गतिलो उदाहरण भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको कैलाश मानसरोवर यात्रा र त्यसबाट भारतीय राजनीतिमा सिर्जित ‘खैलाबैला’ बनेको छ।

राजनीतिक विरोधी त्यसमा पनि धर्म वा आस्थाको कुरा जोडेर एकअर्काको आलोचनामा उत्रिन लागे भने मानिस मात्रै होइन ‘भगवान’ (यहाँ भगवान भनेर सबै धर्मकाले पूज्ने र मान्ने आ–आफ्ना आस्थाका प्रतिकहरुलाई भन्न खोजिएको हो) पनि अछुतो रहँदैनन्।

राहुलको कैलाश यात्राको क्रममा भारतीय राजनीतिमा धार्मिक आस्थालाई आफू भन्दा विपक्षी दल र तिनका नेतालाई कमजोर देखाउने माध्यमका रुपमा प्रयोग गर्ने संस्कृतिले प्रश्रय पाएको देखियो। साँचो अर्थमा हिन्दू नै नरहेको भन्ने आरोप भारतको सत्तामा रहेको भारतीय जनता पार्टीका नेताहरुले राहुलमाथिथप तीव्रताका साथ प्रस्तुत गरे।

गुजरात, कर्णाटकसहितका राज्यमा भएका चुनाव प्रचार अभियानको क्रममा पनि राहुलले तिर्थयात्रा नगरेका होनन्। धार्मिक आस्था देखियो। उनी शिवभक्तको रुपमा उदाय। उनी शिवभक्तको देखा परेका छन् त्यसयता। हिन्दु राष्ट्रवाद बोकेको भाजपालाई राहुल ‘शिवभक्त’ बनेकोमा किन आपत्ति?

हुन त आस्था आ–आफ्नै हुन्छन् र त्यसको व्यक्ति पक्ष निर्णायक हुन्छ। तर शास्वत सत्य के हो भने, एउटाको आस्थाले अर्कोलाई तुच्छ बनाउँदैन। भन्दैन पनि। तर चलन उल्टो बसेको छ। अर्कोलाई तल देखाएर आफू माथि पर्ने, आफू उभिएको धरातल नहेर्ने।

राहुल गान्धी कर्णाटक चुनाव प्रचारमा गएका बेला उनी चढेको विमानमा केही समस्या देखियो। संकटको बेला कैलाश उनको स्मरणमा आए र आफूलाई कैलाश मानसरोवर यात्रामा जाने सोच आएको त्यसको केही दिनमा राहुलले बताए। उनले कैलाश यात्रा सुरु नै गरे। त्यो यात्राका लागि हानिए। ‘ट्रान्जिट प्वइन्ट’ बन्यो काठमाडौँ। राहुल यात्राका लागि भदौ १५ गते ‘सुटुक्क’ काठमाडौँ आइपुगे। त्यो रात उनले यहीँ बिताए।

राहुलले कैलाश जान भनेर दिल्ली छोडेकै दिन (शुक्रबार) भारतीय राजनीतिमा ‘पाप–धर्म’ को खेल सुरु भयो। भाजपाका प्रवक्ता संवित पात्राले राहुलको धार्मिक यात्रामा राजनीतिक गन्ध देखे। पात्राले राहुलको यात्रालाई चीनसँगको साँठगाँठका रुपमा चित्रित गरे।

कांग्रेस पार्टीले आफ्ना अध्यक्षको धार्मिक यात्रामा खोट देख्नेहरुले ‘पाप’ गरेको र त्यसको ‘अभिशाप’ भोग्‍नु पर्ने बतायो। ‘धर्म नरिपेक्ष’ भारतीय राजनीति ‘पाप र धर्म’ अनि ‘आशिष र अभिशाप’ शब्दको खेलमा अल्झियो।

त्यो भन्दा ठूलो हंगामा भोलिपल्ट (राहुल काठमाडौँ आएको भोलिपल्ट शनिबार) भयो। शुक्रबारको रात काठमाडौँमा बिताएका राहुल बेलुका ‘डिनर’ का लागि नेवारी रेस्टुरेन्टमा गएको खबर आयो र उनीसहितका साथीहरुले खाएको खानाको मेन्यु पनि।

