प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार-गच्छदार

मोरङ- स्वतन्त्र प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार लागि परेको आरोप कांग्रेस नेता विजयकुमार गच्छदारले लगाएकाछन्।

मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सरकार जनताको अधिकार कुण्ठित गर्नेतर्फै उन्मुख भएको बताए।

नेता गच्छदारले संघीयता स्थापित गर्दै मुलुकमा राजनीतिक स्थायित्वकायम गर्न दलहरु एक हुनुपर्नेमा जोड दिए। यतिबेला दुइ तिहाइको बामपन्थी सरकार जनताका समस्या समाधान गर्नुभन्दापनि पार्टीको आन्तरिक व्यवस्थापनमा अल्झिएको बताए।

सुखी नेपाल समृद्ध नेपाली सरकारको मात्र नभएर कांग्रेसको पनि चाहना भएकाले यो चाहनालाई पूरा गर्न सबै एकभएर अघि बढ्नुपर्नेमा नेता गच्छदारले बताए।

त्यसैगरि कांग्रेस र तत्कालिन लोकतान्त्रिक फोरमबीचको सम्झौताको विषयमा नेता गच्छदारले सम्झौताअनुसार कार्यकर्ता समायोजन प्रक्रिया सुरु हुन लागेको स्पस्ट पारे ।

नेता गच्छदारले भदौ २८ गते बस्न लागेको केन्द्रीय समितिको बैठकले सम्मानजनक समायोजनका लागि प्रक्रिया सुरु हुने बताएका हुन्।

भदौ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्