श्रीमतीसँग ‘जारी’

नेपालगञ्ज -रोल्पाकी २३ वर्षकी युवती। पाँच वर्षअघि विवाह भयो। गाउँमै लाग्ने मेला हेर्न जादा स्थानीय आकाश घर्तिसँग भागेर विवाह भयो।

विवाहपछि घरगृहस्थी चलेकै थियो। दुई वर्षअघि श्रीमानले अर्कै लिएर हिडे। कृष्णनगर नाकाबाट कान्छी लिएर भारततिर हिडेका उनलाई प्रहरीले समात्यो। युवती आफै गएर श्रीमानलाई प्रहरीबाट छुटाइन्। त्यसपछि दुवै जना भारत गए।

दुई वर्ष दिल्लीमा सँगै काम गरे। युवती भाईसँग गाउँ फर्किइन्। ऋणधन गरेर घर बनाउने सल्लाहमा युवती गाउँ फर्किएकी थिइन्। उनले गाउँमा साढे चार लाख रुपैया ऋण गरेर घर बनाइन्। त्यसमध्येमा एक लाख रुपैया तिरिएको थियो।

श्रीमान् भारतमा थिए। यता साहुले ऋण तिर्न दबाब दिन थाले। साहुले अति गरेपछि अलिअलि त कमाउनु पर्‍यो भनेर उनी दाङमा मजदुरी गर्न झरिन्। उनी मजदुरी गर्न झरेपछि श्रीमान गाउँ आए।

गाउँका मान्छेले ‘तेरो श्रीमती पोइल गई’ भनेर खबर गरेपछि उनी फर्किए। २० दिन दाङमा काम गरेपछि १५ हजार रुपैया लिएर युवती घर फर्किइन्। घरमा रडाको भयो। श्रीमानले ‘अर्कैसँग गइसकेको किन आइस्’ भन्‍न थाले।

गाउँमा पञ्चायत बस्यो। केटीलाई जबरजस्ती ‘अर्कैसँग गएको’ भन्‍न दबाब दिए। उनले अर्कैसँग गएको स्वीकार गरेपछि श्रीमानले पैसा पाउँथे। गाउँका अगुवा भन्नेहरुले पनि युवतीलाई दबाब दिए। कोसँग गएको थाहा नहुँदै युवतीले ‘हो, म अर्कैसँग गएको हुँ’ भन्‍ने स्वीकार गरिन्।

अर्कैसँग गएको स्वीकार गर्ने बित्तिकै श्रीमानले तीन लाख रुपैया ‘जारी’ मागे। दोस्रो श्रीमान थाहा छैन। तर पनि युवतीलाई तीन लाख रुपैया तिर्न बाध्य बनाइयो। भारतको दिल्लीमा काम गर्ने दाईले पठाइदिएर युवतीले पैसा तिरिन्। युवती भन्छिन्, ‘म काम गर्न गएको थिए।

श्रीमानको पक्षमा लागेर जबरजस्ती गाउँका अगुवाले मलाई तीन लाख रुपैया तिराए। ’ युवतीलाई तीन लाख तिराउने उनकै मामा नाता पर्ने थिए। उनले पछि थाहा पाइन्, ‘मामाले पाँच हजार रुपैया घुस खाएका रहेछन्। ’

तीन लाख रुपैया तिरेपछि युवतीको श्रीमानसँग सम्बन्ध विच्छेद भयो। कानूनी रुपमा नभएपनि गाउँपञ्चायतको अगाडि। अचम्म त के भयो भने अर्को श्रीमान देखाउन नसक्दासमेत गाउँलेले युवतीलाई तीन लाख रुपैया जारी तिराए।

केटाले तीन लाख लिएर सम्बन्ध विच्छेद गरेको केही दिनमै दोस्रो विवाह गरे। त्यो पनि युवतीकै आफन्तसँग। युवती भन्छिन्, हाम्रो गाउँमा ठूलाबडा भन्नेले अलिकति पैसा पाउने नाममा यस्तो धेरै सम्बन्ध विच्छेद गरेका छन्। ’ उनले एकजना आफन्तीकै घटना सुनाइन्।

दुई सन्तानका बाबुले एक किशोरीलाई गभर्वती बनाए। घटना बाहिर आयो। गाउँको ठूलाबडाको भेलाले केटालाई दुई लाख रुपैया तिराएर केटीलाई दिए। किशोरी अहिले बच्चा पाउने अवस्थामा छिन्। गाउँलेले दुई लाख रुपैया दिएर घटना मिलायो। अब किशोरीले पाएको बच्चाको बाबु को हुन्छ नि ? युवतीले भनिन्, खोई त। पैसा दिएर कुरा मिलाइसके।’

२३ वर्षीया युवतीका दिल्लीमा दाईहरु छन्। गाउँलेले नै श्रीमानसँग सम्बन्ध विच्छेद गरिदिएपछि उनी भारत जान गाउँकै एकजना दाई पर्नेसँग नेपालगञ्ज झरिन्। नेपालगञ्ज नाका पार गर्दै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने केआई नेपालले केरकार गर्‍यो।

दुवै जनाले घरमा खबर नगरी हिडेकाले संस्थाले युवतीलाई आफूसँग र केटालाई प्रहरीकहाँ पठाइदियो। दुवैका आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भइरहेको केआई नेपाल, नेपालगञ्जकी इन्चार्ज अपना भट्टले बताइन्।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्