यो खबर भारतीय सञ्चारमाध्यमसम्म पुगे पछि त्यो ‘राहुल’ को डिनर मात्रै बनेन, भारतीय सञ्चारमाध्यमका लागि बिकाउ खुराक बन्यो। सञ्चार राहुलको यात्रामा शंका देख्नेहरुका लागि आलोचनाको गतिलो माध्यम बनेर उदायो।

राहुल गान्धी कैलाश मानसरोवरको धार्मिक यात्रामा निस्किएका र कुनै पनि धार्मिक यात्रामा निस्केका व्यक्तिले अशुद्ध चिज खान नहुने मान्यता रहेको तर राहुलले त्यो मान्यता तोडेको आरोप लाग्यो। राहुलले ‘ननभेज’ खाए÷नखाएकोमा पक्ष विपक्षका कुरा आएपछि यस्तो हंगामा सुरु भएको थियो।

धार्मिक यात्रामा निस्कने मनको शान्तीका लागि हो र यसले निस्कनेलाई आत्मिक आनन्द पक्कै दिन्छ। यो यात्रामा ‘शुद्ध’ वा ‘अशुद्ध’ परिभाषा विवाद रहित छैन। तर शुद्ध वा अशुद्ध को विवादले यात्राको गरिमामा भने घट्दैन।

राहुलको खानाको विषयलाई ठूलो बनाएर विवाद भइरहेको थियो। उता राहुल भने कैलाशको मनोरम यात्रामा थिए। उनले सबै विवादहरुलाई पर धकेल्दै प्रतिकात्मक ट्वीट गरे। अनि भने, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ त्यहाँ पुग्छ। यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु। ’

राहुल यतिमा मात्रै रोकिएनन्। लगत्तै मानसरोवर यात्रामा तस्बिर पोस्ट गर्दै उनले लेखे, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ। यसले सबथोक दिन्छ तर केही पनि गुमाउँदैन। जसले पनि यहाँको पानी पिउन सक्छ। यसमा घृणा छैन। यसैले हो हामीले यो पानीलाई पूजा गर्ने। ’ भारतमा चर्किएको घृणाको राननीतिप्रति कटाक्ष थियो त्यो कैलाश मानसरोवरबाट।

राहुलको ‘भेज–ननभेज’ विवाद सेलाउन नपाउँदै उनले पोस्ट गरेका तस्बिर ‘फेक’ रहेको भन्ने चर्चा उनका विरोधीहरुले गरे। ‘काउन्टर’ अझ रोचक थियो।

राहुलका समर्थक पनि कम थिएनन्, यात्रामा राहुलसँग भेट्दाको तस्बिर पोस्ट गरे उनका केही अनुययायीहरुले। राहुलले कैलाशको भिडियो र तस्बिर पनि राखे।

कैलाशले बोलाएर गएका राहुलको यात्रामा विवादहरुले रोकावट त आएन तर यो यात्राले धर्मका नाममा विभाजनको खेल र एकले अर्कोलाई तुच्छ देखाउने प्रयासको उत्कर्ष भने देखायो।

कैलाश यात्रा सकेर राहुल फर्किँदा पशुपतिनाथको दर्शन गर्ने चाहना थियो। उनको यो चाहना यसपटक पूरा भएन, किनकी उनी जसरी आए, त्यसरी नै सुटुक्क आइतबार दिल्ली पुगे। कैलाशले ‘बोलाएपछि’ गएका राहुल संभवतः पशुपतिले ‘बोलाएपछि’ मात्र आउलान् अब।

तर कैलाश यात्रापछि राजनीतिक गतिविधिमा संलग्न भएका राहुलले सामूहिकताको बलमा भने थप जोड दिए। राहुलको धार्मिक यात्रापछिको राजनीतिक सक्रियतासँगै तत्कालका लागि भेज–ननभेज, शुद्ध–अशुद्ध अनि पाप–धर्म वा आशिष–अभिशापको शाब्दिक खेल भने बन्द हुन्छ की, कम्तिमा धर्मका नाममा।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्